काठमाडौ,२४ बैशाख । प्रहरी नियन्त्रणमा रहेका विद्यार्थी नेता प्रकाश अधिकारीको स्वास्थ्य अवस्था नाजुक अवस्थामा पुगेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी शंकरबहादुर गौतमलाई कालोमोसो दलेको आरोपमा पक्राउ परेका विलप्प माओवादीनिकट अखिलका काठमाडौं जिल्ला संयोजक अधिकारीको स्वास्थ्य अवस्था नाजुक भएको हो ।
अधिकारीलाई वैशाख १७ गते जोरपाटीबाट पक्राउ गरेर स्वयम्भु प्रहरी वृतमा राखिएको छ । उनीसंगै अखिलकै विकास अधिकारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ परेकै दिनदेखि आफूलाई प्रहरीले फसाएको भन्दै अधिकारीले हिरासतमै भोक हड्ताल गर्दै आएका छन् । भोक हड्तालका कारण उनको अवस्था दिनदिनै नाजुक भन्दै गए पनि प्रहरीले उपचारका लागि ध्यान नदिएको परिवारले आरोप लगाएका छन् ।
नियन्त्रणमा लिएका दुवैजना विरुद्ध प्रहरीले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा दायर गरेको छ । माओवादीले घटनामा आफ्नो संलग्नता नभएको बताउँदै आएको छ ।
from Nepal123.com - हिरासतमै भोक हड्ताल
No comments:
Post a Comment