Thursday, May 5, 2016

आफ्नो निर्णयमा २४ घण्टा नटिकेपछि दाहालमाथि प्रश्नैप्रश्नै

कांग्रेसको समर्थनमा आफ्नो सरकार गठन गर्न अघि सरेका एमाओवादी अध्यक्ष अन्ततः पछि हटेका छन् ।मुख्य सत्तारुढ घटक एमालेसँग बुधबार राति र बिहीबार बिहान भएको संवाद नै उनलाई १८० डिग्री उल्टो फर्काउन सफल सावित भयो ।
बुधबार राति १० बजेसम्म बालुवाटारमा प्रधानमन्त्री केपी ओलीसँग शान्ति प्रक्रियाको समापन, संविधान कार्यान्वयन, पुनर्निर्माण, प्रशासनिक राजनीतिक नियुक्तिलगायत विषयका चासोबारे कुराकानी भएको थियो ।त्यसक्रममा सत्य निरुपण तथा मेलमिलाप आयोगमा लगेर टुंग्याउनुपर्ने मुद्दालगायत विषयमा ओलीले ठोस योजना प्रस्तुत गर्ने प्रचण्डलाई आश्वासन दिए ।

‘एमालेले लिखितरुपमै हाम्रा प्रतिबद्धता व्यक्त गर्ने बताएकाले किन सत्ताको मोह बढी देखाउने भन्ने महसुस भयो,’ एमाओवादीका एक नेताले भने, ‘एमाले, एमाओवादीको नीति अनुसार बजेट ल्याई अघि बढ्ने कुरामा समझदारी बन्दैछ ।’त्यसअनुसार बिहान ८ बजे एमाले उपाध्यक्ष बामदेव गौतम दाहाललाई भेट्न लाजिम्पाट निवास पुगे ।गौतम दाहालसित दोस्रो तहका केही एमाओवादी नेताबीच थाती मुद्दा सम्बोधन गर्न कार्यतालिका बनाएरै अघि बढ्ने सहमति भएको थियो ।

ओलीका तर्फबाट कुरा गर्न गएका गौतमसँग अकस्मात् ‘सफल समझदारी’ पछि दाहालले कांग्रेस सभापति शेरबहादुर देउवालाई फोन गरे ।आफ्नो दललाई प्रधानमन्त्री प्रस्ताव गरेकोमा धन्यवाद दिए, अनि तत्काललाई अस्विकार गरे ।

दाहाल जवाफले चकित देउवाले चियापानका लागि बुढानिलकण्ड निवास बोलाए ।दाहालले ‘लाजिम्पाटकै चिया पिउन’ निम्ता गरेपछि देउवा आफ्ना निकटस्थ विमलेन्द्र निधी र रमेश लेखकसँग त्यहीँ पुगे ।दाहालले उही प्रसंग दोहोर्याए । सरकार ढाल्ने रणनीति बोकेर गएका देउवा चिया र धन्यवाद पाएर फर्के ।

कांग्रेसले दाहालको नेतृत्वमा सकार बनाउने वचन दिएलगत्तै हतारहतार केन्द्रीय पदाधिकारी बैठकले एमाले सरकारको विकल्प फेर्ने निर्णय गरेको थियो । एमाओवादीको निर्णयलाई धेरैले ‘हतारमा लतार’ को संज्ञा दिएका थिए । एमाओवादी आफ्नो निर्णयमा २४ घण्टा नटिकेपछि दाहालमाथि प्रश्नैप्रश्नै उठेका छन् । आजको कान्तिपुर दैनिकबाट ।



from Nepal123.com - आफ्नो निर्णयमा २४ घण्टा नटिकेपछि दाहालमाथि प्रश्नैप्रश्नै

No comments:

Post a Comment