Saturday, March 26, 2016

राजधानी प्रवेश वा बाहिरिदै हुनुहुन्छ भने यो बाटो कदापि नआउनु

काठमाडौं, १३ चैत । सडक मर्मत कार्य गर्नुपर्ने भएकाले सडक विभागले मकवानपुर जिल्लाको फाखेल हुँदै काठमाडौंको फर्पिङसम्मको सडकमा काम थालेको छ ।

सो सडकमा काम सुरू भएकाले सवारी आवागमन प्रभावित हुनेभन्दै महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशहापथले बैकल्पिक मार्गबाट जान अनुरोध गरेको छ ।

फाखेल-फर्पिङ सडक मर्मतका लागि एक महिना लाग्ने भएकाले सो अबधिभरि आवागमन सहज नहुने जिल्ला प्रहरी कार्यालय मकवानपुरले पनि जनाएको छ ।

यो मार्ग हुँदै हेटौँडा र पूर्वी तराईका जिल्ला जान सहज हुने भन्दै यात्रुले यो सडक धेरै प्रयाग गर्दै आएका छन् । सडक शुक्रबारदेखि नै मर्मत सुरू भइसकेको छ ।

महानगरीय प्रहरीले यो मार्ग प्रयोग गर्नुभन्दा बैकल्पिक मार्गबाट यात्रा गर्दा तत्कालका लागि सहज हुने सुझाव यात्रुलाई दिएको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

काठमाडौँमा सडक फराकिलो पार्ने भाइकाजी तिवारी ‘रिटायर्ड’ भएपछि….

५८ वर्षे उमेर हदका कारण यही चैत ८ गते सरकारी जागिरबाट अवकास पाएका छन् काठमाडौंको मुहार फेर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने उपत्यका शहरी विकास प्राधिकरणका प्रमुख आयुक्त भाइकाजी तिवारीले । तिवारीले काठमाडौंका सडक फराकिलो बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरे । धेरै धाकधम्कीको सामना गरी उनले काठमाडौं मुहार नै फेरिदिए । लमजुङको चिती गाविसमा जन्मिएका भाइकाजी तिवारी पहिलोपटक एसएलसी फेल भएका थिए । दोस्रोपटकमा एसएलसी पास गरेका तिवारीले इन्जिनियरिङमात्रै गरेनन, पीएचडीसम्म गरे । २०४४ सालमा नेपाल कागज उद्योग लिमिटेडबाट सरकारी जागिरे यात्रा सुरु गरेका तिवारी २०४५ साल मंसिर २४ गतेबाट नेपाल सरकार राजपत्रांकित तृतीय श्रेणी इन्जिनियर पदमा नियुक्त पाएका हुन् । २०६० पुसमा आइपुग्दा उनी राजपत्रांकित द्वितीय श्रेणीमा वढुवा भएका थिए । २०६२ सालमा नगर नियोजक तोकिएका उनी त्यही बेलादेखि १० वर्षसम्म एउटै कार्यालयमा रही काठमाडौं उपत्यका शहरी विकास प्राधिकरणको प्रमुख आयुक्तका रुपमा अवकास पाए । काठमाडौं उपत्यका प्राधिकरणको आयुक्त हुँदा उनले देखेको सपना के थियो ? कतिको पूरा भयो ? यो बीचमा के कस्ता धम्कीका सामना गर्नुप¥यो ? उनले मनको वह यसरी पोखेः

भुत्ते बनाइयो प्राधिकरण

मन्त्रालयमा आउँदा देखेको सपना केही हदसम्म पूरा भयो तर मेरो चाहना सबै पूरा हुन सकेनन् । प्राधिकरणलाई लंगडो पार्ने काम भयो । त्यसमा पनि विविध वहानावाजी हुँदै कामहरु रोकिए । समयमा बजेट कहिल्यै निकासा भएन । तत्कालीन काठमाडौं उपत्यका नगर विकास समितिमा रहँदा जब कामले गति लिँदै थियो त्यही समयमा समितिलाई खारेज गरियो । प्राधिकरण बनाइयो । त्यही कुर्सीमा दाँयाबायाँ नगरी काजमा खटाइयो । यहीँबाट प्रस्ट हुन्छ स्तर कसरी खस्काइयो ?

Bhaikaji-tiwari

जब प्राधिकरण बनाइयो, भएका सरसामान फिर्ता गर्नु अनि नयाँ सामाग्री आउँछ भन्ने आश्वासन देखाइयो । न त सामाग्री आयो न भनेको समयमा बजेट । प्रधानमन्त्री, मुख्य सचिव, विभागीय मन्त्रीलाई समेत भेट्दा बजेट रोकिँदैन, काम गर्नुहोस् भन्ने ‘ओठे’ आश्वासन त देखाए तर कहीँ कतैबाट समयमा बजेट आउन सकेन । विस्तारको क्रममा रहेको जोरपाटी–शाँखु सडकखण्डका जग्गाधनीले क्षतिपूर्ति पाएको खण्डमा ‘हाम्रो जग्गा खुशीसाथ दिन्छौं, सरकार आउ’ भनेर बोलाएका छन् । तर सरकार कानमा तेल हालेर बसेको छ । यो सडक विस्तारका लागि मुआब्जाका लागि मात्र कम्तिमा १४ करोड रुपैयाँ लाग्दछ । त्यस्तै त्रिपुरेश्वर–नागढुंगा सडकको हालत पनि उस्तै छ ।

२०५८ सालदेखि निरन्तर

२०५८ सालदेखि काठमाडौं उपत्यका नगर विकास समितिमा डल्लु आवास नगर विकास समितिको योजना प्रमुख, कीर्तिपुर जग्गा एकीकरण आयोजना (जो सबैभन्दा छोटो समयमा सकिएको आयोजनामध्ये पर्दछ), सिनामंगल जग्गा एकीकरण आयोजनामा रही काम सम्पन्न गरिसकेको अनुभव थियो । वागमतीनगर जग्गा एकीकरण आयोजना, दिव्यश्वरी नगर विकास आयोजना, धोवीखोला करिडोर १३ किमी काम सम्पन्न भइसकेको छ । राजाको प्रत्यक्ष शासनकालमा नगर नियोजक तोकिएर यता आएको थिएँ । सरकारले दिएको जिम्मेवारीबाट भाग्न मिल्दैनथ्यो । आफूसँग भएको सीमित स्रोत र साधनको अधिकतम् प्रयोग गरी काम गर्दै गए ।

२ सय ६२ किमी सडक विस्तार

म काठमाडौं उपत्यका शहरी विकास प्राधिकरणको प्रमुख रहँदा काठमाडौंभित्रको २ सय २५ किमी सडक चौडा भइसकेको छ । म रिटायर्ड भएर जाने समयसम्म पनि काम चलिरह्यो । ललितपुरमा ३० किमी र भक्तपुरमा ७ किमी गरी काठमाडौं उपत्यकाभित्र २ सय ६२ किमी सडक विस्तार भइसकेको छ । अरु विस्तारका लागि २ सय किमी सडक पहिचान भएका छन् । चाबहिलदेखि जोरपाटी हुँदै सुन्दरीजल, ललितपुरमा कर्मनशादेखि गोदावरीसम्म, सातदोवाटोदेखि लेले, टियु गेटबाट दक्षिणकालीसम्म पहिचान भएको छ । सायद अव आउने प्रमुखले यसलाई निरन्तरता दिनुहोला भन्ने अपेक्षा राख्दछु । कमलपोखरीमा कमिला हिँड्थ्यो । अहिले कमलपोखरी पुग्दा सबैको मन रमाउँछ । नारायणचौरलाई पार्कका रुपमा विकसित गरेको, टोखामा सपना तीर्थ मन्दिर, चण्डेश्वर मन्दिर, नाट्यश्वर मन्दिरलगायतका हजारौं मन्दिर सुधार यी सबैको पछाडि मेरै हात छ ।

भनिन्छ, मूल राम्रो भयो भने खोला पनि सग्लो हुन्छ । राजधानीमा गरेका कामको प्रतिविम्व पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पुगेको छ । यसैगरी केन्द्रमा राम्रो कामको सुरुवात भएको खण्डमा अरु क्षेत्रमा पनि विकास गर्दै जान सकिँदोरहेछ ।

नयाँ हाकिमलाई चुनौती

भाईकाजी तिवारीलाई सरकारले २०७० सालमा सर्वाेत्कृष्ठ कर्मचारीका रुपमा पुरस्कृत पनि ग¥यो । ‘साथीभाई रिसाउलान् मैले यसो भन्दा यो कुर्सीमा भाइकाजी मात्र बसेन । म १८ औं हाकिम हुँला ।’ यही नियम, कानुनले काम गर्न सकिँदो रहेछ । वस् खाँचो रहेछ इच्छाशक्ति । म जागिरे मात्र बन्न रुचाइनँ । नतिजामुलक काम गरी देखाउँछु भन्ने अठोट लिएर यो क्षेत्रमा प्रवेश गरेको थिएँ । प्राधिकरणलाई स्रोत/साधनविहीन बनाएर अपांग बनाउँदा समेत यो देश विकास र जनताको हितमा के गर्न सक्दछु भन्ने सोच सदैव रही रह्यो । जिम्मेवारीबाट पन्छिँन । आजै गर्ने सकिने कामलाई भोलि÷भोलि भन्दै पन्छाईनँ । नहुने कामलाई हुँदैन भन्दै उल्टै नमस्कार गरेरै विदा गरियो ।

बेहिसाव धम्की

यो बीचमा आएको दवाव धम्की बेहिसाव रह्यो । अवकास पाउनु अघिल्लो दिनसम्म पनि आफ्नै कार्यकक्षमा ज्यादती भए । तँलाई कुनै पनि समय सिद्धाउँछुसम्म भने । घर घेर्ने कति आए कति ? चोक–चोकमा काला अक्षरले लेखियो । अपराधी करार गर्ने प्रयास गरियो । तर हिम्मत हारिँन । मेरो व्यक्तिगत हितका लागि बाटो विस्तारको काम गरेका काम थिईंन । तर, पछिल्लो समयमा आएर जसले हिजो विरोध गरेका थिए उनीहरुलाई आत्मग्लानी भएको छ । अपवादको रुपमा चामल पिस्दा घुन पिसिएको हुन सक्दछ ।

नेताको थग्नै गार्‍हो पर्ने दबाब

नेताहरुबाट पनि दवाव आए । अरु त परको कुरा आफ्नै विभागीय मन्त्रीले फोन गरेर त्यो काम रोकिदिनुहोस् भन्ने आग्रह गर्दथे । म कडा स्वभावको भएकाले कडै जवाफ फर्काउँथें । ‘मेरो हातबाट बन्दुक पड्किसक्यो, अव गोली फर्कंदैन मन्त्रीज्यू’ भनेर फोन राखिदिन्थें । सचिवले तँ ठूलो कि म ठूलो भन्दै धम्काए÷तर्साए । विकास आयुक्तले पनि तर्साए । संसद्को पूर्वाधार समितिमा समेत उभ्याइयो । तर म आफ्नो कदमबाट पछाडि हटिन । ऐन कानुन पल्टाएँ, मौजुदा नियम कानुन यो छ भन्दै देखाएँ । कानुन ठीक छैन भने त्यसलाई संशोधन गर्नुहोस्, होइन भने कानुन अनुसार काम गरेको हुँ, काम गर्न दिनुहोस् भनें । माननीयहरुलाई सहयोग गर्नुहोस् भन्ने कडा जवाफ दिएँ । कसैले जवाफ फर्काउन सकेनन् ।
एउटै केसमा काग्रेस, एमाले, माओवादीका शीर्षस्थ नेताहरुको फोन समेत रिसिभ गरेको छु । सकेसम्म धम्क्याउने, नसके तर्साउने, त्यहाँबाट पनि पार नलागे अदालतमा पुगी मुद्धा मामिला गर्ने, त्यहाँबाट पनि हारेसँगै यहाँ, फलानोले भष्ट्राचार ग¥यो भन्दै अख्तियारमा उजुरी हाल्ने जस्ता काम पनि भए ।

कति धान्छ काठमाडौंले ?

मुलुकी ऐनको दफामा लेखिएको छ– आफ्नो जग्गा छ भने जहाँ पनि घर बनाउन सकिन्छ । हो, यही ऐनमा टेकेर पछिल्लो चरणमा विदेशमा गएर आठ÷दश लाख कमाएर ल्याइ, काठमाडौंको जग्गामा हालिहाल्ने र घर बनाइहाल्ने प्रवृत्ति मौलाउँदै गएको छ । म एकान्तमा अझै ठण्डा दिमागले सोच्छु हरित शहर र स्मार्ट सिटी कसरी बनाउन सकिएला ?
सडक विस्तार गरेर मात्र राजधानी व्यवस्थित हुँदैन । स्याटलाइट सिटीहरुको निर्माण गर्ने र नयाँ काठमाडौं निर्माण गर्ने सकेको खण्डमा सडकको भीडभाड कम गर्ने सकिन्छ भन्ने योजनालाई राष्ट्रिय योजना आयोगबाट स्वीकृत त गराएँ । तर पुनर्निर्माण प्राधिकरणमा पुगेर त्यो अल्झिरहेको छ । अव यो कस्ले खोज्छ ?

वावुराम र सडक

सडक विस्तारसँगै जोडिएर आउने नाम हो– पूर्व प्रधानमन्त्री डा. वावुराम भट्टराई । उनी अर्थमन्त्री भएसँगै सरकारी कर्मचारीहरुलाई बोलाएर सोधे– ‘नयाँ नेपाल बनाउन तपाईंहरु के गर्न सक्नुहुन्छ ?’ यही प्रश्नले मेरो दिमाग रन्थनियो । साघुँरा मोड फराकिलो पार्ने पचासौँ करोड लाग्ने देखेसँगै मैले सुजाएको योजना हो सडक विस्तार गर्ने । जसको सुरुवात भैरवनाथ गणदेखि डिल्लीबजारसम्मको सडकबाट ग¥यौं । दुई वटा सरकार परिवर्तन भए तर पनि योजना लागु भयो । काठमाडौं, ललितपुर र भक्तपुरमा गरी २ सय ६७ किमी सडक विस्तार भएको छ । सर्वसाधारणहरु बाटोमा हिँड्दा घण्टौ जाममा पर्नुपर्ने समस्यामा केही हदसम्म कमी आएको छ । यो सबैको पछाडि हात कसैको छ भने मेरै छ ।

अवकासपछिको योजना

५८ वर्षीय उमेर हदका कारण सरकारी जागिरबाट अवकास पाएको छु । अब तत्काल केही दिन आराम गर्ने सोच बनाएको छु । त्यसपछि सरकारले केही जिम्मेवारी दिए त्यो बहन गर्ने सोचसमेत बनाएको छु । सरकारले कुनै काम नदिए निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने तयारी गर्ने छु ।

बिदाईको त्यो क्षण

सरकारी जागिर खाएपछि अवकाश त लिनै पर्छ । तर, डा. तिवारीको बिदाईमा भने आफ्ना मातहतका कर्मचारीमात्र हैन्, सडक विस्तारमा संलग्न काठमाडौँ महानगरपालिका, विद्युत प्राधिकरणका कर्मचारी पनि भाबुक थिए । काठमाडौँको नयाँ बानेश्वर र लाजिम्पाटमा छुट्टाछुट्टै कार्यक्रम गरेर उनको बिदाई गरियो । बिदाईमा खादा र मालाले भाइकाजीका शिर भरिएको थियो भने बिदाईमा आएकाहरु भाबुक देखिन्थे । सडक विस्तारको जिउँदो बाघको बिदाई भइरहँदा सडक मिचेर घर बनाइरहेका र गलत कार्यलाई बचाउन संगठित भइरहेकाहरुलाई भने सास्ती मिलेको छ । तर, जनमानसमा भने एउटा प्रश्न छ– अब भाइकाजीका अनुभावलाई सरकारले सही ठाउँमा उपयोग गर्ने मौका दिन्छ कि दिन्न ?

– प्रस्तुति: हरि गजुरेल


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

प्रचण्ड मधेस पसेपछि मधेशी मोर्चामा खैलाबैला, आयो कडा विज्ञप्ति

काठमाडौं, १३ चैत । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तराई प्रवेश गरेपछि आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा खैलाबैला मच्चिएको छ ।

आफूले प्रवेश गर्न नदिने घोषणा गरेपनि प्रचण्ड पावर लगाएर मधेस पसेपछि मोर्चाले आपत्ति जनाउँदै विहानै कडा विज्ञप्ति निकालेको छ ।

मोर्चाका नेताहरु वृषेश चन्द्र लाल, मंगलसिद्धि मानन्धर, मनिष कुमार सुमन, राम नरेश राय, केशव झा, कौशलेन्द्र मिश्र र परमेश कुमार साहले हस्ताक्षर गरेको संयुक्त विज्ञप्तिमा ‘संविधानमा हस्ताक्षरकत्र्ता पूर्व सभासदहरुलाई जिल्लामा विरोध गर्ने मोर्चाको घोषित कार्यक्रम अनुसार शुक्रबार एमाओवादीका अध्यक्ष प्रचण्डको वीरगंजमा मोर्चाका नेता कार्यकत्र्ताद्वारा विरोध गरिएको र उक्त विरोध प्रदर्शनमा प्रहरीबाट भएको दमनको घोर भर्त्सना गर्दछौं’ भनिएको छ ।

विज्ञप्तिमा मोर्चाले विरोध प्रदर्शनमा प्रहरी प्रशासनद्वारा गरिएको हस्तक्षेप र महोत्तरी लगायतका जिल्लाहरुमा झुठा आरोपमा आन्दोलनकारीहरु पक्राउ गरी मुद्दा चलाउने कार्य तत्काल फिर्ता लिन माग गरेको छ भने पक्राउ परेकालाई रिहा गर्न माग गरेको छ ।

‘प्रचण्डको वीरगंजमा मोर्चाका नेता कार्यकत्र्ताद्वारा गरिएको विरोध प्रदर्शनमा प्रहरी प्रशासनद्वारा गरिएको हस्तक्षेप र महोत्तरी लगायतका जिल्लाहरुमा झुठा आरोपमा आन्दोलनकारीहरु पक्राउ गरी मुद्दा चलाउने सरकारी दमन नीतिलाई निरन्तरता दिइदै विरगंजमा भएको धडपकडको मोर्चा घोर भत्सर्ना गर्दछ र पक्राउ परेका आन्दोलनकारी साथीहरुलाई तत्काल बिना शर्त रिहाई गर्न मोर्चा जोडदार माँग गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ ।

sachiwalay bigyapati


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

प्रमुख दल मिल्नुको विकल्प छैनः अध्यक्ष प्रचण्ड

दमौली, १३ चैत । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले मुलुकमा देखिएको विद्यमान समस्या समाधान गर्न प्रमुख दल मिल्नुको विकल्प नरहेको बताउनुभएको छ ।

यहाँस्थित सरकारी कार्यालयका प्रमुखसँग आज भएको भेटमा पूर्वप्रधानमन्त्री दाहालले भूकम्पपछिको पुनःनिर्माण र संविधान कार्यान्वयनको चुनौतीले गर्दा राष्ट्रिय एकताको आवश्यकता छ, भन्नुभयो ।

प्रमुख शक्तिहरु एक भई मुलुकको विद्यमान समस्या समाधानतर्फ लाग्नुपर्नेमा उहाँको जोड थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत र चीन भ्रमणका क्रममा भएका सम्झौताले देशको आर्थिक विकासमा नयाँ आयाम थपेको उहाँको भनाइ थियो ।

निमित्त प्रजिअ किशोरकुमार चौधरीले जिल्लाका शान्ति, सुरक्षा र स्थानीय विकास अधिकारी उदयबहादुर रानाले विकास निर्माणका गतिविधिको बारेमा जानकारी गराउनुभएको थियो ।

आजै क्रान्तिकारी पत्रकार सङ्घद्वारा आयोजित पत्रकार भेटघाटमा अध्यक्ष दाहालले वर्तमान सरकार कुनै हालतमा पनि नढल्ने र नेपाली काँग्रेसलाई पनि सरकारमा मिलाएर लैजानुपर्ने बताउनुभएको थियो । रासस


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

काँग्रेस सरकारमा सहभागी भए संविधान कार्यान्वयन सहज: गृहमन्त्री बस्नेत

तुलसीपुर(दाङ), १३ चैत । गृहमन्त्री शक्तिबहादुर बस्नेतले संविधान कार्यान्वयनका लागि नेपाली काँग्रेससहितको राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताउनुभएको छ ।

घोराहीमा आज इन्द्रेणी न्यूज पोर्टलको सुभारम्भ गर्दै उहाँले वर्तमान सरकारमा काँग्रेस सहभागी भए संविधान कार्यान्वयनमा सहजता आउने बताउनुभयो ।

उहाँले काँग्रेसले संविधान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको र संविधान कार्यान्वयनमा पनि उसले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ, भन्नुभयो । रासस


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

एकाएका सडकमा लाखौं पैसा खसेपछि…

एजेन्सी । हाम्रो देशमा सार्वजनिक ठाउँमा पैसा भेट्टाएपछि सुटुक्क उठाएर लैजाने चलन छ ।

तर यहाँको एउटा सहरको ब्यस्त सडकमा लाखौं रुपैयाँ खस्दा पनि कसैले हातै लगाएनन् । हाम्रो यहाँ भएको भए शायद टिप्नेको तछाड, मछाड नै हुन्थ्यो ।

यो घटना हो दक्षिण कोरियाको । जहाँ सडकमा पैसा बर्सिदा पनि कसैले वास्ता गरेन् । समाचार अनुसार कोरियाकी एक ५६ बर्षिया महिलाले १९,०३० डलर राजधानी सोलमा फालेकी छिन् । उनले उक्त रकम फाल्दा पनि कुनै पनि ब्यक्तीले पैसा उठाएनन् । पैदलयात्रुहरुले उक्त छरिएर रहेका पैसाको फोटो खिचे तर कसैले पनि उठाएनन ।

स्थायनी प्रहरीका अनुसार कोरियामा बेवारिसे अवस्थामा रहेको पैसा उठाउनु पनि चोरी मानिन्छ । तर, जानजान फालिएको पैसा उठाउँदा भने कुनै कानुन लाग्दैन् । तैपनि पैसालाई कसैले हात लाएनन् ।

अन्तिममा त्यो पैसा प्रहरीले बटुल्यो । र फाल्ने महिलाको जिम्मा लगायो । ती महिलाले बैंकबाट ३६ हजार डलर झिकेर सडकमा उडाएकी थिइन् । सबै पैसा जम्मा गरेर प्रहरीले ट्याक्सीमा चढाएर उनलाई घर पठाएको थियो ।

‘म, मेरा श्रीमान र छोराले उक्त पैसा लिईदिन्छन् भनेर डराएकी हुँ । उनीहरुले लिनु भन्दा सडकमा रहेका कुनै आवश्यक ब्यक्तीले उक्त रकम पाउँन भन्ने चाहना हो ।’ प्रहरीलाई ती महिलाले भनेकी छिन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

Friday, March 25, 2016

अमेरिकनदेखि ब्रिटिस लाइब्रेरीका किताब चोरें

खगेन्द्र संग्रौला, लेखक

पुस्तक कि आफ्नो बेहोसीले गर्दा हराउँछ कि कसैले चोरेर हराउँछ । तपाईंको स्तम्भको शीर्षक पुस्तक हराएको होइन, पुस्तक चोरिएको सूचना हुनु बेस हो । किनभने, पुस्तक हराएको सूचनाले हराउनेका चित्तमा कताकता आश जगाउँछ, सँगसँगै त्रास पैदा गर्छ । आश, हराएको पुस्तकको चोर प्रहरीले वा अख्तियारले पत्तालगाइदेला कि भन्ने हो । र, त्रासचाहिँ पुस्तक चोर्ने आफू प्रहरी वा अख्तियारका हातबाट पक्राउ परिएला कि भन्ने हो ।

पुस्तक चोरिएको वा चोरेको विषयमा मसँग उति धेरै संस्मरण छैनन् । थिए हुनन्, ती बिर्सिइए । सम्झेका केही भन्छु । पहिले नोटबुक चोरीको कथा भनिहालौँ । दश क्लासको विद्यार्थी छँदाको कुरा हो । सेन्टअप टेस्ट पास गरेपछि रहलपहल विषय पढाउन विद्यालयमा पूरक कक्षा चलेका थिए । पढाइमा म राम्रो मानिन्थें । एक दिन हाफ छुट्टीको बेला मेरो नोटबुक हरायो । बाक्लो गाता भएको ढ्याके नोट बुक थियो । त्यसमा अंग्रेजी र नेपालीका गद्यपद्यका सारांश, व्याख्या, निबन्ध आदि सारा कुराका नोट थिए । वास्तवमा त्यो नोट बुक दश वर्षको पढाइबाट कमाएको मेरो सिरिखुरी सम्पत्ति थियो, त्यो हरायो । त्यो मेरा आँखा अगाडिको उज्यालोको रेखी थियो । त्यसले मलाई डोर्याएर कतै पुर्याउँछ भन्नेमा म ढुक्क थिएँ । त्यो हरायो र मेरा आँखा अगाडिको प्रकाश गायब भयो । त्यो हरायो र मेरो संसार अँध्यारो भयो ।

एसएलसी मुखमुख आइरहेको थियो । आइरन गेट भनेर विद्यार्थीलाई अत्त्याइने एसएलसीमय दानवको औतारमा मेरो चिन्तित चित्तमा ताण्डवनृत्य गर्न थाल्यो । म होस गुम भएजस्तो भएँ । सरले कसमाथि शंका छ भनेर सोधे । आफूले देखेको छैन, देख्ने कोही छैन । कसमाथि शंका छ भनुँ ? सरले सबै विद्यार्थीका झोला खोतलखातल गरे । चोरले किन झोलामा राख्थ्यो, लुकायो होला कतै झाडीमा । म रुन थालें । झन्डै हप्ता दिनसम्म सुद्धिबुद्धि हराएझैँ शून्यमा हेरेर म टोलाइरहेँ । यो भयो चोरी नम्बर एक ।

चोरी नम्बर दुई । त्रिचन्द्र कलेजमा बीए पढ्दै थिएँ । आईएमा सबैभन्दा बढी अंक ल्याएबापत महेन्द्ररत्न छात्रवृत्ति पाएको थिएँ । मासिक रकम थियो एक सय ९५ रुपैयाँ । त्यत्तिले महिनाभरिका यावत् खर्च धान्न गाह्रोगाह्रै हुन्थ्यो । पुस्तक पढ्न रहर लाग्ने, किन्न पैसा नहुने । अमेरिकन लाइब्रेरी र बि्रटिस काउन्सिल पुस्तकका लागि मेरा शरणस्थल थिए । मेम्बरसिपको दस्तुर बुझायो, रोज्जा पुस्तक ल्यायो, स्वादले पढ्यो । निर्वाह राम्रै चलेको थियो । एक दिन अमेरिकन लाइब्रेरीबाट रबिन्सन क्रुसो भन्ने पुस्तक ल्याएँ । मेरो डेराको छिमेकमा एकजना मित्र बस्थे । घर पश्चिमतिर कतै थियो, त्रिचन्द्रमा अर्थशास्त्र पढ्थे । साहित्यमा रुचि राख्थे । उनको त्यो रुचि उनको र मेरो मित्रताको दरिलो सूत्र थियो । डेरामारबिन्सन क्रुसो पढ्दै थिएँ, मित्र आए । पुस्तकको कथा बडो रोचक र रोमाञ्चक थियो, मैले उनलाई सुनाएँ । म तल छिँडीमा चर्पीमा तिरो बुझाउन झरेँ, पुस्तक बोकेर उनी टाप कसेछन् । एक मन त पढ्न लगेका हुन्, फर्काउलान् भन्ने लाग्यो । फेरि कसोकसो डर लाग्यो । पुस्तक आफ्नो होइन, हरायो भने बर्बाद हुन्छ ।

khagendra-sangraulaमित्रको डेरामा गएर सोधेँ । पुस्तक मैले ल्याएको छैन भने । म खङ्ग्रङ्गै भएँ । हैट्, यो त हाक्काहाक्की चोरी भयो । तर के लाग्छ, आफूले देखेको छैन, देख्ने कोही छैन । चोर नाथे चोरेको हुँ भन्दैन । मेरो सातो गयो । अब अमेरिकन लाइब्रेरीमा मुख देखाउन नमिल्ने भो । डेराको थातथलो र घर नम्बर बुझाएको छु । पक्राउ गर्न डेरामै आउन बेर छैन । मेरा नौ नाडी गले । आफ्नो चोरिएको भए केही थिएन, माल पर्यो अर्काको । परेन कि बित्यास Û त्यसपछि अमेरिकन लाइब्रेरी जान मलाई आँट आएन । धेरैपछि जाँदा लाइब्रेरीका कर्मचारीले चिन्लान् कि, झ्याप्पै पक्राउ परिएला कि भन्ने त्रासले मलाई गाँजिरह्यो । यो भयो चोरी नम्बर दुई ।

चोरी नम्बर तीनमा प्रकृतिको हात छ । लमजुङ, खुदीमा हाईस्कुलको हेडमास्टर थिएँ । मेरै नामका खगेन्द्रजंग गुरुङ स्कुलका अध्यक्ष थिए । ती विचित्रका मानिस थिए । ती पहिले राजाका राज्यमन्त्री भएका थिए । र, त्यो बेला राजसभाका सदस्य थिए । यो भयो उनका व्यक्तित्वको एउटा पाटो । व्यक्तित्वको अर्को पाटोमा उनी जण्डमति लाल क्रान्तिकारी थिए । कांग्रेस र पञ्चलाई फुटेका आँखाले देखिनसहने । तीसँग रिस उठ्यो कि मुखभन्दा पहिले उनको हात चल्ने । मित्र खगेन्द्रजंग बडो पुस्तकप्रेमी थिए । उनको विशाल पुस्तकालय थियो । पुस्तकालयमा हिन्दीमा माक्र्सवादी र कम्निस्ट पुस्तक थुप्रा थिए । उनकहाँ घरीघरी जाँदा म सधैँ एउटा पुस्तक लिन्थें । एक दिन राहुल सांस्कृत्यायनको ‘दर्शन-दिग्दर्शन’ बोकें । साउन महिना, बाटामा पर्ने खोलामा बाढी आएको थियो । बाढीमा म ढलपल हुँदा पुस्तक खोलाले बगायो । उता मित्र खगेन्द्रको स्वभाव छ त्यस्तो, यता खोलामा पुस्तक अलप भयो । परेन कि बित्यास ! पुस्तक चोर्ने प्रकृति, आपत पर्यो मलाई । अब मैले कुन मुखले भन्ने ? बातभन्दा पहिले ममाथि मित्रका हात चले भने… ।

एकाध हप्तापछि मित्र खगेन्द्रजंग शान्त मनोदशामा भएको मौका छोपेर प्रकृतिले गरेको चोरीबारे मैले सविनय बेलिबिस्तार लगाएँ । फिस्स हाँसेर मलाई माफी दिँदै करुणामयी मित्रले भने, ‘बग्यो त बग्यो, किन गाह्रो मान्नुपर्यो ? काठमाडौं जाँदा किनम्ला । धन्य मित्रवर, म बचें ।

अब म आफूतिर फर्किन्छु । नढाँटी भनुँ भने म पनि पुस्तक चोर हुँ । तर मेरो चोरी रहरको होइन, बाध्यताको नतिजा हो । अघि नै भनें, मलाई पढ्न खुब मन लाग्ने, पुस्तक किन्न पैसा कहिल्यै नहुने । अमेरिकन र बि्रटिस लाइब्रेरीमा सुरक्षा कडा थियो । भित्र पस्दा झोला खोतलखातल, बाहिर निस्कँदा झोला खोतलखातल । तैपनि साथीभाइ मिलेर, व्यूह रचना गरेर, लाइब्रेरीमा भीडम भीड भएको मौका पारेर एकाध पुस्तक चोरेरै छाडियो । मेरो चोरीको प्राथमिकतामा तोल्सतोय, डिकेन्स, हेमिङ वे आदिका पुस्तक पर्थे ।

केन्द्रीय पुस्तकालय कीर्तिपुरमा पुस्तक चोर्न कताकता सजिलो । विश्वविद्यालमा मेरा जति पढन्ते साथी थिए, ती सबैजसो चोर थिए । तिनको मार्गदर्शन र हौसला पाएर मैले निकैवटा पुस्तक चोरें । त्यो चोरी मलाई कुनै कसुरजस्तो लाग्दैनथ्यो । देश मेरो, पुस्तकालय मेरो देशको, म स्वदेशी चोर । घिउ कहाँ पोखियो, दालैमा भनेजस्तो लाग्थ्यो । तर अहिले विचार गर्दा व्यक्तिका पुस्तक चोर्नुभन्दा लाइब्रेरीका पुस्तक चोर्नु ठूलो कसुर हो भन्ने लाग्छ । व्यक्तिका पुस्तक उसका कोठामै कैद भएर थोत्रिने हुन् । तर लाइब्रेरीका पुस्तक प्रयोगका दृष्टिले सार्वजनिक सम्पत्ति हुन् । ती पुस्तक आलोपालो गरी सयौँले पढ्छन् । त्यसैले ती पुस्तक चोर्नु भनेको सयौंलाई घाटा पार्नु हो । पैसाका दुःखले चोरियो र घाटा पारियो । जिन्दगी यस्तै हो मान्यवर, मजबुरीका नाम महात्मा गान्धी ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं