Thursday, March 31, 2016

काठमाण्डौ । अमेरिकी अर्थतन्त्र सवल भएसँगै फेब्रुअरी महिनामा इतिहासकै महंगो भएको अमेरिकी डलरसँग कमजोर बनेको नेपाली रुपैयाँ मार्चमा भने लगातार मजबुत बन्दै गएको छ । 

फेब्रुअरीमा कमजोर बनेको रुपैयाँले मार्चमा मजबुतीको रफ्तार समातेको हो । फेब्रुअरीमा डलरको भाउले नयाँ उचाईं चुम्दा नेपाली रुपैयाँ इतिहासकै सबैभन्दा धेरै अवमूल्यनको मारमा परेको थियो । नेपालजस्तो अविकसित र विदेशी ऋणको भरमा चल्ने मुलुकमा डलरको मजबुती टाउको दुखाईको विषय हुने गर्छ । आयातमुखी अर्थतन्त्रका कारण समेत डलरको मजबुतीले नेपाली अर्थतन्त्रमा निकै धेरै नकारात्मक असरहरु पुर्याएको थियो ।

फेब्रुअरीको अन्तिम साता नेपाली बजारमा अमेरिकी डलरको भाउ ११० रुपैयाँ २८ पैसासम्म उक्लिएको थियो । तर यो भाउ मार्चमा भने लगातार ओरालो झरिरहेको छ ।

नेपाल राष्ट्रबैंकका अनुसार मार्च १ देखि नै डलरको भाउ घटेर नेपाली रुपैयाँ मजबुत बन्दै आएको हो । मार्च १ मा अमेरिकी डलरको खरीद दर १०९.१७ रु. थियो भने बिक्री दर १०९.७७ रुपैयाँ थियो । मार्च ७ मा आइपुग्दा डलरको भाउ अझ घट्यो । यो दिन एक डलर खरीद गर्दा नेपाली रुपैयाँ १०७.६४ रु. खर्च गर्नुपर्यो । अर्थात, यो दिन डलरको खरीद दर १०७.०४ र बिक्री १०७.६४ रु. कायम भएको थियो । मार्च १५ मा आइपुग्दा डलर थप अवमूल्यन भयो र नेपाली रुपैयाँ थप मजबुत बनेको देखिएको छ । मार्च १५ मा डलरको खरीद दर १०६.९६ रु. र बिक्रीदर १०७.५६ रुपैयाँ कायम भयो ।

त्यसपछि मार्च १६ र १७ मा सामान्य बढेको डलरको भाउ मार्च १८ मा भने पुनः ओरालो लाग्न सुरु भयो । मार्च २२ मा डलरको खरीद मूल्य १०६.०५ रु. र बिक्री दर १०६.६५ रु. कायम भयो । यो भाउ मार्च २३ र २४ मा केही बढेर नयाँ कायम भयो । मार्च २५ देखि भने डलरको भाउमा झिनो अन्तरको गिरावट देखियो । त्यसपछि मार्च २८ सम्म डलरको भाउ स्थिर रह्यो । २५ देखि मार्च २८ सम्म डलरको भाउ १०६.९२ रु. थियो ।

केन्द्रीय बैंकका अनुसार मार्च २९ बाट फेरि दिनहुँ रुपैयाँको तुलनामा डलर अवमूल्यन हुने क्रम जारी छ । मार्च २९ मा खरीद दर र बिक्री दर क्रमशः १०६.२५ र १०६.८५ रुपैयाँ रहेकोमा मार्च ३० मा खरीद तथा बिक्री दर क्रमशः १०६.०८ र १०६.६८ रुपैयाँ कायम भयो । मार्च ३१ अर्थात, बिहीबार विगत केही महिनाको तुलनामा डलरको भाउ सबैभन्दा कम रेकर्ड भयो । बिहीबार प्रति अमेरिकी डलर खरीद मूल्य १०५.८७ र बिक्री मूल्य १०६.४७ रुपैयाँ तोकिएको छ ।

विश्लेषकहरुका अनुसार अमेरिकी अर्थतन्त्र कमजोर बनिरहेको र कच्चा तेलको मूल्यमा सुधार भएका कारण नेपालजस्तो मुलुकहरुको मुद्रा मजबुत बन्दै गएको हो ।

नेपाली मुद्राको भारतीय मुद्रा(भारु)सँग स्थायी बिनिमय दर कायम छ । यसको अर्थ, अमेरिकी डलरको घटबढका कारण भारुमा प्रभाव पर्ने बित्तिकै त्यसको सोझो प्रभाव नेपाली मुद्रामा पर्छ । भारुमा घटबढ भएसँगै नेपाली मुद्रामा प्रभाव परी अर्थतन्त्रमै त्यसको असर पर्नुको कारण नेपालको ७५ प्रतिशतभन्दा बढी आयात भारतप्रति निर्भर रहनु हो ।

यता, अमेरिकी डलरको मूल्य लगातार ओरालो लागिरहँदा आयातमुखी अर्थतन्त्र र वैदेशिक ऋणमा चल्ने नेपालजस्तो मुलुकका लागि केही राहात हुने गर्छ । विदेशबाट आयात हुने सामानको मूल्य केही सस्तो हुन्छ भने सरकारले तिर्नुपर्ने वैदेशिक ऋण तथा ब्याजमा समेत सहुलियत हुन्छ । तर, रेमिटान्समा आधारित अर्थतन्त्र भएका कारण विदेशमा काम गर्ने नेपालीहरुले पठाउने पैसा भने डलरको भाउ घटेसँगै घट्ने गर्छ । नेपालमा आउने रेमिटान्समा समेत केही गिरावट आउनसक्छ ।

यस्तो रह्यो मार्च महिनामा डलरको ओरालो यात्रा :
मिति              खरीद दर(रु.)     बिक्री दर(रु.)
मार्च १            १०९.१७              १०९.७७
मार्च २            १०८.५३              १०९.१३
मार्च ३            १०७.८७              १०८.४७
मार्च ४            १०७.४६              १०८.०६
मार्च ५            १०७.३२              १०७.९२
मार्च ६            १०७.३२              १०७.९२
मार्च ७            १०७.३२              १०७.९२
मार्च ८            १०७.०४              १०७.६४
मार्च ९            १०७.५६              १०८.१६
मार्च १०           १०७.२९              १०७.८९
मार्च ११           १०६.९२              १०७.५२
मार्च १२           १०७.२३              १०७.८३
मार्च १३           १०७.२३              १०७.८३
मार्च १४           १०६.९७              १०७.५७
मार्च १५           १०६.९६              १०७.५६
मार्च १६           १०७.४४              १०८.०४
मार्च १७           १०७.२९              १०७.८९
मार्च १८           १०६.४६              १०७.०६
मार्च १९           १०६.२६              १०६.८६
मार्च २०           १०६.२६              १०६.८६
मार्च २१           १०६.११              १०६.७१
मार्च २२           १०६.०५              १०६.६५
मार्च २३           १०६.४२              १०७.०२
मार्च २४           १०६.५४              १०७.१४
मार्च २५           १०६.३२              १०६.९२
मार्च २६           १०६.३२              १०६.९२
मार्च २७           १०६.३२              १०६.९२
मार्च २८           १०६.३२              १०६.९२
मार्च २९           १०६.२५              १०६.८५
मार्च ३०           १०६.०८              १०६.६८
मार्च ३१           १०५.८७              १०६.४७
स्रोत : नेपाल राष्ट्र बैंक

 

 


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment