Thursday, March 31, 2016

राप्रपा नेपालले तत्काल सरकार नछाड्ने

१८ चैत, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सरकारको छ महिना उत्साहजनक नभएको बताएका छन् । तर, तत्काल अहिलेको सरकारको विकल्प खोज्न नहुने उनको निष्कर्ष छ ।

राप्रपा नेपाल थापाकै नेतृत्वमा सरकारमा सहभागी भएको छ । र, थापा उपप्रधान तथा परराष्ट्रमन्त्री छन् ।

वीरगञ्जमा बिहीबारबाट सुरु भएको पार्टी केन्द्रीय समितिको बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै थापाले आमजनताले अनुभूत गर्ने गरी सरकारले ठोस काम गर्न नसकेको बताएका छन् ।

आपूर्ति व्यवस्था सहज हुन नसक्नु, मधेस समस्या समाधानमा उल्लेख्य प्रगति नहुनु चिन्ताको बिषय भन्दै थापाले भनेका छन्, ‘भूकम्प पीडितहरुको पुनर्स्थापना एवं भूकम्प पश्चातको पुनर्निर्माणमा भएको ढिलाई सरकारको अकर्मण्यताको ज्वलन्त नमुना बनेका छन् ।’

‘सरकारको कार्यबाट पूर्ण सन्तुष्ट हुन नसकेता पनि अहिले नै वर्तमान सरकारको विकल्प खोज्नु प्रत्युत्पादक हुने राप्रपा नेपालको ठहर रहेको छ’ केन्द्रीय समितिमा प्रस्तुत थापाको प्रतिवेदनमा भनिएको छ, ‘सरकारमा सजगता सहितको सहभागितालाई राप्रपा नेपालले निरन्तरता दिने छ ।’

यसअघि राप्रपा नेपालका सहअध्यक्ष केशरबहादुर विष्टले प्रेस विज्ञप्ति निकालेर सरकारबाट पार्टी फिर्ता हुनुपर्ने बताएका थिए । पार्टी अध्यक्ष थापामाथि पाँच आरोप लगाएका विष्ट केन्द्रीय समिति बैठकमा सहभागी छैनन् ।

पृथ्वी जयन्ती नमनाइएकोमा खेद व्यक्त

पृथ्वीनारायण शाहको जन्म जयन्तीलाई राष्ट्रिय पर्वका रुपमा मनाउने निर्णय नभएको भन्दै राप्रपा नेपालले खेद व्यक्त गरेको छ ।

प्रशासनिक एवं शैक्षिक क्षेत्रमा व्याप्त पार्टीकरणको प्रवृत्ति यथावत रहेको र केही सत्तारुढ दलले राज्यका विभिन्न अंगहरुमा आफ्नो बर्चस्व स्थापित गर्न खोजेको आभाष भएको थापाको प्रतिवेदनमा उल्लेख छ ।

तर, भारत र चीनसँगको सम्बन्ध सुधारमा भएका प्रयासहरु प्रशंसनीय रहेका राप्रपा नेपालका अध्यक्ष थापाले बताएका छन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment