४ चैत, मोरङ । होक्लाबारी गाविस–२ की एक महिलालाई बोक्सीको आरोपमा कुटपिट तथा दुव्र्यवहार गर्ने आरोपितलाई जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिँदा आफूले न्याय नपाएको गुनासो पीडितले गरेकी छिन् ।
जिल्ला अदालतका न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीको इजलासमा भएको थुनछेक बहसका क्रममा आरोपितहरुसँग जनही २७ हजार रुपैयाँ धरौटी बुझाएर छोड्ने आदेश भएको थियो ।
आरोपित चारै जनाले आदेश अनुसारको रकम बुझाएर मङ्गलबार रिहा भएका जनाइएको छ ।
गत फागुन ६ गते होक्लाबारी गाविस–२ की २७ वर्षीया यशोदा डोटेल भण्डारीलाई उनका पति ३२ वर्षीय रोशन भण्डारी, ससुरा ५५ वर्षीय छत्रबहादुर भण्डारी, नन्द २५ वर्षीया मन्दिका भण्डारी र धामिनी सुनसरी जिल्ला इटहरी उमनपा–७ की ३८ वर्षीया जानुका कोइरालाले बोक्सीको आरोप लगाउँदै दुव्र्यवहार गरी मलमूत्र खुवाउने प्रयास गरेका थिए ।
पीडितले इलाका प्रहरी कार्यालय रङ्गेलीमा फागुन ९ गते उजुरी दिनुभएको थियो भने उजुरीका आधारमा फागुन १० गते पति, ससुरा, नन्द र धामिनीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
अदालतबाट आरोपितहरु छुटेपछि पीडितले आफूजस्ता कमजोर महिलालाई अदालतले समेत न्याय दिन नसकेको गुनासो गरेकी हुन् । विवाह भएपछि परिवारका सदस्यहरुले आफूलाई अस्वीकार गरी पीडा दिँदै आएको उनको भनाइ छ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment