Tuesday, March 1, 2016

बिस्मितालाई खोज्दा बृद्ध भेटिए

फाल्गुन १८, भरतपुर । नारायणी नदीमा डुबेर बेपत्ता भएकी नवलपरासी गैडाकोट १६ की १९ वर्षिया विस्मिता ज्ञवालीलाई खोज्ने क्रममा प्रहरीले आज एक बृद्धको शव फेला पारेको छ ।

६० वर्ष भन्दा बढी उमेरको जस्तो देखिने ती पुरुषको शव नारायणी नदीमा बग्दै गरेको अवस्थामा फेला परेको वडा प्रहरी कार्यालय नारायणगढले जनाएको छ । परिचय खुल्न नसकेको ती पुरुषको शव परिक्षणका लागी भरतपुर अस्पतालमा राखिएको छ । अस्ती आइतबार नारायणी नदीमा हराएकी विस्मिता भने आजसम्म पनि फेला नपरेको प्रहरी निरिक्षक सत्यनारायण थापाले बताउनुभयो ।

नदी किनारमा साथीसंग सेल्फी खिच्ने क्रममा चिप्लिएर नदीमा डुबेकी विस्मिताको आज पनि आफन्त, उनी अध्ययनरत अरोमा कलेजका शिक्षक, सुरक्षाकर्मी लगायतले खोजी गरेका थिए ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

पूर्वराष्ट्रपतिको घरभाडामा किचलो, घर खाली गराउने घरधनीको चेतावनी

१९ फागुन, काठमाडौं । सरकारले पूर्वराष्ट्रपति डा. रामवरण यादवका लागि बहालमा लिएको घरको भाडा नपाएको भन्दै घरधनीले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा उजुरी गरेका छन् ।

गत कात्तिक १२ गतेदेखि ललितपुरको बागडोलमा रहेको आफ्नो घर यादवलाई बहालमा दिए पनि अहिलेसम्म भाडा नपाएको गुनासो घरधनी रविभक्त विष्टको छ ।

राष्ट्रपतिको कार्यालय शीतल निवास तथा पूर्वराष्ट्रपति यादवलाई बोधार्थ पठाइएको पत्रमा उल्लेखित विवरणअनुसार मासिक १ लाख ३० हजार रुपैयाँ भाडा तिर्ने मौखिक सहमति भएको थियो । सो सहमति पालना नभएपछि विष्टले राष्ट्रपति डा. यादवलाई पत्र लेखेर ७ दिनभित्र भाडा उपलब्ध गराउन र घरबहाल सम्झौता गर्न माग गरेका थिए । तर अहिलेसम्म कुनै सुनवाई नभएको उनको कथन छ ।

घरधनी विष्ट अमेरिकामा बस्छन् भने उनको वारेसका रुपमा अरुणप्रकाश श्रेष्ठले सो पत्र लेखेका हुन् ।

प्रधानमन्त्री कार्यालयलाई माघमै पठाइएको पत्रमा भनिएको छ, ‘घर बहाल सम्झौता नहुने हो भने ३ महिनाभित्र अहिलेको भौतिक संरचना यथावत राखि बहाल रकम चुक्ता गरेर घर कम्पाउन्ड खाली गराइयोस् ।’

सरकारकै पहलमा पूर्वराष्ट्रपतिलाई घर उपलब्ध गराइएको भए पनि अहिलेसम्म मन्त्रिपरिषदले औपचारिक निर्णय नगरेकाले भाडा तिर्न नसकेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

घर धनि विष्टले प्रधानमन्त्री कार्यालयमा बुझाएको पत्र

Rambarana-Yadav-Home-Rent final


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

नेपाली युवतीलाई दिल्ली हुँदै इराक पठाउने दुई पक्राउ

१८ फागुन, काठमाडौं । नेपाली युवतीहरुलाई नयाँ दिल्ली हुँदै दुवई, कुवेत र इराकमा पठाएको अभियोगमा दुई जना पक्राउ परेका छन् । दुबै एजेन्ट भएको प्रहरीले बताएको छ ।

गत साउन ५ गते दिल्लीस्थित इन्दिरा गान्धी विमानस्थलबाट २७ नेपाली युवतीलाई उद्दार गरिएको थियो । उनीहरुलाई साउन १९ गते नेपाल ल्याइएको थियो ।

अनुसन्धानका क्रममा केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले काभ्रे घर भई बानेश्वर थापागाउँ बस्ने बीके भन्ने सानु लामा र कपिलबस्तु घर भई नारायणटार बस्ने डीबी भन्ने दानबहादुर क्षेत्रीलाई पक्राउ गरेको छ ।

दुबैले युवतीहरुसँग रकम लिएर एजेन्ट मार्फत भारतको नयाँ दिल्लीतर्फ पठाएको प्रहरीको दाबी छ ।

प्रहरीले यसअघि नै सुशील भन्ने सुजिल थापा र राजबाबु श्रेष्ठ पक्राउ गरिसकेको छ । दुबैविरुद्ध मानव बेचविखन तथा ओसार पसार मुद्धा चलाइएको छ र पुर्पक्षका लागि थुनामा राखिएको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

रामचन्द्र पौडेलको टिम घोषणा भोलि, महामन्त्रीको उम्मेदवार शशांक

१८ फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडलले भोलि बुधबार औपचारिक उम्मेदवारीको घोषणा गर्ने भएका छन् । उनले आफ्नो टीम सार्वजनिक गर्नेछन् ।

पौडेल समूहले अपराहृन ४ बजे पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन राखिएको छ । ‘भोलिसम्म सहमतिको प्रयास गर्ने र नभएपछि टिम घोषणा गर्ने भन्ने भएको छ’ पौडेल निकट मानिउका काभ्रे जिल्ला सभापति मधु आचार्यले भने ।

पौडेलको टीमबाट महामन्त्रीमा शशांक कोइराला उम्मेदवार हुनेछन् भने कोषाध्यक्ष टुंगो लागेको छैन । मधेसी समुदायबाट उम्मेदवार बनाउने तयारी छ । यसमा पूर्व राष्ट्रपति डा. रामवरण यादवका भतिजी किरण यादवको सम्भावना प्रवल रहेको स्रोतले बताएको छ ।

पद्मनारायण चौधरी, फर्मुल्लाह मन्सुरको नाम पनि चर्चामा छ । अर्का दावेदार पूर्व राष्ट्रपति यादवका छोरा चन्द्र मोहन यादव भने महाधिवेशन प्रतिनिधि नै नहुने खतरा बढेको छ । उनको क्षेत्र धनुषा ५ मा अनिश्चितकालका लागि अधिवेशन स्थगित भएको छ ।

पौडेल समूहको उपसभापतिका रुपमा प्रकाशमान सिंहलाई हेरिएको छ । यो मनोनित पद भएकाले अहिले घोषणा हुनेछैन । यस्तै मनोनित महामन्त्रीमा पूर्व अर्थमन्त्री डा. रामशरण महतलाई ल्याउने समझदारी भएको छ । तर, महतले सभापति लड्छु भन्न छाडेका छैनन् ।

सिटौलाको छुट्टै भेला 

पौडेल समूहको कार्यक्रम अघि सभापतिका आकांक्षी कृष्ण सिटौलाले कार्यक्रम राखेका छन् । उनले टिम घोषणा नभनी महाधिवेशन प्रतिनिधिहरुलाई स्वागत गर्ने कार्यक्रम राखेका छन् ।

यहि कार्यक्रमबाट उनले सभापतिमा उम्मेदवारी दिने औपचारिक घोषणा गर्न सक्नेछन् । सिटौलाले महामन्त्रीमा गगन थापालाई अघि सार्नेछन् । कोषध्यक्षसहितको उनको अन्य टिम भने तय भइसकेको छैन । उनी अहिले पनि छलफलमै रहेका छन् ।

अर्की नेत्री सुजाता कोइरालाले पनि बुधबार दिउँसो १ बजे समूहसहित उम्मेदवारी घोषणा गर्ने दाबी गरेकी छन् । आफ्नै निवास मन्डीखाटारमा पत्रकार सम्मेलन गरी निर्वाचनका लागि उम्मेदवारी दिने सबैको नामावली सार्वजनिक गर्ने बताइएको छ ।

पार्टीका वरिष्ठ नेता शेरबहादुर देउवाको समूहले भने भोलि नै उम्मेदवारी घोषणा गर्ने सम्भावना न्यून छ । देउवा समूहले अन्य नेताको उम्मेदवारी घोषणा सकिएपछि मात्रै पर्सी उम्मेदवारी घोषणा गर्ने रणनीति बनाएको छ ।

भोलि अन्य केही नेताले पनि पदाधिकारी र केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषणा गर्ने तयारी गरेका छन् । केन्द्रीय सदस्यका लागि यसअघि पनि धेरैले उम्मेदवारी घोषणा गरिसकेका छन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

नरहरिको आवाज निस्कियो, आँसु झारेर रोए

९ फागुन, काठमाडौं । राजधानीको न्यूरो अस्पतालमा उपचाररत नेपाली कांग्रेस नेता नरहरि आचार्यको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । उनको मुखबाट बोली निस्कन थालेको र शारीरिक क्रियाकलाप सन्तोषजनक रहेको अस्पताल स्रोतले बतायो ।

कांग्रेस सभापति सुशील कोइरालाको निधनपछि श्रद्धान्जली दिन कोइराला निवास महाराजगञ्जमा पुगेका आचार्य त्यहिँ अस्वस्थ भएका थिए । श्रद्धान्जली दिएर बाहिरिने क्रममा बेहोस भएपछि उनलाई पहिले महाराजगञ्जस्थित गंगालाल र त्यसपछि बाँसबारीस्थित न्यूरो अस्पताल लगिएको थियो ।

हाइपरटेन्सनका कारण उनको मस्तिष्कको बायाँ भागमा रगत जमेकाले शरीरको दायाँ भाग पक्षघात भएका सिटीस्क्यानबाट देखिएको थियो ।

न्यूरो हस्पिटलको भीआइपी कक्षमा उपचाररत आचार्य पछिल्ला दुई दिनमा बिस्तारै आवाज निकाल्न थालेको स्रोतले जानकारी दियो । उनले केहि शब्दहरु बोल्न थालेका छन् । चिकित्सकहरुले यसलाई ‘आश्चर्यजनक सुधार’ का रुपमा लिएका छन् र आवाज पूर्णरुपमा फर्किनसक्ने विश्वास व्यक्त गरेका छन् ।

हाल उनको ‘स्पिच थेरापी’ र फिजियोथेरापी भइरहेको छ । पक्षघात भएको शरीरको दाया भागमा पनि केहि सुधार आएको अस्पताल स्रोतले बतायो । फिजियो थेरापी तथा स्पिचथेरापी जारी राख्ने गरी अस्पतालले उनलाई चाँडै डिस्चार्ज गर्ने तयारी गरेको छ ।

दुई दिनअघि आचार्यलाई भेट्न पुगेका कांग्रेस नेता भिमसेनदास प्रधानले स्वास्थ्यमा क्रमिक सुधार आएको अनलाइनखबरलाई बताए । उनले भने, ‘उहाँको चेतना पूर्णरुपमा खुलेको छ । मलाई भेट्दा आँसु खसालेर रुनुभयो । म पनि भावुक भएँ ।’


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

नयाँ शक्तिको चन्दा दरः संस्थाबाट २० लाख, व्यक्तिगत ५० हजार

१८ फागुन, काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँशक्ति नेपालले एक आर्थिक वर्षमा कुनै पनि संस्था वा कम्पनीबाट २० लाखभन्दा बढी चन्दा नलिने निर्णय गरेको छ । साथै एकजना व्यक्तिबाट एक वर्षमा ५० हजार रुपैयाँमात्रै चन्दा लिइने नयाँ शक्तिको निर्णय छ ।

नयाँ शक्ति नेपालले मंगलबार बबरमहलस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरी सार्वजनिक गरेको ८ पृष्ठ लामो आर्थिक कार्यविधि-२०७२ मा व्यक्तबाट एक वर्षमा ५० हजार संस्था वा कम्पनीबाट २० लाख भन्दा बढी चन्दा नलिइने निर्णय सुनाएको हो ।

कार्यविधिमा विदेशी नागरिकबाट चन्दा स्वीकार नगरिने बताइएको छ । धार्मिक साम्प्रदायिक उद्देश्य बाेक्नेहरूबाट पनि नयाँ शक्तिले चन्दा नलिने भएकाे छ । विदेशमा दर्ता भएकाे संस्थाकाे चन्दा पनि अस्वीकार गरिने भएकाे छ ।

त्यसैगरी बहालवाला सरकारी कर्मचारीबाट पनि चन्दा नलिइने कार्यविधिमा उल्लेख छ । नेपाल सरकारको पूर्ण वा ५१ प्रतिशत भन्दा बढी स्वामित्व रहेको संस्थाका कर्मचारबिाट पनि चन्दा नलिइने नयाँ शक्तिले घोषणा गरेको छ ।

सार्वजनिक ठेक्कमा कालो सूचीमा परेकाहरु र फौजदारी अभियोगमा जेल परेको व्यक्तिबाट पनि नयाँ शक्ति नेपालले चन्दा नलिने घोषणा गरेको छ । भ्रष्टाचारको असिभयोग लागी छानविन भइरहेका फैसला भएका व्यक्तिबाट पनि नयाँ शक्तिले चन्दा नलिने भएको छ ।

त्यसैगरी १० हजार रुपैयाँ भन्दा माथिको चन्दा बैंकबाट मात्रै लिइने र चन्दाका लागि कसैलाई दबाव नदिइने कार्यविधिमा उल्लेख छ ।

Naya-Sakti-econimic-policy

 


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

नयाँ शक्तिको प्रयोगः काँचो कागज, स्वदेशी कोट र जुत्ता

१८ फागुन, काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति अभियानले नेपाली उत्पादनको प्रयोगलाई प्राथमिकता दिने भएको छ ।

देशको आर्थिक समृद्धि र रोजगारी सिर्जनामा बल पुर्‍याउन नेपाली उत्पादनको प्रयोगलाई प्राथमिकता दिइने अभियानले जनाएको छ ।

मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा डा. भट्टराईले भने, ‘सबै अभियन्ताहरुलाई सम्भव भएसम्म नेपाली उत्पादनको प्रयोग गर्न अभिप्रेरित गरिनेछ ।’

स्वदेशी उत्पादन प्रयोगको सुरुवातस्वरुप पार्टी सदस्यता फारम नेपाली कागजमा प्रकाशित गरिने र स्वदेशी कपडाको कोट तथा नेपालमै उत्पादित जुत्ता प्रयोग गरिने डा. भट्टराईले बताए ।

पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्ति पनि नेपाली कागजमा प्रकाशित गरिएको थियो ।

सदस्यता शुल्क र चन्दा संकलनको सीमा

यसैगरी नयाँ शक्तिले सदस्यता शुल्क र चन्दा संकलनको सीमा तोकेको छ ।

नयाँ शक्ति नेपालले एक आर्थिक वर्षमा एक व्यक्तिबाट ५० हजार रुपैयाँभन्दा धेरै चन्दा नलिने घोषणा गरेको छ । कुनै संस्था, फर्म र कम्पनीबाट भने एक आर्थिक वर्षमा २० लाख रुपैयाँभन्दा धेरै चन्दा नलिने उसले घोषणा गरेको छ ।

पार्टी सदस्यता शुल्क एक सय रुपैयाँ तोकिएको छ । ‘प्रत्येक सदस्यले साउन १ गतेदेखि मंसिर मसान्त भित्रमा एक रुपैयाँ वार्षिक सदस्यता नवीकरण शुल्क बुझाउनु पर्नेछ,’ विज्ञप्तिमा लेखिएको छ ।

भट्टराईले काठमाडौं बढार्ने

काठमाडौंलाई सफा र हराभरा बनाउन हरेक हप्ता नयाँ अभियानका संयोजक डा. भट्टराईसहित केन्द्रीय सचिवालय सदस्यहरु, युवा, विद्यार्थी, मजदुर, किसानहरु काठमाडौं सफा गर्न सहभागी हुनेछन् ।

‘महिला विरुद्ध हिंसामा शून्य सहनशीलता’ अपनाउने, पार्टी कार्यालयहरुमा भ्रष्टाचारविरुद्धको हेल्प डेक्स स्थापना गर्ने र हरियो काठमाडौं, सफा काठमाडौं अभियान चलाउने विज्ञप्तिमा उल्लेख छ ।

नयाँ शक्तिले सामाजिक अभियान परिचालन विभागको जिम्मा ध्रुव पराजुलीलाई दिएको छ । सिन्धुपाल्चोकका एमाओवादी नेता पराजुली हालै नयाँ शक्तिमा प्रवेश गरेका थिए ।

स्थानीय विकास विभागको संयोजकमा पाशाङ शेर्पा, दलित तथा अल्पसंख्यक समुदाय विभागको संयोजक महेन्द्र पासवान, कृषि तथा भूमीमामला विभागको जिम्मा नाथुप्रसाद चौधरी र सुकुम्बासी व्यवस्थापन तथा सामाजिक सुरक्षा विभागको जिम्मा सुशीला सिरपाइलीलाई दिइएको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं