Saturday, May 7, 2016

हो म पागल भएकै हुँः बाबुराम

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले विकास र समृद्धिका लागि नयाँ शक्ति गठन गरिएको बताएका छन् ।

चितवनको भरतपुरमा शनिबार आयोजित आमसभामा बोल्दै भट्टराईले समृद्धिको नारा अघि सार्दा आफूहरुमाथि ‘पागल’ को आरोप लाग्ने गरेको बताए । आफूहरुसँग समृद्धिमार्फत नेयाँ नेपाल निर्माण गर्ने पागलपन रहेको उनको भनाइ थियो ।

‘म र अभियानमा जुटेका हामी अलिकति मुर्ख भएकै हौं र अलिकति पागल भएको हौं’, भट्टराईले भने, नेपालको समृद्धिको सपना र त्यसलाई पूरा गर्ने पागलपन हामीसँग छ, दुस्साहसिक काम गर्नेलाई नेपालमा पागल भन्ने गरिएको छ ।’

नयाँ शक्ति अभियानबारे जनताका विभिन्न तहमा आशंका रहेको स्वीकार गर्दै उनले नयाँ चिजको सुरुआत आशंकाबाटै हुने तर्क गरे । भट्टराईले लहड र सनकका भरमा नभई विवेकसंगत ढंगले सोचविचार गरेरै नयाँ शक्ति निर्माण अभियान थालेको बताए ।

उनले अबको १० वर्षमा नेपाललाई गरिबीमुक्त र दुई अंकको आर्थिक वृद्धि गर्ने हैसियतमा कसरी लैजाने भन्नेबारे आफूले खाका कोरिरहेको उल्लेख गरे । अभियानका सचिवालय सदस्य मुमाराख खनालले आगामी निर्वाचनमा नयाँ शक्तिलाई पहिलो पार्टी बनाएरै छाड्ने जिकिर गरे ।



from Nepal123.com - हो म पागल भएकै हुँः बाबुराम

वार्ताका लागि मधेसी मोर्चालाई पत्र पठाउने सरकारको तयारी

२५ वैशाख, काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले आन्दोलनरत मधेसी मोर्चालाई वार्ताका लागि औपचारिक रुपमा पत्र लेख्ने तयारी भइरहेको बताएका छन् ।

मधेसको समस्या समाधान गर्न सरकारले गठन गरेको उच्चस्तरीय राजनीतिक समितिलाई पूर्णता दिन अप्ठ्यारो परेको भए आफू संयोजक पद खुसीका साथ छाड्न तयार रहेको बताए ।

रिपोर्टस क्लब नेपालले शनिबार आयोजना गरेको साक्षात्कारमा थापाले भने, ‘मधेसको माग पुरा गर्ने फ्रेमवर्क तयार भएको छ । राजनीतिक समितिले गरेको सहमतिको आधारमा संविधान संशोधन गर्ने हो ।’ उनले अघि भने, ‘मधेसी मोर्चा, सरकार र प्रमुख प्रतिपक्षी नेपाली काग्रेसवीच समिति गठनको विषयमा सहमति छ तर केही प्राविधिक कारणले मात्रै नभएकेा हो ।’

थापाले आफू नेतृत्वको राजनीतिक समितिले आइतबार नै आन्दोलनरत मधेसी मोर्चालाई वार्ताका लागि औपचारिक रुपमा पत्र लेख्ने तयारी गरेको जानकारी दिए ।



from Nepal123.com - वार्ताका लागि मधेसी मोर्चालाई पत्र पठाउने सरकारको तयारी

​भारतसँगको सम्बन्ध नयाँ ढंगले अघि बढाउन राजदूत फिर्ता बोलाएको सरकारको दावी

काठमाडौं, वैशाख २५ – सरकारले भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्यायलाई राजनीतिक पुर्वाग्रह राखेर फिर्ता नबोलाएको स्पष्ट पारेको छ । 

राजदूत उपाध्यायलाई फिर्ता बोलाइएको विषयमा संसदलाई जानकारी गराउँदै उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले नेपाल भारत सम्बन्धलाई नयाँ ढंगले अघि बढाउने र सरकारको सोचाई अनुसार काम गर्ने वातावरण बनाउन फिर्ता बोलाइएको बताउनुभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण स्थगित हुनु र  राजदूत फिर्ता बोलाउनु एउटै समयमा भए पनि यी दुईविचमा कुनै सम्बन्ध नरहेको भन्दै थापाले यसलाई अस्वभाविक र अतिरञ्जितपुर्ण रुपमा व्याख्या नगर्न पनि आग्रह गर्नुभयो ।

‘उपाध्यायले राष्ट्रपतिको भ्रमण स्थगित भएको र आफूलाई हटाईएको जानकारी एकै समयमा पाउनुभयो’ थापाले भन्नुभयो ‘राष्ट्रपतिको भ्रमण स्थगित हुनसँग उहाँलाई हटाउनुको कुनै सम्बन्ध छैन ।’सरकारले राष्ट्रपतिको भ्रमण धरातलीय कारणले स्थगित भएको भन्दै यसले नेपाल र भारतबिचको सम्बन्ध नविग्रिने बताएको छ ।

प्रधानमन्त्री केपी ओली भारत भ्रमणपछि दुई देशबिचको सम्बन्ध अझै बलियो भएको भन्दै उहाँले यसै वर्षभित्र भारतका राष्ट्रपति प्रणव मुखर्जीले नेपालको भ्रमण गर्ने पनि विश्वास व्यक्त गर्नुभयो ।



from Nepal123.com - ​भारतसँगको सम्बन्ध नयाँ ढंगले अघि बढाउन राजदूत फिर्ता बोलाएको सरकारको दावी

भ्रमण स्थगित र राजदूत फिर्तामा अतिरञ्जित नगरौँ : उपप्रम थापा

काठमाडौँ । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले राष्ट्रपतिको भारत भ्रमण र भारतका लागि नेपालका राजदूतको फिर्ताबारे सरकारको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

संसद्को बैठकमा विशेष समय लिएर उनले मुलुकको पछिल्लो विकसित राजनीतिक घटनाक्रम, सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने, उज्जैनमा ठूलो प्राकृतिक विपत्ती आएको, छ जनाको निधन भएको तथा ४० जना घाइते भएको, टेन्टलगायतका सामग्रीको क्षति भएको सरकारलाई सूचना आएका कारण भ्रमण स्थगित भएको बताए ।

आन्तरिक राजनीतिक घटनाक्रम र भारतको तीर्थस्थलमा भएको घटनाका कारण सरकारले भारत सरकारलाई राष्ट्रपतिको भ्रमण स्थगित गर्न आग्रह गरेको उनले बताए ।

उपयुक्त समयमा कूटनीतिक तवरबाट राष्ट्रपतिको भ्रमण गराउने तयारी गर्न आग्रह गरिने जानकारी दिँदै उनले भ्रमण स्थगित भएको घटनाबाट पर्न गएको असुविधाप्रति क्षमा समेत मागे ।

नेपाल–भारतको सम्बन्धमा कुनै पनि असहज अवस्था नभएको भन्दै उनले प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणपछि दुई देशबीच नयाँ आधारमा सम्बन्ध पूर्ववत् सौहार्द र मैत्रीपूर्ण रहेको उल्लेख गरे ।

नेपालको आर्थिक विकासका लागि भारत सरकारले प्रतिबद्धता जनाएको उल्लेख गर्दै उनले भूकम्पपछिको पुनःनिर्माणमा भारत सरकारको अत्यन्तै चासो रहेको र कुनै समस्या नरहेको बताए ।

राष्ट्रपति भण्डारीले भारतीय राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो दिएको जानकारी दिँदै उनले आगामी एक वर्षभित्र भ्रमण हुने विश्वास व्यक्त गरे ।

राजदूत फिर्ताको विषयमा अतिरञ्जित व्याख्या गर्नु आवश्यक नभएको उनको भनाइ छ । राजदूत उपाध्यायले विगत केही समयदेखि गरेको कामलाई सरकारले सामान्यरुपमा लिएको र निरन्तर काम गर्न सुझाव दिएको बताए ।

“राजनीतिक पृष्ठभूमि, आग्रह पूर्वाग्रहका आधारमा फिर्ता बोलाइएको होइन र नेपाल–भारत सम्बन्धलाई नयाँ आधारमा अगाडि बढाउने, नीति कार्यक्रम र दुई देशको सम्बन्धलाई अगाडि बढाउने र सरकारको सोचाइअनुसार काम गर्न फिर्ता बोलाइएको हो, अतिरञ्जित तवरले हेर्न जरुरी छैन,” उनले भने ।

राष्ट्रपतिको भ्रमण स्थगित गर्ने सूचना र राजदूतलाई फिर्ता बोलाउने सूचना उपाध्यायलाई एकैपटक दिइएको भन्दै परराष्ट्रमन्त्री थापाले गलत प्रचार नगर्नसमेत आग्रह गरे ।

नेपाल–भारत सम्बन्धलाई सरकारको प्राथमिकता, नीति, सोचाइअनुसार सरकारले राजदूत फिर्ताको निर्णय गरेको सदनलाई जानकारी गराए ।

उनले नेपाल–भारत सम्बन्ध अझै परिपक्व तवरले अगाडि बढ्ने विश्वास पनि व्यक्त गरे ।

रासस



from Nepal123.com - भ्रमण स्थगित र राजदूत फिर्तामा अतिरञ्जित नगरौँ : उपप्रम थापा

टीडीएसबापतकाे १५ प्रतिशत कर बुझाउन एनसेल तयार

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सरकारलाई स्रोतमा कट्टा कर (टीडीएस) बापत १५ प्रतिशत कर तिर्ने भएको छ ।

एनसेल स्रोतका अनुसार १५ प्रतिशत कर तिर्ने भएको हो । “१५ प्रतिशत करको हिसाब निकाल्ने तयारी भइरहेको छ,” स्रोतले भन्यो, “कति रकम हुन्छ, हिसाब गरेर राज्यलाई कर बुझाउँछौं, अहिले हिसाब भइरहेको छ ।”

सेयर खरिद विक्रीमा भएको लाभमा एनसेलले विवरण तथा कर दाखिलाको तयारी सुरु गरेको हो । त्यसैगरी, पुँजीगत लाभकरबापत एनसेलले १५ बुझाउने र १० प्रतिशत विक्रेता कम्पनी टेलियासोनेराले बुझाउनुपर्ने कानुनी व्यवस्था छ ।

एनसेलले ठूला करदाता कार्यालयले भने अनुसार १५ प्रतिशत तिर्न तयार भएको हो । तर, टेलियासोनेराले तिर्नुपर्ने १० प्रतिशत पुँजीगत लाभकर भने अझै अन्यौल भएको छ ।

एनसेलले १५ प्रतिशत कर दाखिला गर्ने शनिबार अन्तिम दिन भए पनि विदा परेकाले एनसेलले आइतबारसम्मको म्याद पाएको छ । टेलियासोनेरा तथा नेदरल्यान्ड्सको एसइए टेलिकमसँग एनसेलको ८० प्रतिशत स्वामित्व मलेसियाको एक्जियटाले एक अर्ब ३६ करोड ५१ लाख डलरमा खरिद गरेको थियो ।

सन् २०१५ को अन्त्यमा घोषणा गरिएको यो कारोबार अप्रिल ११ तारिखमा सम्पन्न भएको घोषणा दुवै कम्पनीले गरेका थिए । एनसेलले आइतबारसम्म खरिदको आयविवरण तथा १५ प्रतिशत स्रोतमा कर कट्टी गरेर कर कार्यालयलाई बुझाउनुपर्ने दायित्व छ ।

यसअघि २० प्रतिशत सेयर सुनिभेरा क्यापिटलकी एकल लगानीकर्ता भावनासिंह श्रेष्ठलाई बिक्री गरेका निरजगोविन्द श्रेष्ठले लाभकरवापत दुई अर्व ८३ करोड रुपैयाँ कर बुझाइसकेका छन् ।



from Nepal123.com - टीडीएसबापतकाे १५ प्रतिशत कर बुझाउन एनसेल तयार

पेट्रोल पम्प नजिकै टाउको नभएको लाश भेटियो

नवलपरासी : नवलपरासी जिल्लाका दुई छुट्टाछुट्टै स्थानमा आज दुईजना मृत अवस्थामा फेला परेका छन् । 
जिल्लाको दुम्कीबासमा–१ दाउन्नेदेवी पेट्रोलपम्प नजिकै रहेको कल्भर्टमुनि एक पुरुषको वेवारिसे शव फेला परेको छ।

शवको टाउको नभएको र शरीरपनि सडिसकेको अवस्थामा रहेको इलाका प्रहरी कार्यलय, नयाँ बेलहानीका प्रहरी निरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए।

यस्तै, कावासोती नगरपालिका–१३ पिठौलीमा एकजना पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय नवलपुरका अनुसार शव नारायणी नदी किनारमा फेला परेको हो । रासस



from Nepal123.com - पेट्रोल पम्प नजिकै टाउको नभएको लाश भेटियो