Saturday, April 23, 2016

महाभूकम्पको एक वर्ष, नेपाली सेनाको अविस्मरणीय योगदान

नेपाल राष्ट्रको एकीकरणदेखि लिएर आजसम्मको इतिहासमा नेपाली सेनाले जनताको उद्धार र हितका लागि गरेका थुप्रै कामहरु सम्झन लायक छन् । कैयन् जिल्लामा विकट ढुंगे पहाडहरु फुटाएर सेनाले बाटो बनाएको छ भने कर्णाली राजमार्ग जस्ता धेरै सडकमा सेनाकै योगदान पाइन्छ । गत वर्ष वैशाख १२ गते आएको विनासकारी भूकम्पको बेला सेनाले गरेको अथक परिश्रम, उद्धार र अनुपम योगदान हामी कदापि विर्सन सक्दैनौ, विर्सन पनि हुँदैन । 
गत वर्ष वैशाख १२ गते आएको ७.८ रेक्टर स्केलको भूकम्पले १४ जिल्लालाई प्रभावित पारेको थियो भने वैशाख २९ गते दोलखा केन्द्रविन्दु भएर आएको  ६.८ रेक्टर स्केलको भूकम्पले पनि ठूलो क्षति गरेको थियो । भूकम्पका कारण धेरै सडकमा यातायात अवरुद्ध भएपनि सञ्चार सम्वन्ध विच्छेद हुँदा काम गर्न निकै कठिनाई भएको थियो । स्रोत साधन सीमित र थोरै जनशक्ति भएपनि नेपाली सेनाले घाइतेको उद्दार र उपकारमा देखाएको चासो र सक्रियता सबैका लागि प्रशंसाको विषय बन्न पुग्यो ।
भूकम्पमा ८ हजार ९ सय ५२ जनाले ज्यान गुमाए । त्यस्तै २२ हजार ३०२ जना घाइते भए । १४ जिल्ला अति प्रभावित भए भने १७ जिल्लामा सामान्य प्रभाव र ३५ जिल्लामा थोरै प्रभाव देखियो । भूकम्पका क्रममा नेपाली सेनाका १२ जनाको मृत्यु र ९९ जना घाइते भएका थिए । त्यस्तै १० जना वेपत्ता भए । भूकम्प गएको एक घण्टा नवित्दै युद्धस्तरमा सेना तैनाथ गरिएको थियो । जिल्लाजिल्लामा हेलिकोप्टर पठाएर घाइतेलाई अस्पतालसम्म पु¥याउने र मृतकका शव खोज्ने काममा नेपाली सेनाका जवानहरु सक्रिय भए । ‘अपरेशन संकट मोचन’ नाम दिइएको सो उद्धार कार्यमा ६६ हजार भन्दा बढी फौजलाई परिचालन गरिएको थियो ।
अत्यन्त विकट परिस्थितिमा उद्दार, राहत र अस्थायी टहरा बनाएर मानिसहरुलाई व्यवस्थित गर्ने काम सहज थिएन । तैपनि आफू भोको र प्यासी भएर पनि सेना उद्दारमा जुटि रह्यो । सञ्चारमाध्यमहरुले नेपाली सेनाका ती सम्पूर्ण गतिविधिहरुको खुलेर प्रशंसा गरे । राष्ट्र र जनतालाई संकट पर्दा सेना कसरी सक्रिय हुन्छ भन्ने कुराको यो एउटा राम्रो उदाहरण थियो ।नेपाल र नेपालीलाई संकट पर्दा शुभेच्छुक राष्ट्रहरुले पनि हृदय खोलेर सहयोग गरे । १८ देशका सैनिकहरु उद्दार कार्यमा संलग्न हुन नेपाल आइपुगे । त्यसबेला ती सबैको संयोजन नेपाली सेनाले गरेको थियो ।
१८ देशका ४३१६ जना सैनिकले विभिन्न जिल्लामा उद्दार कार्यमा योगदान गरे । यस क्रममा नेपाली सेनाले १९ जनालाई जिवितै उद्दार गरेको थियो । भने १३४ जनाको शव निकाल्न सफल भएको थियो । त्यस क्रममा सेनाले आफ्नो चिकित्सकहरु पठाएर भूकम्प पीडित २२ हजार ५ सय ८३ जनाको उपचार गरेको थियो । त्यसक्रममा १ हजार ४ सय ८८ जनाको शल्यक्रिया गरेको थियो ।भूकम्पबाट प्रभावित जिल्लाहरुमा वहालवाला र भूतपूर्व सैनिकका परिवार समेत प्रभावित भएका थिए । वहालवाला र भूतपूर्व गरी ५१ हजार ५ सय २३ जनालाई सेनाले आर्थिक र जिन्सी सहायता गरेको पाइन्छ । यसका लागि २ अर्व ४९ करोड, ५ लाख ५७ हजार रुपैयाँ खर्च गरिएको थियो । प्रधानमन्त्री राहत कोषमा सेनाले छुट्टै २४ करोड २५ लाख रुपैयाँ सहायता गरेको थियो ।
विभिन्न जिल्लामा भूकम्प वाहेक बाढी, पहिरो, भूक्षय लगायतका विपत्तिका बेला नेपाली सेनाले २०७२ सालमा विभिन्न ठाउँमा उद्धार तथा सहायता गरेको पाइन्छ । २०७२ साल जेठ १० गते म्याग्दी जिल्लाको राम्चे काफल डाँडामा कालीगण्डकी नदी थुनिएर स्थानीय जनता भयभीत भएका बेला सेनाले नै पहिरो खुलाएर नदीलाई निकास दिएको थियो । त्यतिबेला २÷४ दिन मात्र ढिलो भएको भए नदीले विकराल रुप लिएर वरिपरिका धेरै गाउँहरुको विनास हुने थियो । ताप्लेजुङको लिवाङ्ग, थिङ्गलावु, लिङ्गतेप र खोक्लिङ्गमा २०७२ जेठ २७ गते अविरल वर्षाले ठूलो पहिरो जाँदा स्थानीय जनताको उद्धारमा नेपाली सेनाले देखाएको तदारुकता सह्रानीय छ । सोही दिन संखुवासभामा पनि वाढी पहिरोबाट पीडित धेरैको उद्दार गरेको थियो ।
भूकम्पका बेला रसुवामा गएको हिउ पहिरोमा परि धेरै मानिस हराउने क्रममा नेपाली सेनाका १० जना वेपत्ता भए । उनीहरु त्यहाँ उद्दारका लागि खटिएका थिए । स्याफ्रुवेसी–लाङ्गटाङ्ग वीचको ३० किलोमिटर पैदल मार्गको पहिरो हटाएर  निर्माण र मर्मत गर्दै नेपाली सेनाले उल्लेखनीय काम गरेको थियो । तसर्थ भूकम्प गएको एक वर्षको चर्चा गर्दा नेपाली सेनाले गरेका यस्ता सत्कार्यहरुलाई विर्सनु ठूलो भूल हुनेछ ।
सहज अवस्थामा होस वा विषम परिस्थितिमा, राष्ट्रको सुरक्षा, वन र वन्यजन्तुको रक्षा तथा विकास निर्माणको काममा सेनाले गरेको योगदानको सवैले प्रशंसा गर्ने गर्छन् ।
सञ्चारमाध्यमहरुबाट समेत त्यस्ता कामको सह्राना गर्दा सेनाको मनोवल उठ्ने हुनाले उदारतापूर्वक सञ्चारमाध्यमहरुले पनि सेनाप्रति सकारात्मक धारणा राख्नु जरुरी देखिएको छ । नकारात्मक कुराको मात्र प्रचार गर्ने प्रवृत्तिले असल काम गर्नेहरुलाई दुरुत्साहित बनाउँछ भने राम्रा कुराको समर्थन र प्रशंसा गर्दा सकारात्मक सोचको विकास र उनीहरुलाई हौसला मिल्छ, त्यसकारण असल काम गर्नेलाई हौसला दिन सञ्चारमाध्यमहरुले कञ्जुस्याइ गर्नु हुँदैन ।

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment