Saturday, April 23, 2016

जापान पठाउने भन्दै ठगेको आरोपमा पक्राउ

झापा, वैशाख ११ – जापान पठाइदिने भन्दै ३७ लाख रुपैयाँ भन्दा बढी रकम असुलेको आरोपमा झापा शनिश्चरेका राजकुमार कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । 

कार्कीले विर्तामोडमा सञ्चालित फास्टट्र्याक एजुकेसन कन्सलटेन्सीमार्फत झापा, इलाम, पाँचथरलगायत जिल्लाका १५ जनालाई वर्किङ भिसामा जापान पठाइदिने भनेर ३७ लाख ५० हजार असुलेको प्रहरीले जनाएको छ ।

कार्की विदेशमा कामदार पठाउने कुनै अनुमति प्राप्त व्यक्ति नभएको थाहा पाएका युवा संघ नेपालका कार्यकर्ताले शुक्रबार कन्सल्टेन्सीको कार्यालयमा घेराउ गरेर प्रहरीलाई खबर गरेका थिए । अनाधिकृत रुपमा सर्वसाधारणसँग रकम असुलेको स्वीकार गरेका कार्कीलाई सोधपुछका लागि इलाका प्रहरी कार्यालयमा राखिएको छ ।

हालसम्म असुलिएको ३७ लाख ५० हजार रुपैयाँमध्ये आधाजसो रकम काठमाडौँमा रहेको अर्का एजेन्ट यामकुमार चेम्जोङलाई पठाएको दावी गर्दै कार्कीले वर्किङ भिसामा कामदार पठाउने आधिकारिक अनुमति आफूसँग नभएको स्वीकार गरेका छन् ।

भद्रपुर रोडको पश्चिम लाइनस्थित थापा मार्केटमा उनले फास्ट ट्रयाक कन्सल्टेन्सीसँगै प्रोलिफिक कम्प्युटर प्रशिक्षण केन्द्र चलाउँदै आएका छन् ।

उनले भाषा सिकाउन र स्टुडेन्ट भिसामा जापान पठाउनका लागि अनुमति लिइएको प्रमाणपत्र कार्यालयको भित्तामा झुण्ड्याएका छन् । त्यसको आधिकारिता जाँच हुन भने बाँकी नै छ । उनले यसअघि १९ जनालाई स्टुडेन्ट भिसामा जापान पठाइसकेको बुझिएको छ । जापान पुगेका तिनीहरूको अवस्थाबारे थाहा हुन सकेको छैन ।

जापान पठाउने कारोवार गर्न थालेको तीन महिना मात्र भएको उनले बताएका छन् । सुरुमा स्टुडेन्ट भिसामा पठाइदिने भनेका उनले ती १५ जनाको स्टुडेन्ट भिसा नलागेपछि वर्किङ भिसाबाट पठाइदिने भन्दै रकम असुलेका हुन् । कार्कीले आफुबाट गैरकानूनी काम भएको स्वीकार गर्दै १५ जनाकै रकम फिर्ता गरिदिने बताएको इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायव उपरीक्षक खडगबहादुर खत्रीले बताउनुभयो । रासस


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment