काठमाडौं – राजधानीमा आयोजित एक सार्वजनिक कार्यक्रममा नै प्रधानमन्त्री र उपप्रधानमन्त्रीबीच घोचपेच भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेड (नेफ्स्कुन)द्वारा आयोजित ‘वित्तीय समावेशीकरणको लागि साकोसमा सञ्जाल व्यवस्थापन’ विषयको गोष्ठीमा दुई बीच घोचपेच भएको हो ।
प्रधानमन्त्री केपी ओलीले सहकारी क्षेत्रलाई प्राथमिकता दिएका कारण पाको उपप्रधानमन्त्री दिएको भनाइ कार्यक्रममा सार्वजनिक गरेपछि उपप्रधानमन्त्री तथा सहकारी तथा गरिबी निवारण मन्त्री चित्रबहादुर केसीले असन्तुष्टि जनाएका थिए । प्रधान मन्त्रीलाई प्रश्न गर्दै उनले भने –‘कुराले पेट भरिन्न’ । उनको दुखेसो थियो – “उपप्रधानमन्त्री बनाइदिएर मात्र हुन्छ ? अधिकार कहीँ छैन ।”
“सहकारी तथा गरिबी निवारणको बोर्ड मात्र छ, गरिब जनता मन्त्रालयमा आउँछन् तर उनीहरुलाई केही दिन सकिन्न, दिने अधिकार त प्रधानमन्त्री कार्यालय र अर्थमन्त्रालयसँग मात्र रहेछ,” उपप्रधानमन्त्री केसीले भने ।
गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पछाडि पारिएका र असङ्गठित समुदायलाई सङ्गठित पार्ने माध्यमका रुपमा रहेको सहकारी क्षेत्रको विकास गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
उनले भने – “आत्मविश्वास जगाउँदै ती समुदायको आर्थिक उत्थान सहकारीले मात्र गर्न सक्छ, यसैले सहकारीलाई व्यापक बनाउनुपर्छ ।”
प्रधानमन्त्री ओलीले सहकारी प्रवद्र्धन सरकारको प्राथमिकता क्षेत्रमा परेका कारण यो क्षेत्र हेर्न सहायक, राज्य वा मन्त्री नदिई उपप्रधानमन्त्री नै दिएको बताए।
विपन्न समुदायलाई आर्थिकरुपले माथि उकास्न तथा देशको आर्थिक उन्नति गर्न सरकारले निजी, सरकारी तथा सहकारी तीन खम्बे अर्थनीति लिएको प्रधानमन्त्री ओलीले स्पष्ट पारे ।
नेपालको संविधान ऐतिहासिक
नेपाली जनताको चाहना र हकअधिकारलाई सुनिश्चित गर्न संविधानसभाबाट जारी संविधान ‘ऐतिहासिक र युगान्तकारी’ भएको उनले उल्लेख गरे ।
प्रधानमन्त्री ओलीले भने – “संविधानमा रहेका प्रावधान र व्यवस्था अधिकांश जनताले रुचाएका छन् । केही असन्तुष्टि पनि होलान् । अहिले यो असन्तुष्टिलाई सम्बोधन गर्न लागिएको छ । अब संविधानको कार्यान्वयनमा लाग्नुपर्छ ।”
संविधानको कार्यान्वयनले नै अहिले उठेका आन्दोलनको माग सम्बोधन हुने उनको भनाइ थियो ।
पराधीन छैनौं
हालै छिमेकी देश भारत र चीनको औपचारिक भ्रमण सम्पन्न गर्नुभएका प्रधानमन्त्री ओलीले भने – “सार्वभौम र स्वतन्त्र मुलुक नेपाल दुई देशको तुलनामा भौगोलिक हिसाबले सानो होला तर हामी हाम्रो बारेका निर्णय आफैँ गर्न सक्षम छौँ ।”
“कुनै पनि बहानामा यसो गर र उसो गर भनेर आत्मसम्मानमा चोट पुग्ने गरी कसैले पनि बोल्नुहँुदैन,” प्रधानमन्त्री ओलीले भने । महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित सुलोचना महाकाव्यको पात्रको प्रसङ्ग निकाल्दै प्रधानमन्त्री ओलीले आर्थिक रुपले नेपाल गरिब भएपनि पराधीन नरहेको बताए ।
आफू जतिदिन प्रधानमन्त्री पदमा बसे पनि देश र जनताको हितमा खटेर लाग्ने उनको भनाइ थियो ।
दुई दिने गोष्ठीमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घमा आबद्ध संस्थाका तीनसय कार्यकारी अधिकृतको सहभागिता रहेको छ । सहकारी संस्थामा आधुनिक प्रविधि कसरी अङ्गिकार गर्ने भन्ने विषयका नौवटा कार्यपत्र गोष्ठीमा प्रस्तुत गरिने छ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment