भूकम्पपछि क्यामेरा लिएर भत्केका संरचनाको फोटो खिचेरै पहिलो दिन बित्यो । साँझ घर फर्किदै थिएँ । भक्तपुरको ब्यासी पुगेपछि भत्केको घरभित्र चार महिने बालक च्यापिएको खबर सुनेँ ।
७ दशमलब ८ रेक्टर स्केलको भूकम्पपछि केही घण्टाको फरकमा पराकम्पनहरु गइरहेका थिए । जसका कारण मानिसहरुमा भूकम्पको त्रास धेरै थियो । बालक च्यापिएको भग्नावशेषबाट उद्धार गर्न नेपाली सेनाको टोली पुगिसकेको रहेछ । भग्नावशेषभित्र चार महिनाको शिशु रहेको सुनेपछि कौतुहलता बढेर आयो । शिशु घरको खण्डहरभित्र रोएको आवाज सुनिएको स्थानीयले बताए ।
यो सुनेर मन भरिएर आयो । मैले आफू कार्यरत संस्थाका सम्पादकलाई टेलिफोन गरें र बालकको उद्धार हुँदै गरेको बताएँ । सम्पादकले मलाई फ्लो गर्ने भनें । सेनाले भग्नावशेष हटाउँदै गर्दा पानी पर्न थाल्यो । शिशु रोएको पनि सुनिन छाड्यो । नेपाली सेनाले उद्धार अगाडि बढाउन सकेन । र भोलिपल्ट आउँने भन्दै १२ गते राति ११ बजे सैनिक टोली ब्यारेक फर्कियो ।
१३ गते बिहान पाँच बजे नै म त्यहाँ फेरि पुगेँ । अघिल्लो दिन झैं भग्नावशेष अगाडि धेरै मानिसहरु जम्मा भएका थिएनन् । शिशुका बाबुआमा र आफन्तहरु थिए । उनीहरुले भित्रबाट रोएको आवाज सुनिएको फेरि पनि बताए । उद्धारकर्मी पर्खनुबाहेक अरु उपाए थिएन । नेपाली सेनाको टोली बिहान ७ बजे आइपुग्यो ।
निरन्तर भग्नावशेष हटाउँदै उनीहरुले बिहान दशबजे शिशु झिके । आमाले सुताएको स्थानबाट झरेर बाँसको फ्ल्याकजस्तोमा अड्किरहेको अवस्थामा फेला परेका शिशु सोनिस अवाल थिए । रुँदारुँदा उनको आँशु सकिसकेको थियो । भोकले बोल्न नसक्ने अवस्थामा पुगिसकेका रहेछन् । अघिल्लो दिन १२ बजेदेखि भोलिपल्ट बिहान १० बजेसम्म २२ घन्टा उनी पुरिएका थिए । जस्तो देखियो त्यहा, मैले त्यस्तै फोटो एक एक गरी खिचेँ । त्यसपछि सोनिसलाई भक्तपुर अस्पताल लगियो । उनको स्वास्थ्य सामान्य रहेको अस्पतालले जनायो ।
उद्धार हुँदै गर्दाको फोटो काठमाण्डुृ टुडेमार्फत सार्वजनिक भयो । सोनिसको निर्दोष र धुलोले ढाकेको मायालाग्दो अनुहार केही घन्टामै संसारभर भाइरल बन्यो । भूकम्पको सर्वाधिक हिट तस्वीर त्यही बन्यो ।
फोटो प्रयोग गर्न नेपाली भित्रका र बाहिरका धेरै मिडियाहरुको फोन तारन्तार बज्न थाल्यो । सिएनएन, बीबीसी, न्यूयोर्क टाइम्स, हफिङटनपोष्टसहित विश्वका अधिकांश चर्चित सञ्चार माध्यम र एपी, एएफपी, सिन्ह्वासहितका समाचार एजेन्सीले फोटो प्रकाशनका लागि अनुमति मागे । नेपालभित्रकै धेरै मिडियाहरुमा पनि फोटो प्रकाशित भयो । त्यो फोटोले सोनिस चिनायो, त्यही फोटोले मलाई पनि चिनायो ।
फोटो प्रकाशित भइसकेपछि पनि पराकम्पनहरु गइरहे । अवस्था सामान्य हुँदै गएपछि म सोनिसलाई भेट्न उनकोमा पुग्न थालें । धेरै विदेशी मिडिया सोनिस खोज्दै भक्तपुर आए । उनका बाबुआमा र सोनिस एकाएक सेलीब्रेटी भए । अचेल महिनामा एकाध पल्ट पुग्ने गरेको छु । फोटोका कारण अवाल परिवारसँग मेरो सम्बन्ध गाँसिएको छ । धेरै पत्रकारहरुलाई मैले सोनिसको डेरासम्म पुर्याइदिएको छु ।
दर्ता बिनाको जमिनमा पुर्खौैदेखि घर बनाएर बसेका श्याम अवाल (सोनिसका बुबा) ले अहिलेसम्म कुनै राहत पाएका छैनन् । उनी भूकम्प पीडित हुन् भन्ने सबैलार्ई थाहा छ । तर उनलाई कागज नपुगेको भन्दै राहत दिइएको छैन । सोनिसोको फोटो विश्वव्यापी भएपछि उनको परिवारले धेरै सहयोग पाएको अनुमान हुने गरेका छ । तर मैले थाहा पाएसम्म त्यस्तो सहयोग अवाल परिवारले पाएको छैन ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment