ङ्जा, ११ वैशाख । पिउने र सिँचाइका लागि आवश्यक पानीको अभावमा देशका विभिन्न ग्रामीण भेगका जनता बसाइँसराइ गरिरहेको बेला स्याङ्जा जगतभन्ज्याङ–२ आरुपाटाका बासिन्दाले भने निर्धक्कसँग पानीको उपयोग गर्न थालेका छन् ।
हिजो पानीको अभावले गाउँबाट बसाइँ सरेका पनि अब गाउँ फर्किने सोचमा छन् । ‘‘जीवनका लागि आधारभूत पानीको असुविधा भएपछि आफ्नो थातथलो छाडेर यहाँँका ६÷७ घरपरिवार अन्यत्रै बसाइँ सरेकामा अहिले उनीहरू पनि गाउँमा फर्किन चाहेका छन्’’ स्थानीय चूडामणि गुरुङ बताउनुहुन्छ ।
पाँच वर्षअघिसम्म राति ३ बजे नै गाउँभन्दा एक घन्टा टाढा रहेको मुहानमा पानी भर्न जानुपर्ने र एक बिहानमा पालो पर्खेर दुई गाग्री पानी भर्न मुस्किल हुने गरेको कठिन अवस्थाबाट अहिले घरघरमा धारामा चौबिसैँ घन्टा कलल बग्ने पानीले उनीहरूको जीवनस्तरमा ठूलै परिवर्तन आएको छ ।
वर्षांैदेखि गाउँमा पानीको समस्या रहेकाले समाधानका लागि गाउँलेले सरकारी निकायमा थुप्रैपटक गुहारे । ‘‘निर्वाचनका बेला राजनीतिक पार्टीले पानीको व्यवस्था मिलाइदिने भन्दै आश्वासन पनि दिए तर कसैले हाम्रो माग सुनेन्’’ स्थानीय समाजसेवी एवम् आरुपाटा खानेपानी तथा सिँचाइ उपभोक्ता समितिका अध्यक्ष महेश गुरुङले भन्नुभयो ।
विसं २०६७ मा आइडिइ नामक गैरसरकारी संस्थाले यहाँ सौर्य पम्पबाट गाउँ तलको नाम्के खोलाबाट पानी तानेर खानेपानीको सुविधा प्रदान गरेको थियो । यस आयोजनाले खानेपानीको जेनतेन समस्या त समाधान भयो तर करेसाबारीमा तरकारी खेती गर्न र पशुपालनका लागि चाहिने पानी अपर्याप्त रहेको अवस्थामा अहिले विनरक इन्टरनेसनल संस्थाले आर्थिक तथा प्राविधिक सहयोगमा थप सौर्य पाता जडान गरेपछि खानेपानी तथा सिँचाइ सुविधा प्राप्त भएको अध्यक्ष गुरुङ बताउनुहुन्छ ।
कुल रु चार लाख ५० हजारको लागतमा थप गरिएको सो आयोजनामा विनरकले रु एक लाख अनुदान दिएको थियो भने बाँकी रकम गाउँलेले सहकारीबाट ऋण लिएर जुटाएका हुन् । जसमध्ये रु डेढ लाख त चुक्ता पनि गरिसकेको अध्यक्ष गुरुङले बताउनुभयो । ५० घरधुरी रहेको सो गाउँका सबैले पानी उपयोग गरेबापत मासिक रु १०० महसुल बुझाउने गर्दछन् ।
गाउँमा विद्युत् सुविधा पुगे पनि कम क्षमताको प्रसारण लाइन भएकाले पम्प चलाउन नसकिने र डिजेल पम्प निकै खर्चिलो हुने हुँदा सौर्य पम्पले निकै सुविस्ता भएको गाउँले बताउँछन् ।
अधिकांश गुरुङ र मगर समुदायको ब्सोबस रहेको यस गाउँमा खेती किसानी नै मुख्य जीविकोपार्जनको माध्यम रहेको छ । अधिकांश युवा वैदेशिक रोजगारीमा गएकाले गाउँमा महिला, केटाकेटी र वृद्धवृद्धाको सङ्ख्या अधिक छ ।
गाउँमा पानीको सुविधा भएपछि विकासका अन्य क्रियाकलाप पनि बढ्न थालेका छन् र आयआर्जनका गतिविधिले गाउँलेको जीवनस्तरमा छोटो समयमै राम्रो सुधार आएको प्रष्टै देखिन्छ । घरघरमा मौरीपालन, बाख्रापालन, कुखुरापालन, कफी खेती, बेमौसमी तरकारीखेतीबाट धेरैले राम्रो आम्दानी गर्न थालेका छन् । यहँँको कफी विश्व बजारमा लोकप्रिय भएकाले गाउँ नजिकैको देउराली सामुदायिक वन क्षेत्रमा कफीको बिरुवा रोपेर व्यावसायिक खेती गर्न थालिएको छ ।
गाउँमा आउने पर्यटकको सुविधाका लागि अहिले देउराली सामुदायिक होमस्टे (घरबास) सञ्चालन गरिएको छ । गाउँको बीचमा रहेको सामुदायिक भवनमा पर्यटकको स्वागत गरी सांस्कृतिक कार्यक्रमका साथ भोजन गराई घरघरमा लगेर बसाउने व्यवस्था मिलाइएको होमस्टेकी सचिव चन्द्रकुमारी गुरुङ बताउनुहुन्छ । सिँचाइ सुविधाले पर्यटकलाई स्थानीय परिकार र अर्गानिक खाद्यान्न खुवाउन सकिएको उहाँको कथन छ ।
पहिले त सोलारबाट पानी तानेर यरी घरघरमा पानीको सुविधा पुग्ला भनेर कल्पनासमेत नगरेको छलिकुमारी राना बताउनुहुन्छ । देउराली महिला कृषि सहकारी संस्थाकी सचिव समेत रहेकी उहाँ यसले खासगरी महिला र बालबालिकालाई निकै सुविधा पुगेको र महिलामा उद्यमशीलताको भावना जागृत भएकोमा खुसी व्यक्त गर्नुहुन्छ ।
घरमै धारा आएपछि पहिलेजस्तो पानी भर्न लाग्ने घन्टौँ समय अब घरधन्दा गर्न तथा तरकारी खेती र पशुपालनमा लगाउन थालेपछि आम्दानीको स्रोतसमेत बढ्न गएको आमा समूहकी अध्यक्ष हिमकुमारी गुरुङ बताउनुहुनछ ।
पहिले दुई÷चार सय रुपैयाँको जरुरत पर्दा पनि साहुकहाँ ऋण लिन जानुपर्ने बाध्यता नरहेको बताउँदै उहाँँ भन्नुहुन्छ, ‘‘अहिले घरव्यवहार चलाउन, छोराछोरीलाई पढाउन र बिरामी हुँदा औषधि गर्न कुनै समस्या छैन ।’’
स्थानीय स्रोत साधनलाई आधुनिक प्रविधि उपलब्ध गर्न गाउँलेलाई ज्ञान, सीप प्रदान गर्न सकियो भने आफ्नो गाउँको विकास र जीविकोपार्जनको बाटो गाउँले आफैँ खोज्न सक्षम हुन्छन् भन्ने उदाहरण आरुपाटावासीले दिएको विनरक इन्टरनेसनलकी सोलार पम्पिङ परियोजनाका प्रबन्धक रेशा पिया बताउनुहुन्छ । खानेपानी र सिँचाइका ठूला आयोजनामा मात्र ध्यान दिनुभन्दा ससाना आयोजनामा जोड दिनसके पानीजस्तो आधारभूत सुविधाबाट कोही पनि वञ्चित रहनु नपर्ने उहाँको कथन छ । रासस
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment