Thursday, March 31, 2016

कुरिलो, बुद्धचित्त र किवीबारे केही कुरा

राजु पान्डे, क्यालिफोर्निया

अनलाइनखबरमा सुमन पन्तको कुरिलोदेखि एलोभेरासम्म शीर्षकको लेख पढेपछि मलार्इ पनि केही थप कुरा लेख्न मन लाग्यो ।

सन् २००८−९ तिरको कुरा हो, मैले पश्चिम तरार्इको दाङदेखि कन्चनपुरसम्म जडिबुटी उत्पादन हुने क्षेत्रहरूको भ्रमण गरेको थिएँ । कुरिलोको समस्या बारे मैले सुने बुझेका केही कुरा राख्न चाहन्छु ।

१. पश्चिमी तरार्इका क्षेत्रमा लगाइएको कुरिलो फोटोमा देखाइएको जस्तो तरकारी खान प्रयोग हुने कुरिलो होइन । प्रशोधन गरिएको कुरिलोको जरालार्इ आयुर्वेदिक औषधि विज्ञानमा सतावरी भनेर भनिँदो रहेछ । डाबरले त्यही सतावरीका लागि भनेर कुरिलो खेती गराएको रहेछ ।

सतावरी प्रवर्ध्दनमा सरकारी निकाय र गैरसरकारी संघ संस्थाहरू संलग्न भएका रहेछन् । मैले भ्रमण गरेका क्षेत्रमा किसानहरूले सतावरीको खेती सामुदायिक वनमा गरेका थिए । कुरिलो लगाउन जग्गा तयार गर्नदेखि गोडमेल र मलजल गर्न उनीहरूको ठूलो परिमाणमा श्रम खर्च भएको थियो । उनीहरूलार्इ तीन वर्षमा बाली तयार हुने, एकै बोटबाट तीन केजी भन्दा बढी सतावरी फल्ने र त्यसको मुल्य प्रति केजी रू ३०० भन्दा बढी पाइने जस्ता हिसाब देखाएर किसानलार्इ हौस्याइएको रहेछ । करिब एक रोपनी जग्गाबाट झन्डै डेढ लाख रूपैयाँ आम्दानी हुने लोभ देखाइएको रहेछ ।

२. डाबर नेपालले सतावरी खरिद गर्छ भनेर लखनउबाट बीउ ल्यार्इ बेर्ना लगाइएको किसानहरूले बताएका थिए । उनीहरूका अनुसार कुरिलोको हाइब्रिड जातको बीउ लगाएका थिए । किसानहरू माझ सामान्यतया हाइब्रिड भन्ने बित्तकै प्रशस्त फल्ने बाली भनेर बुझ्ने गरेका छन् । तर, त्यहाँ लगाइएको कुरिलो जब बढ्न थाल्यो, कुनै बिरूवा एकदम अग्लो लहराजस्तो भयो भने कुनै सानो र ख्याउटे खालको थियो ।

किसानले गरेको बयानका आधारमा त्यहाँ लगाइएको कुरिलो निस्चित रूपमा हाइब्रिड बीउ थिएन भन्ने एकिन गर्न कुनै कठीनाइ परेन । वैज्ञानिक रूपमा विकाश गरिएका हाइब्रिड जातका बाली भिन्नखाले बंशाणुको संयोग गरार्इ एकनाशले बढ्ने, सँगै पाक्ने जस्ता उत्कृष्ट गुणहरू भएका हुन्छन्, तर त्यहाँ लगाइएको कुरिलोमा अनेक विभिन्नता थियो ।

सम्भावना के थियो भने त्यहाँ लगाइएका कुरिलोका बेर्ना कुनै हाइब्रिड जातको कुरिलोका दानाबाट उत्पादन गरिएका भने हुन सक्दथे। हाइब्रिड जातका बालीमा उत्पादित बीउलार्इ फेरि अर्कोपटक बाली उत्पादनमा प्रयोग गरिएमा तिनीहरूको बंशाणुको वियोग भर्इ अनेक रंग र रूपका विरूवा निस्कन्छन् । त्यहा करिब त्यस्तै भएको थियो ।

३. कुरीलोको जरालार्इ पानीमा पकाएर बाहिरी बोक्रा खुइल्याएर सुकाएपछि बल्ल औषधि बनाउन योग्य सतावरी हुने रहेछ । तीन वर्षको गोडमेलपछि जब उनीहरूले सतावरी खन्न सुरू गरे, जरा त परालको त्यन्द्रा जस्तो मसिनो र लामो भएको पाए । त्यस्तो जरालार्इ पकाएर बोक्रा खुइल्याएर सुकाउँदा धागो जस्तो हुने र ब्यापारीले रू ५० प्रति केजी दिन पनि आनाकानी गरे ।

किसानका अनुसार ५० रूपैयाँ प्रतिकेजीमा बेच्दा जरा खन्न, पानीमा पकाउन, बोक्रा खुइल्याउन र सुकाउन लाग्ने ज्यालासमेत नउठ्ने हिसाब निस्कियो । तीन बर्षको मेहनत माटोमा मिल्यो ।

४. अत्तरिया पुगेपछि त्यहाँको जडिबुटी प्रशोधन केन्द्रमा सतावरीका बारेमा सोधखोज गरें । त्यहाँ स्थानीय अर्थात जंगली कुरिलोको जराबाट बनाएको सतावरी देखाउँदै केन्द्रका प्रबन्धकले कसैले यस्तो, लोकल सतावरी ल्याउँछ भने रू ३०० प्रतिकेजीमा खरिद गर्न सकिने, तर दाङ क्षेत्रमा लगाइएको जस्तो सतावरीलार्इ भने रू ५० दिन पनि कठीनाइ पर्ने बताए ।

५. सरकारी निकाय तथा गैरसरकारी संस्थाका कर्मचारीले हल्लाका भरमा, प्राविधिक कुरो राम्ररी नबुझी जे पायो त्यही प्रचार-प्रसार गर्ने कार्य गर्दा सर्वसाधारण गरिब किसान मर्कामा परेको सत्य हो ।

त्यस्तै, अहिले बुध्दचित्तको एकै बोटबाट लाखौं आमदानी हुने हल्लाका भरमा कसैले बुध्दचित्तको खेती गर्नु अत्यन्त जोखिमपूर्ण छ । यसको बजार अत्यन्त साँघुरो छ ।

त्यस्तै कसैले किवी फल पनि रू २००० प्रति केजीमा बेच्न सकिन्छ भनेर खेती गर्नु भनेको हावा महल बनाउनुजस्तै हो । एक सय रूपैयाँमा स्याउ र सुन्तला बिक्री हुने बजारमा म पनि ५०० के एक सयभन्दा बढी हालेर किवी खान तैयार छैन ।Kiwi,-Final

बढाइ-चढाइ प्रचार गरेजस्तो यो कुनै जादुमय फल होइन । तर, यो खान मिल्ने फल भएकाले किवी फल बुध्दचित्त वा सतावरी जस्तो जोखिमपूर्ण नहुन सक्छ, तर बजारको ब्यवस्था भने बेलैमा गर्नुपर्दछ ।

थोरै फलाएर २००० आश गर्नु भन्दा धेरै फलाएर थोरै मुल्यमा बेच्दा बढी आम्दानी हुन सक्छ ।

६. सुमनजीले भनेजस्तै किसानको पेशा उत्पादन गर्ने नै हो । तर, उनीहरूलार्इ बेलैमा सही प्राविधिक ज्ञान दिनु बाली प्रवर्धकहरूको कर्तब्य हो । सही प्राविधिक ज्ञान नपाएमा उत्पादन नै हुँदैन र मेहनत खेर जान्छ । बस्तु उत्पादन भए पनि बजार भएन भने उत्पादन खेर जान्छ । जसो भए पनि आखिरमा मारमा गरिब किसान पर्ने हुन् । त्यसैले बजार विस्तार र ब्यवस्थापन गर्नेतर्फ बेलैमा सम्बन्धित निकाय नलाग्ने हो भने समस्या निकै जटिल हुन जान्छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment