काठमाडौं । विभिन्न राजनीतिक दलका नेताले दशवर्षअघि आएको लोकतन्त्र संकटको घेरामा रहेको बताएका छन् ।
नेपाली कांग्रेसका नेता रमेश लेखकले जनआन्दोलन–२ का मुद्दाहरु सम्बोधन भएपनि कार्यान्वयन गर्न कठिन र चूनौती रहेकाले त्यतातर्फ ध्यान नदिइए मुलुकको राजनीतिक व्यवस्था नै संकटमा पर्ने बताए ।
शनिबार रिपोर्टर्स क्लब नेपालले जनआन्दोलन–२ को एक दशक पुगेको अवसरमा आयोजना गरेको साक्षात्कारमा नेता लेखकले जनआन्दोलन–२ पूरा भएको एक दशक वित्दा यो अवधिमा मुलुकले ठूल–ठूला उपलब्धि हासिल गरेको उल्लेख गर्दै अब मुलुकलाई आर्थिक क्रान्तिको बाटोमा डार्याउनेतर्फमा सबैजना लाग्नुपर्ने बताए ।
लेखकले भने, ‘‘संविधान जारी भएपछि मुलुकमा सङ्घीयता, समावेशी चरित्रको समाज निर्माण गर्ने कुराको व्यवस्था भयो तर यसलाई कार्यान्वयन गर्न बाँकी छ, त्यतातर्फ ध्यान दिनुपर्छ ।’’
संविधान सर्वस्वीकार्य हुन नसकेपनि यसको पूर्ण कार्यान्वयनको सुनिश्चितता, आर्थिक क्रान्तिको आधार तय गर्ने लगायतका विषयमा गम्भीर भए जनआन्दोलन लगायत विभिन्न कालखण्डमा भएगरिएका आन्दोलनबाट प्राप्त अधिकारको सुनिश्चितता हुनसक्ने नत्र राजनीतिक पद्धतीमै प्रश्नचिन्ह् खडा हुनेतर्फसमेत नेता लेखकले ध्यानाकार्षण गराए ।
नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले ०६२/६३ जनआन्दोलन पूरा भएको १० वर्ष पुग्दा यो अवधिमा मुलुकमा थुप्रै उपलब्धि हाँसिल भएको उल्लेख गर्दै प्राप्त उपलब्धि संस्थागत गर्ने कुरामा सम्पूर्ण राजनीतिक दल, नागरिक समाज एवम् बुद्धिजीवीहरु समेत सचेत हुनुपर्नेमा जोड दिइन् ।
उनले भनिन्,“यो १० वर्षको अवधिमा मुलुक हिंसात्मक युद्धबाट शान्ति प्रक्रियामा होमिएको छ, समाज विकासमा ठूलो परिवर्तन भएको छ, संविधान बनेको छ, त्यसैले आर्थिक उन्नतीको बाटोमा अघि बढ्न सबै लाग्नुपर्छ ।”
सर्वस्वीकार्य संविधान बन्न नसके पनि संविधान संशोधनीय भएको बताउँदै उनले भनिन्, ‘‘९१ प्रतिशत जनताको प्रतिनिधित्वबाट अनुमोदन भएको संविधानमा कसैको चित्त नबुझ्नु स्वभाविक हो, तर यही संविधानलाई लिएर नाकाबन्दी लाद्नु र यसलाई अनेक नामका राजनीतिक रंगहरु दिने काम समेत भए ।’’
नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झाले जनआन्दोलन–२ पूर्ण लोकतन्त्रको लागि गरिएको उल्लेख गर्दै सबैको साझा संविधान र सर्वस्वीकार्य नबनेसम्म अर्को आन्दोलन भैरहने स्पष्ट पारे ।
नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले लोकतन्त्र दिवसलाई सम्झिने दिनको रुपमा मात्रै लिनुपर्ने बताउँदै उत्सव मनाउने दिनको रुपमा लिन नहुने स्पष्ट पारे ।
जनआन्दोलनका घाइतेहरुको स्वास्थ्यउपचार कटौति गरिएकोबारे आपत्ति जनाउर्द उनले भने, “यो अन्याय माथि महाअन्याय हो, यदि यस्तो निर्णय गरिएको हो भने ओलीजीले तुरुन्त राजिनामा दिनुपर्छ ।”
जनआन्दोलन घाइते समाजका अध्यक्ष मेघराज आचार्यले जनआन्दोलनमा आफूहरुले ज्यानको प्रवाह नै नगरी योगदान पुर्याए पनि सरकारले आफूहरुलाई पाउँदै आएको स्वास्थ्यसेवा समेत बन्द गराए उपहार दिएको टिप्पणी गरे ।
आचार्यले भने, “जनआन्दोलन पूरा भएको आज १० वर्ष पूरा भयो तर सरकारले हामीलाई पाउँदै गरेको सेवासुविधा समेत बन्द गरिदिएको छ, खासगरी स्वास्थ्यमन्त्रीले हामीलाई उपचारमा रोक लगाउने काम गरेका छन्, हामी निकै दुःखी छौं ।”
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment