३ चैत, काठमाडौं । एसएलसीबारे कोही नेपाली अनभिज्ञ नहोला । तर, टी-एसएलसीका विषयमा कमैलाई थाहा होला ।
व्यावसायिक शिक्षाको अभावमा डिग्री पास गरेका युवा पनि जागिरको खोजीमा सडकमा भौँतारिन बाध्य छन् । तर, उच्च शिक्षा लिएकै भरमा रोजगारी पाइने कुराको कुनै ग्यारेन्टी देशमा छैन । यही अवस्थाको विकल्प हो, टी-एसएलसी, जसलाई प्राविधिक विषयमा प्रवीणता भनेर बुझ्न सकिन्छ ।
व्यावसायिक तालिम परिषद् (सीटीइभीटी) बाट वाषिर्क २४ देखि २८ हजार विद्यार्थीले टी-एसएलसी दिन सक्छन् । त्यसअनुसार सिट क्षमता र पूर्वाधार तयार छ । तर, यो कोटा पुग्ने गरी पनि विद्यार्थी आउँदैनन् । यस वर्ष मुस्किलले २२ हजार विद्यार्थी टी-एसलसीमा सामेल हुँदै छन् ।
परिषद्को सूचना तथा अनुसन्धान महाशाखाका प्राविधिक अधिकृत संगम गौतमका अनुसार टी-एलएलसीका लागि तोकिएका झन्डै ६ हजार सिटमा विद्यार्थी भर्ना भएका छैनन् ।
‘प्राविधिक एसएलसीमा हाम्रो क्षमताअनुसार पनि विद्यार्थी भर्ना हुन सकेका छैनन्,’ उनले भने, ‘प्राविधिक शिक्षालाई दुर्गम क्षेत्रमा केन्दि्रत गर्दा पनि यस्तो भएको हो । अहिले सहरी क्षेत्रमा प्राविधिक एसएलसीप्रति चासो बढेको छ ।’
गौतमले भनेजस्तै अहिले अधिकांश विद्यार्थीलाई प्राविधिक एसएलसीबारे जानकारी नै छैन । अभिभावकले पनि टी-एसएलसीलाई खासै चासो दिएका छैनन् ।
के हो प्राविधिक एसएलसी ?
विद्यार्थीलाई स्वरोजगार र आत्मनिर्भर गराउन सहयोग गर्ने प्राविधिक शैक्षिक योग्यता हो, टी-एसएलसी । अहिले प्राविधिक एएसलसी दुई तवरमा सञ्चालित छन् । अप्राविधिक एसएलसी परीक्षा उत्तीर्ण गरेका र नगरेका दुवै खालका विद्यार्थी यसमा भर्ना हुन पाउँछन् ।
यो शैक्षिक योग्यता प्राप्त गर्न १५ र २९ महिने टी-एसएलसी पास गर्नुपर्छ । १५ महिने टी-एसएलसीका लागि अप्राविधिकतर्फ एसएलसी गरेको हुनुपर्छ भने २९ महिनेका लागि दश पास गरेकाले पनि अवसर पाउँछन् । यसमा ८० प्रतिशत प्रयोगात्मक र २० प्रतिशत सैद्धान्तिक विषय समेटिएको हुन्छ । टीएसएलसी उत्तीर्ण विद्यार्थीले ३ वर्षको प्रमाणपत्र तह अध्ययन गर्न पाउँछन् । यसका लागि टीएसएलसी परीक्षामा ६८.३३ अंक ल्याउनुपर्छ ।
जुम्लाबाट सुरु
नेपालमा पहिलोपटक २०३७ सालमा कणर्ाली प्राविधिक शिक्षालय जुम्लाबाट एसएलसी उत्तीर्ण नभएकालाई संलग्न गराएर प्राविधिक एसएलसीको सुरुवात गरिएको थियो । २०४५ सालमा सीटीइभीटीको स्थापना भएपछि सातवटा संस्थाबाट प्राविधिक शिक्षा अध्ययन गराउन थालियो । तर, यतिका वर्षका बीचमा पनि पुरानो शैक्षिक प्रणालीलाई यसले सामान्य धक्का पनि दिन सकेको छैन ।
टी-एसएलसीका विषय
सीटीइभीटीअन्तर्गत आंगिक र निजी गरी देशभर ६ सय २१ संस्थामा टी-एसएलसी कक्षा सञ्चालन भइरहेका छन् । प्राविधिक एसएलसी तहमा स्वास्थ्य, इन्जिनियरिङ, कृषि, कार्यालय व्यवस्थापन, विकास तथा व्यवस्थापनलगायत विषय पढाइ हुन्छ ।
इन्जिनियरिङअन्तर्गत इलेक्टि्रकल, सर्भे, सिभिल, जुनियर कम्प्युटर टेक्निसियन, अटोमोबाइल, रेफ्रिजेरेटर एन्ड एसी, स्यानिटरी, इलेक्ट्रोनिक्स विषय छन् । यी विषयहरुमा भने विद्यार्थीको सिट कहिल्यै खाली भएको छैन । इन्जिनियरिङतर्फ प्रतिवर्ष झन्डै ५ हजार भन्दा बढी विद्यार्थी भर्ना गर्न सक्ने क्षमता छ ।
इन्जिनियरिङमा चासो बढ्दै गर्दा आफ्नो सिट सुरक्षित गर्न प्रवेश परीक्षामा ठूलो संख्यामा विद्यार्थीहरु सामेल हुने गरेको अधिकृत गौतमले बताए । यस्तै सीटीइभीटीले प्राविधिक एसएलसीका लागि स्वास्थ्यतर्फ ९ हजारभन्दा विद्यार्थी भर्ना लिने गरेको छ । स्वास्थ्यअन्तर्गत सीएमए, अनमी, ल्याब असिस्टेन्ट, एएएम, आम्ची, आयुर्वेद, मेडिसिन असिस्टेन्टलगायत विषय अध्यापन हुन्छ ।
स्वाथ्यमा पनि इन्जिनियरिङमा जस्तै धेरै विद्यार्थी आकर्षित छन् । तर, सीमित सिटका कारण प्रवेश परीक्षा दिएका सबैले अवसर पाउँदैनन् । त्यस्तै, कृषिअन्तर्गत पशु जेटी, जेटीए प्लान्ट साइन्स, पशु स्वास्थ्य र टेक्सटाइल एन्ड सेरिकल्चर पढाइ हुन्छ । यसमा पनि विद्यार्थीको आकर्षण सामान्य छ । सामाजिक परिचालन, सेक्रटियल म्यानेजमेन्ट, उद्यमशीलता विकास, कलिनरी आर्ट, कार्यालय व्यवस्थापन, होटल व्यवस्थापन लगायतका विषयमा पनि टीएसएलसी दिन पाइन्छ ।
सीटीइभीटीले आंगिकमा मात्र नभएर निजी क्षेत्रबाट सञ्चालन भएका संस्थाहरुलाई प्राविधिक एसएलसीको कक्षा सञ्चालन गर्ने अनुमति दिएको छ ।
रोजगारीको सम्भावना
टी-एसएलसी उत्तीर्ण विद्यार्थीलाई स्वरोजगार बन्न खासै समस्या हुँदैन । थोरै लगानीमा पनि विभिन्न व्यवसाय सञ्चालन गर्न र रोजगारीकै लागि पनि अवसरहरु यसले सिर्जना गर्छ ।
एसएलसी दिएकाहरुले १५ महिना टीएसएलसीमा कस्सिने हो भने स्वरोजगार बन्न समय नलाग्ने सीटीइभीटीको दावी छ । यही सीपका आधारमा विदेशमा गएर पनि राम्रै कमाइ गर्न सकिन्छ ।
सीटीइभीटीबाट प्राविधिक एसएलसी उत्तीर्ण विद्यार्थी सरकारी सेवामा राजपत्र अनंकित दोस्रो श्रेणी तथा प्राविधिक सेवाको रोजगारीका लागि योग्य हुन्छन् ।
प्राविधिक एसएलसीपछिको ३ वर्षे प्रमाणपत्र तह अध्ययन गरेमा सरकारी सेवामा राजपत्र अनंकित पहिलो श्रेणीमा प्राविधिक सुब्बा वा सो सरहको रोजगारी पाउन सकिन्छ । यस्ता प्राविधिक पदमा लड्नेको संख्या पनि न्यून हुन्छ । त्यसैकारण जागिर नै पाउने विषय प्राविधिक शिक्षा पढेकाका लागि ठूलो नहुने अधिकृत गौमत बताउँछन् ।
प्राविधिक एसएलसी अध्ययन गरी ३ वर्षको डिप्लोमाका विविध कोर्स पूरा गरेका विद्यार्थीले त्रिभुवन विश्वविद्यालयको प्रमाणपत्रसरहको मान्यता पाउछन् । प्राविधिक विषय अध्ययन गरेका विद्यार्थीले अन्य शैक्षिक संस्थामा गएर माथिल्लो तहको अध्ययनलाई निरन्तरता दिन पनि सक्छन् ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment