Saturday, March 5, 2016

गगन अघि भोट हाल्दै सिटौलाले भने- “कांग्रेसले जित्छ”

२३ फागुन, काठमाडौं । नेपाली कांग्रेसको १३ औं महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि मतदान चलिरहेको छ । मतदान गर्दै सभापति, पदाधिकारी र केन्द्रीय सदस्यका उम्मेदवारहरुले आफ्नो जित निश्चित रहेको बताएका छन् ।

भुकृटीमण्डपमा जारी मतदानमा सहभागी भएको मतदानमा पहिलो मतदान गरेका सभापतिका उम्मेदवार शेरबहादुर देउवाले आफ्नो जित सुनिश्चित भएको बताए ।
उनीपछि मतदान गरेका अर्का सभापतिका दावेदार कृष्ण सिटौलाले भने जसले जितेपनि कांग्रेसले जित्ने प्रतिक्रिया दिए । उनीसँगै भोट हालेका महामन्त्रीका उम्मेदवार गगन थापाले मुसु मुसु हाँसिरहेका देखिन्थे ।

यस अघि उनले ससुरा अर्जुननरसिंह केसीलाई जिताउन उम्मेदवारी दिएको भन्ने चर्चा चलेपछि हल्लाको खण्डन गर्दै आफूले जीवनको सबैभन्दा ठूलो जोखिम उठाएको बताएका थिए ।

भोट हाल्दै देउवाले भने- मेरो जित सुनिश्चित आफू कसैलाई जिताउन र हराउनका लागि उम्मेदवार बन्ने मुर्ख राजनीतिज्ञ नभएको पनि उनको भनाइ थियो ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

पौडेल र देउवाका ट्विटरमा फलोअर बराबर !

फाल्गुन २२, २०७२- कांग्रेस महाधिवेशनको सर्वाधिक महत्त्वपूर्ण दिन नेतृत्व चयनको लागि आइतबार मतदान हुँदैछ ।

१३ औं महाधिवेशनमा नेतृत्व दौडमा दोस्रो पुस्ताका नेता कार्यवाहक सभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा र तेस्रो पुस्ताका नेता महामन्त्री कृष्णप्रसाद सिटौला छन् ।
तीमध्ये पौडेल र देउवा कांग्रेसको राजनीतिक इतिहासमा बराबर हैसियतमा मानिन्छन् । उनीहरु पहिलोपटक महाधिवेशनमा आमनेसामने हुँदैछन् ।

नेतृत्वको रस्साकस्सीमा रहेको पौडेल र देउवाको तीब्र प्रतिस्पर्धा मतपत्रमामात्र होइन, सामाजिक सञ्जालमा पनि छ । संयोग नै मान्नुपर्छ, भृकुटीमण्डपमा बन्दसत्र सकिनेवित्तिकै शनिबार साँझ ८ बजे दुवै नेताको ट्विटर फलोअर समान १७९० पुगेको छ ।

पौडेलले २०१४ अगष्ट ५ देखि ट्विटर चलाउन थालेका हुन् भने देउवा महाधिवेशनको मुखमा गत मार्च २३ देखिमात्रै ट्विटरमा देखिएका छन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

१ महिनामा ४ अर्ब ६२ करोड राजस्व

फाल्गुन २३, २०७२- नाका खुलेको एक महिनामा वीरगन्ज भन्सार कार्यालयले ४ अर्ब बढी राजस्व संकलन गरेको छ ।

भन्सार प्रमुख सेवन्तक पोखरेलका अनुसार माघ २२ देखि नाका सुचारु भएपछि फागुन २१ सम्मको १ महिना अवधिमा यो भन्सारले ४ अर्ब ६२ करोड ८ लाख रुपैयाँ राजस्व संकलन गरेको हो । यसमा भन्सार शुल्क २ अर्ब १ करोड ३३ लाख, मूल्य अभिवृद्धि कर १ अर्ब ९३ करोड ५० लाख र अन्त:शुल्क ६ करोड ७२ लाख रुपैयाँ छ ।

शुक्रबारसम्म यो भन्सारले ३ अर्ब ९९ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । जुन मासिक राजस्व असुली लक्ष्यको करिब ४३ प्रतिशत मात्र हो । फागुनमा ९ अर्ब ३४ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य यो भन्सारको छ ।

मासिक लक्ष्य भेट्याउन अब यस महिनामा बाँकी रहेको ९ दिनमा ५ अर्ब ४५ करोड रुपैयाँ राजस्व संकलन गर्नुपर्ने दबाब यो भन्सार कार्यालयलाई छ । १ महिनायता संकलित राजस्वमा सर्वाधिक योगदान इन्धन, सवारी साधन र औद्योगिक कच्चा पदार्थको रहेको भन्सार प्रमुख पोखरेल बताउँछन् ।

नाकाबन्दीअघिको अनुपातमा यी तीनवटै वस्तु आयात नभएकाले साविककै झैं परिमाणमा यो भन्सारले राजस्व संकलन गर्न सकेको छैन ।

‘इन्धन पहिलेकै अनुपातमा आयात हुन सकेको छैन,’ भन्सार प्रमुख पोखरेल भन्छन्, ‘यो भन्सारको राजस्वमा सर्वाधिक योगदान दिने सवारी साधनको आयात पनि यो नाकाबाट उल्लेख्य मात्रामा हुन सकेको छैन, त्यसैकारण नाका खुले पनि अनुमान गरेजस्तो राजस्व संकलन हुन नसकेको हो ।’

यो नाकाबाट अर्को नाकातर्फ डाइभर्ट भएका सवारी साधन तथा अन्य वस्तु पुन: यही नाकाबाट नभित्रिएसम्म भन्सारको राजस्व असुलीले पुरानै लय समात्न गाह्रो हुने उनको भनाइ छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

हिन्दी फिल्म निर्देशनमा नेम्वाङ

फाल्गुन २३, २०७२- किराँत मिथकमा बनेको नेपाली फिल्म ‘खाप्पुना मुरङना’ बाट स्याबासी पाएका थिए निर्देशक दुर्गा नेम्वाङले । दर्जनौं फिल्मको सहनिर्देशन, मुख्य सहायक निर्देशनको अनुभव बटुलेका उनले हिन्दी फिल्ममा आफ्नो शिल्प देखाउने अवसर पाएका छन् ।

यसअघि चर्चित फिल्म ‘नुमाफुङ’ बाट मुख्य सहायक निर्देशन थालेका उनले ‘आमाको काख’, ‘लभ इन चाइना बोर्डर’, ‘एउटै भूल’, ‘क्याबिन गर्ल’, ‘जय माँ सतासी’, ‘रातो बर्की’, ‘छालुम्मा’ का निर्देशन गरे । नेम्बाङले सहकार्यमा ‘लिम्बुवान्’, ‘अरुणपूर्व’, ‘आशीर्वाद’ पनि बनाए ।

हालै दुर्गाले भारतीय निर्देशक प्रभात कुमारसँगै काम गर्ने मौका पाए, फिल्म ‘ब्याक टु ड्याड’ मा । उनी सुटिङ सकेर भर्खरै फर्किएका छन् । मुुम्बई, पुना, सिक्किम र सिलिगुडीमा फिल्मको सुटिङ भएको छ । सिलिगुडीका व्यापार अनुप गदालको लगानी छ फिल्ममा ।

दुर्गाले सुनाए, ‘५२ दिनको सुटिङ भर्खरै सकियो, केही महिनापछि फिल्म रिलिजको तयारी भइरहेको छ ।’ फिल्मले टिनएजर्स युवायुवतीको आवेग र त्यसले निम्त्याउन सक्ने गम्भीर दुर्घटनालाई फिल्मले बोलेको छ । फिल्ममा सिक्किमे चेली कल्पना भट्टराई मुख्य भूमिकामा छिन् । नायकमा चाहिँ मासुम सिंहको अभिनय छ ।

भारतको युनिभर्सल कम्पनीसँग चिनजानका कारण दुर्गाले फिल्म निर्देशनको अवसर पाएको सुनाए । यसअघि सानो लगानीका साना भारतीय फिल्म निर्देशनको अनुभव दुर्गासँग थियो । ‘त्यही अनुभवले अर्को अवसर मिल्यो,’ उनले सुनाए ।

युनिभर्सले सञ्जय दत्तलाई लिएर फिल्म बनाउने तयारी गरिरहेको छ । त्यसमा समेत अवसर पाएको दुर्गाले बताए ।

उनको आफूलाई विगतदेखि नै मुम्बई बसेर काम गर्न साथीहरूले अनुरोध गरे पनि इन्कार गर्दै आएको सुनाए । नेपालका तुलनामा भारतको चलचित्र उद्योगले गति लिनुमा दक्षता र ‘परफर्मेन्स’ दिन सक्ने कलाकार रहेको उनको ठम्याइ छ ।

‘नेपाली कलाकार, प्राविधिक र निर्देशकले धेरै चिज सिक्न बाँकी रहेछ,’ हालैको भेटमा नेम्वाङले भने ।

विगत १८ वर्षदेखि चलचित्र उद्योगमा अभिनय, निर्देशन र अध्ययनमा व्यस्त उनी आफूले निर्माण गर्न लागेका केही चलचित्रमा परम्परागत मान्यता र पुरातनवादी चलन हटाएर नयाँपन दिने ध्याउन्नमा छन् । निर्माणको तयारीमा रहेको ‘एउटा मान्छे’ नामको फिल्म त्यस्तै चलचित्रको सूचीमा पर्छ । भन्छन्, ‘अब पुरातनवादी ढर्रावाला फिल्म नेपाली दर्शकले रुचाउँदैनन् ।’


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

डाक्टर शशांक कोइरालाले अर्जुननरसिंहलाई सोधे, ‘दाइको त ढाड दुख्ने समस्या छ हैन?’

काठमाडौं : नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा महामन्त्रीका प्रत्यासीद्वय अर्जुननरसिंह केसी र डा शशांक कोइराला मतदानस्थल नजिकै सँगै देखिए। कार्यकर्ताको आग्रहपछि उनीहरुले सँगै फोटो पनि खिचाए। कोइराला प्यानलमा रहेका यी दुवै अहिले एकै पदमा दुई खेमाका प्रतिस्पर्धी हुन्। केसी यसपटक पुरानो कित्ता छाडेर देउवा पक्षका महामन्त्री उम्मदवार हुन्।
फोटो खिच्ने क्रममा एक कार्यकर्ताले भने, ‘मलाई मन पर्ने दुवै नेता एकै ठाउँमा पर्नुभयो। के गर्ने गर्ने तनाब भा’छ,’ जवाफमा केसी र कोइराला दुवैले मुस्कुराए मात्र। भोट कसैले पनि माग्ने आँट गरेनन्।

त्यसपछि केसीले कोइरालातर्फ हेर्दै भने, ‘गलिँदो रहेछ। हिँड्दा हिँड्दा थाकिने रहेछ।’

केसीले त्यति भनेपछि शशांकले केसीको ढाडमा हात राख्दै भने, ‘दाइको त ढाडमा पनि समस्या छ क्यारे!’

डाक्टर कोइराला आँखाका विशेषज्ञ हुन्।

त्यसपछि दुवै नेता फेरि मत माग्न ब्यस्त रहे।

एकै म्यानमा नअटाएका दुई तरबार

राजनीतिमा अर्जुननरसिंह केसीभन्दा डाक्टर शशांक कोइराला नयाँ हुन्। नेपाली कांग्रेसको राजनीति, पञ्चायत प्रवेश र पञ्चायतकालीन मन्त्री तथा प्रजातन्त्र पुनर्स्थापनापछि फेरि कांग्रेसमै आएका अर्जुननरसिंह केसी कोइराला परिवारसँग लामो समय जोडिएका पात्र हुन्। अर्जुननरसिंह केसी संस्थापन पक्षका नेता शशांकसँगमात्रै भिडिरहेका छैनन् यसपालाको चुनावमा। उनका अर्का प्रतिस्पर्धी हुन् आफ्नै ज्वाइँ गगन थापा। नुवाकोटबाट पटक पटक सांसद रहँदै आएका अर्जुननरसिंह केसी संस्थापन कांग्रेसतर्फ बलियो हस्ती रहँदै आएका थिए। अघिल्लो महाधिवेशनमा सबैभन्दा धेरै मत ल्याएर केन्द्रीय सदस्य हुनेको सूचीमा उनी अग्रस्थानमै थिए। तर उनी कोइराला क्याम्पबाट राजनीतिक उपलब्धि हासिल नहुने देखेपछि शेरबहादुर देउवा प्यानलतिर जोडिएका हुन्।

यता शशांक लामो चिकित्सकीय प्रोफेसनपछिमात्रै सक्रिय राजनीतिमा छिरेका हुन्। वीपी कोइरालाका कान्छा छोरा डाक्टर शशांकलाई राजनीतिको यो उचाईमा पुग्न अर्जुननरसिंह केसीहरुले जस्तो संघर्ष गर्नै परेन। सोझै उनी राजनीतिको केन्द्रमा पुगे। सभापति रहँदै सुशील कोइरालाको निधन भएपछि कोइराला परिवारको केन्द्रमा उनी एकाएक उदाउन पुगे। सुशील कोइरालाको निधन शशांककै घरमा भएको थियो। कोइराला परिवारबाट राजनीति गर्ने शेखर र सुजातालाई उछिन्दै शशांक यसपाला महामन्त्री पदका उम्मेदवार बने। संस्थापन क्याम्पबाट सभापति उम्मेदवार बनेका रामचन्द्र पौडेल सुशील कोइरालाको निधनपछि सधैजसो शशांकको घरमा भेटिन्थे भने कांग्रेसको पदाधिकारी बैठक पनि शशांककै घरमा हुन थालेको थियो।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

कांग्रेस महाधिवेशन : ६४ जनालाई छान्न एक मतदातालाई कति लाग्छ समय?

काठमाडौं : नेपाली कांग्रेसको १३ ‍‍औँ महाधिवेशनमा विभिन्न पदका लागि ३१२ जना उम्मेदवार चुनावी मैदानमा छन्। मतदाताले तीमध्येबाट ६४ जनलाई छान्नुपर्छ।
महाधिवेशनमा मतदान गरेर फर्केका प्रतिनिधिहरुलाई आफ्नो मत दिन २० देखि ३५ मिनेटसम्म लाग्ने गरेको छ। नौ वटा मतपत्रबाट मतदाताले उम्मेदवार छान्नुपर्छ र पाँचवटा बुथमा रहेको मतपेटिकामा हाल्नुपर्छ।

यस पटकको महाधिवेशनमा ३ हजार १ सय ६१ मतदाता रहेका छन्।

‘मलाई भोट हाल्न ३५ मिनेट लाग्यो,’ कांग्रेसको सुनसरी जिल्ला सभापति राजीव कोइरालाले मतदान गरिसकेपछि पहिलोपोस्टसित भने, ‘धेरै ठाउँमा हिँड्नुपर्छ त्यसैले पनि टाइम लाग्ने रहेछ।’

राष्ट्रिय सभागृहको प्रांगणमा मतदान गर्ने व्यवस्था मिलाइएको छ।

धेरै उम्मेदवारबाट छान्नुपर्ने भएकाले समय लागेको डडेलधुराका प्रतिनिधि गोविन्दराज बोहोराले बताए। ‘मतपत्र लामो छ, उम्मेदवार धेरै जना छन्। त्यै भएकाले समस्या लाग्ने रहेछ,’ बोहोराले भने।

कांग्रेसको महाधिवेशनमा आज बिहान १० बजेटबाट मतदान सुरु भएको थियो। निर्वाचन कार्यक्रम भने बिहान ८ बजेदेखि नै मतदान हुने थियो। बेलुकी पाँच बजेसम्म चुनाव हुनेछ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

फोटोमा हेर्नुस् मतदान गर्दै कांग्रेसका शीर्ष नेताहरु

काठमाडौं : नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान सुरु भएको छ। आइतबार बिहान ९ बजेपछि भएको मतदानमा देशभरीबाट आएका प्रतिनिधिहरु आफ्नो नेतृत्व छान्नका लागि लाइनवद्ध छन्।

काठमाडौंको राष्ट्रिय सभागृहमा मतदान चलिरहेको छ। कांग्रेस नेतृत्वका लागि तीन वटा प्यानलले मनोनयन दर्ता गराएको छ।

हेर्नुस् मतदानमा सहभागी कांग्रेस नेताहरुको फोटो<

 


यो समग्री नेपाल१२३.com मा पुरै पढौं