मनोज गजुरेल, हास्यब्यङ्ग्य अभिनेता
अधिकांश खस आर्यनहरुका पूर्खा पश्चिमी पहाड हुँदै पूर्वतिर आएको इतिहास भेटिन्छ । ‘गजुरेल’हरु पनि बैतडीबाट कालिकोट, सुर्खेत, धादिङ, काठमाण्डौ, सिन्धुली हुँदै ताप्लेजुङ पुगेका हुन् । त्यो ऐतिहासिक यात्रा कस्तो थियो होला ? त्यो जमानामा उनीहरु कसरी बैतडीदेखि ताप्लेजुङसम्म पुगे होला ? वयोवृद्ध डोट्याली इतिहासकार मायानाथ उपाध्यायको सहयोगमा आफ्नो तेह्र सय वर्ष पुरानो पुख्र्यौली इतिहास केलाउँदैछन्, अप्रिल फूलको अवसरमा हास्य व्यंग्य अभिनेता मनोज गजुरेलः
बैतडी जिल्लामा गाँजरी भन्ने एउटा गाउँ छ, जुन ‘गजुरेल’हरुको पुख्र्यौली थात् थलो हो । गजुरेलहरुको खास थर ‘जोशी’ हो । गाँजरीबाट पूर्वतिर लाग्ने क्रममा गाँजरीका जोशीहरु कालान्तरमा गजुरेल हुन पुगेका इतिहासकार मायानाथ उपाध्यायको तर्क छ ।
विक्रम संवतको आठौं शताब्दीको कुरा हो । गाँजरी गाउँमा एकजना नामी किसान थिए, गजु जोशी । जोशीसँग हजारौं जर्सी गाई थिए । सयौं भैंसी र चौंरीहरु पाल्दथे । दिल्लीका दरबार, बम्बईका बादशाहदेखि इलाहावादका हवेलीसम्म गाँजरीकै दूध, दही, घिउ निर्यात हुने गर्दथ्यो । त्यो मध्ये अधिकांश गजु जोशीकै उत्पादन हुन्थ्यो ।
गजु सम्बन्धी एउटा गज्जबको किंवदन्ती अझै पनि गाँजरीमा सुन्ने गरिन्छ । बिहान तीन बजेदेखि गाई दुहुन थालेका गजु, खप्तडको लेकमा घाम आइपुग्दा डेढसय गाई एक्लै दुहिसक्थे । उनी यति बलिया थिए कि बर्खाको भेलमा दुईवटा गाई एक/एक हातले जुरुक्क उचालेर फुत्त खोलो तार्ने गर्दथे ।
विक्रम सम्वत् ८१२ को चैत्र शुक्ल पूणिर्माको दिन । गाँजरी गाउँमा एउटा अनौठो घटना घट्यो । जोशी वंशको गोठधूप थियो । पूणिर्माको जून आकाशबाट अलप भएर सूर्य देवताको आगमन हुँदै थियो । बन्धुहरु गोठमा भेला भैसकेका थिए । गजु जोशी जुरेली नामको गाई दुहुँदै थिए, जसले एक साँझमा पचास माना दूध दिन्थ्यो । आफन्तहरु गजुले गाई दुहेको वरिपरि उभिएर हेर्दै थिए । अचानक गाउँमा कोलाहल मच्चियो ।
कारण थियो, विशाल हावा हुण्डरी । हुण्डरी यति ठूलो थियो कि घरका छाना हल्लाउन थाल्यो । गोठका खम्बा उखेल्न खोज्योे । हेर्दा हेर्दै रुख, बिरुवा, घर, टहरा प्रत्येकलाई भत्कायो । स-साना नानीहरु पनि हावा हुण्डरीका कारण केही माथि उड्दै पछारिँदै गर्न थाले ।
गजु जोशीले दुहुँदै गरेको गाईलाई पनि हल्लाउन थाल्यो । जोशीले गाईका थून बेस्कन समाए । हेर्दाहेर्दै हावा हुण्डरीले गाईलाई पनि उडायो । जोशीले गाईको थून छोड्दै छोडेनन्, बेस्कन समाए । स्वतः बाजे पनि गाईसँगै उडे ।
नजिकै उभिइरहेका नाति, नातिना, भाइ भतिजाहरु कोही खुट्टामा झुण्डिए, कोही काँधमा, कोही सुरुवालमा समाएर गाई र बाजेसँगै बैतडीबाट पूर्वतिर उड्न थाले । दूध चुस्दै गरेको बाच्छो पनि सँगै उड्यो । दूध दुहुदै गरेको दुधेरो अहिलेको कर्णाली नदीमा खस्न पुग्यो ।
हावा हुण्डरी रोकिने संकेत थिएन । उड्दै उड्दै उनीहरु नुवाकोट – धादिङ सीमानाको आकाशमा पुगे । एक भाइ त्यहीं झरे । त्यहाँबाट हुत्याएर त्रिशुलीमाथि पुगे, जहाँ दूध चुसिरहेको बाच्छो झ्र्यो, त्यस ठाउँलाई अहिले गजुरी भनिन्छ ।
त्यसपछि गाई र बाजेहरु सिन्धुली, ढुंग्रेबासको आकाशमा देखिए । त्यहाँ जोशीबाजेका एक नाति रुँदारुँदै झरे । इतिहासकार मायानाथ भन्छन्, कृषि मन्त्री हरिबोल गजुरेल तिनै रुन्चे बालकका बंशज हुन् ।
गजुबाजेसँगै उडेका धेरै भाइ भतिजाहरुलाई हुण्डरीले बिभिन्न ठाउँमा झार्दै गयो । कोही सिन्धुपाल्चोकमा, कोही तेह्रथुममा, भोजपुर, तेह्रथुम, पाँचथरका बिभिन्न ठाउँमा आकाशबाट मानिसहरु बर्सिइरहे । पूर्वी पहाडका बासिन्दाहरु त्यो दृश्य अचम्म मान्दै हेरिरहे ।
हप्तौं सम्म चलेको त्यो डरलाग्दो हुण्डरीमा गाई र बाजेपनि थुप्रै दिन आकाशमा उडि रहे । एकदिन तमोर नदीमाथी पुग्दा हुण्डरी कम भयो । त्यहांबाट पाथीभरा मन्दिरलाई एक फन्को मारेपछि उनीहरु कावेली खोलाको तिरैतिर उत्तरतिर बतासिए ।
गाई र बाजे कञ्चनजंगाको टुप्पो ठोकिए, हावाले उनीहरुलाई फर्काइदियो । यस बेलासम्म हावाको निकै गति कम भैसकेको थियो । बिस्तारै बिस्तारै उनीहरु तल झर्दै गए ।
त्यो दिन सम्बत् ८१२ बैशाख शुक्ल पूणिर्माको दिन थियो । अहिले ताप्लेजुंग जिल्लामा पर्ने मामांखे भन्ने ठाउँमा उनीहरु झर्ने प्रयास गर्दै थिए । मामांखेका आदिवासी लिम्बुहरु यो अलौकिक दृष्यलाई अचम्म मान्दै जमीनबाट हेरिरहेका थिए, हेर्दाहेर्दै गाई र बाजे एउटा चौरमा ल्याण्ड गरे ।
गाई चौरमा टक्क अडियो, बाजे पछारिए । गाउँलेहरु वरिपरि जम्मा भए ।
बाजे धुलो टक्टक्याउंदै उठे, गाई डोर्याउंदै हिँड्न खोजे । गाउँलेहरुले लिम्बु भाषामा सोधे, ‘लौ परमेश्वरी दुधको दुध पानीको पानी बताई दिनु पर्यो, तपाईंहरु को हो, यो चमत्कार के हो ?’ बाजेले डोड्यालीमा जवाफ फर्काए, ‘हे परमेश्वरी, यो चमत्कार समत्कार केहीपनि हैन, प्रकृतिको अनौठो लिलामात्र हो । म जोशी गजु हुँ अनि उहाँ गौमाता जुरेली हुनुहुन्छ ।’
भाषाको कारण बाजे र गाउँलेहरुबिच केही छिन् अन्योलको स्थिति आयो । शतप्रतिशत लिम्बु जातिमात्र भएको मामांखेमा पहिलो पटक चुच्चो नाक भएको मान्छे देखिएको थियो । शुरुमा त सबैले गजुबाजेलाई अर्कै ग्रहको प्राणी ठानेर झण्डै झडप र त्रासको स्थिति बन्यो । तर, तुरुन्तै सुरवीर माबो लिम्बुले परिस्थितिलाई सहज बनाए ।
सुरवीरहाङ माबो लिम्बु लिम्बुवानका नामी बिजुवा थिए । उनी तन्त्र विद्याद्वारा संसारभरिका भाषा बोल्न सक्थे । गजुबाजेसँग डोट्यालीमा बात मारे । गजुले सबै बृतान्त सुनाए । सुरविरहाङ्ले गाउँलेहरुलाई उल्था गरिदिए । सबै घटना सुनिसके पनि अचम्मित भएका गाउँलेहरुले गजु र गाईलाई सम्मानपूर्वक आफ्नै गाउँमा राख्ने निर्णय सुनाए ।
तर, गजु बाजे र गाईलाई नयाँ ठाउँमा बस्न पटक्कै मन लागेन, अघि बढ्न खोजे । सुरबीरहाङले आफ्नो ‘मितमन्त्रद्वारा गजुलाई त्यहीं बसौं बसौं लाग्ने बनाए । एउटामात्र जाति भन्दा मिश्रति जातजाति भएको समाज विकसित र विवेकशील हुने भएको ब्रम्हज्ञान प्राप्त गरेका बिजुवाले गजुबाजेलाई मामांखेमै राख्नका लागि उनीसँग मित बोले ।
मित साइनो त्योबेला रगतको भन्दा शक्तिशाली साइनो मानिन्थ्यो । आजकाल गाउँघरमा बस्ने बिभिन्न जातिहरुबीच यही ‘मित साईनो’कै कारण सम्बन्ध सुमधुर बनेको इतिहासकार मायानाथको धारणा छ ।
मित लगाएपछि गजु जोशीले सुरवीरहाङ माबो लिम्बुलाइ आफ्नो एकमात्र सम्पति जुरेली गाई मित सौगात चढाए । मित्रताका लागि ज्यान दिने लिम्बुले गजुलाई आफ्नो सिङ्गै अलैंची बारी उपहार दिए ।
भिन्न जाति र भिन्न भाषा भएका यी दुई ऐतिहासिक पात्रहरुलाई अहिले पनि लिम्बुवानमा मित्रता, सदभाव र एकताको प्रतीकको रुपमा हेरिन्छ । इतिहासकार मायानाथ उपाध्याय भन्छन्, ‘हाम्रा पूर्खा चिन्दा, हाम्रो समाज बुझ्दा, हाम्रो माटो टेक्दा त्यहाँबाट एउटा शक्तिशाली तरङ्ग पैदा हुन्छ, त्यो तरङ्ग हाम्रो शरीर,मन र मष्तिष्कमा प्रभावित भएपछि नै मान्छे सुसंस्कृत र विवेकशिल हुन्छ ।’
यसरी प्रकृतिको चामत्कारिक खेलद्धारा सुदुर पश्चिमको गाँजरी गाउँबाट जुरेली गाईसँगै सुदुर पूर्वको मामाङखे गाउँमा पुगेका गजु जोशी नै कालान्तरमा ‘गजुरेल’ हुन पुगेको ऐतिहासिक कथा ‘अप्रिल फूल’को अवसरमा मनोज गजुरेलद्वारा तयार पारिएको विशुद्ध ‘मनोज-रञ्जनात्मक रचना’ मात्रै हो, किप स्माइलिङ, डन्ट बिलिभ !
ताप्लेजुङको मामांखेका ९० वर्षीय फूलबहादुर माबो लिम्बुमा परेको संस्कृतको प्रभाव (भिडियोमा हेर्नुहोस्)
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment