Thursday, March 31, 2016

नेपालका सात सय प्रजातिका जडीबुटी औषधिमा प्रयोग

१९ चैत, काठमाडौं । नेपालमा हाल सात सय प्रजातिका जडीबुटी औषधिका रुपमा प्रयोग हुँदै आएका छन् । वनस्पति विभागले सात हजार किसिमका फूल फुल्ने वनस्पतिमध्ये सात सय प्रजातिका वनस्पति जडीबुटी औषधिका रुपमा प्रयोग हुँदै आएको बताएको छ ।

औषधिका रुपमा प्रयोग हुने जडीबुटीमध्ये सबैभन्दा बढी कर्णाली क्षेत्रमा जडीबुटी उत्पादन हुने गरेको र सबैभन्दा कम पश्चिमाञ्चल क्षेत्रमा हुने गरेको छ । कर्णाली क्षेत्रमा हावापानी तथा जलवायु राम्रो र मानवीय चाप कम भएकाले धेरै मात्रामा जडीबुटी उत्पादन हुने गरेको वनस्पति विभागका उपसचिव एवम् वैज्ञानिक अधिकृत दिलबहादुर क्षेत्रीले जानकारी दिए।

उनले भने, “पश्चिमाञ्चलमा पनि धेरै मात्रामा जडीबुटीको सम्भावना छ तर प्रचारप्रसार र बजारको अभावले गर्दा उत्पादन कमी देखिएको हो ।” तराईमा उत्पादन हुने मुख्य जडीबुटीमा मेन्था, केमोमाइल, सिट्रोनेला, कुरिलो, सर्पगन्धा हुन् भने मध्यपहाडी भागमा चिराइतो, रिट्ठा, टिमुर, तेजपात÷दालचिनी, सुगन्धवाल व्यावसायिक रुपमा खेती भएको छ ।

यस्तै, हिमाली क्षेत्रमा भने जटामसी, कुट्की, अतिस, पद्मचाललगायतका रहेका छन् । जडीबुटीमध्ये तेल निस्कने जडीबुटीमा मेन्था, केमोमाइल, सिट्रोनेला, टिमुर, तेजपात हुन् । यीमध्ये जटामसी, पाँचऔँले, कुट्की, निरमसी पाटन (हिमाली घाँसे मैदान) क्षेत्रमा पाइन्छ । नेपालमा उत्पादन हुने जडीबुटीमध्ये अधिकांश छिमेकी मुलुक भारत र चीनमा धेरै निकासी हुने गरेको छ ।

जडीबुटीबाट प्रशोधित सुगन्धित तेल फ्रान्स, जर्मनी, इटालीलगायतका देशमा जाने गरेको विभागले जनाएको छ । विसं २०१६ मा स्थापना भएको विभागले सुरुको समयमा एलोपेथिक औषधिको गुण नियन्त्रण गर्ने कामसमेत गरेको वनस्पति विभागले पछिल्लो समय नेपालका वनस्पतिको अद्यावधिक तथ्याङ्क सङ्कलन, तालिम सञ्चालन, जडीबुटीको खेती विस्तार र संरक्षण गर्दै आएको छ । सबै वनस्पतिमा औषधीय गुण हुने र कुनैमा धेरै र कुनैमा थोरै मात्र हुने गरेको छ ।

अधिकृत क्षेत्री नेपालमा आयुर्वेदिक औषधिका कम्पनीहरु कम भएका कारण नेपालमा उत्पादन हुने जडीबुटीको भरपुर उपयोग हुन नसकेको गुनासो गर्नुहुन्छ । उनी भन्छन्, “जडीबुटीलाई गुणस्तरीय उत्पादन र जनचेतना फैलाउनु आवश्यक छ ।” जडीबुटीबाट प्रशोधित तेलको बिक्री पछिल्लो समय बढेको छ । विदेश लैजाने तेल गुणस्तर छ कि छैन भन्ने हेर्ने प्राकृतिक सम्पदा अनुसन्धान शाखाका प्रमुख ज्योति जोशी भट्टले गत आर्थिक वर्ष २०७१÷७२ मा एक हजार १०० भन्दा बढी गुणस्तर जाँच गरेको जानकारी दिए।

उनले आव २०७०÷७१ मा भन्दा यो ६०० ले बढी भएको बताए। उनले भने, “गुणस्तर परीक्षण गरेकोमध्ये ९५ प्रतिशत विदेश निकासी हुँदै आएको छ ।” उत्पादन भएका जडीबुटीमध्ये १०० देखि १५० प्रजातिका जडीबुटी विदेश निकासी हुँदै आएका छन् । नेपालमा अवैध जडीबुटी कारोबार गर्नेलाई जडीबुटी जफत र आवश्यकताअनुसारको दण्ड सजाय गर्ने प्रावधान रहेको छ । विभागले हाल इलाम, धनुषा, मकवानपुर, सल्यान, बाँके, जुम्ला र कैलाली जिल्ला वनस्पति कार्यालयमार्फत जडीबुटीको अध्ययन, अनुसन्धान र विस्तार गर्दै आएको छ ।

विभागका महानिर्देशक रामदेवप्रसाद यादवकाअनुसार आगामी वर्ष विभागले १६ वटा क्षेत्र बनाएर व्यक्तिगत तथा सामुदायिक क्षेत्रमा जडीबुटी खेती विस्तार गर्नका लागि प्रस्ताव मन्त्रालयमा पठाएको छ। उनले भने , “गत आर्थिक वर्षमा ‘एक नगर अनेक उद्यान’ कार्यक्रम विराटनगर, विदुर, पोखरा, भक्तपुरलगायत १० नगरपालिकामा सञ्चालन ग¥यौँ, आगामी वर्ष जडीबुटी उत्पादन कार्यक्रमलाई प्राथमिकता दिन्छौँ ।”

वन विभागले दिएको तथ्याङ्कअनुसार नेपालमा हाल वार्षिक चार हजार ८३५ मेट्रिक टन जडीबुटी उत्पादन हुँदै आएको छ । यस्तै, विभागले सतुवा, लौठसल्ला, अतिसलगायत ३० प्रजातिका जडीबुटीलाई अध्ययन, अनुसन्धान र खेती विस्तार गराउँदै आएको छ । रासस


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment