Sunday, May 8, 2016

आशा, उत्साह र महत्वकांक्षा जगाउने सरकारका रोचक नीति कार्यक्रम यस्ता छन्

काठमाडौं । राष्ट्रिय  ऊर्जा संकट निवारण तथा विद्युत् विकास दशकसम्बन्धी कार्ययोजना–२०७२ कार्यान्वयन गर्दै  २०८२ भित्र १० हजार मेगावाट जलविद्युत् उत्पादन गर्ने कार्यक्रमलाई अघि बढाइनेछ ।

एक घर एक रोजगारी

सरकारले भूकम्प प्रभावित क्षेत्रमा ‘एक घर एक रोजगारी’ कार्यक्रम अघि सारेको छ । यसलाई अन्य क्षेत्रमा पनि विस्तार गर्ने योजना सरकारको छ । रोजगारीलाई सामाजिक सुरक्षाको महत्त्वपूर्ण कडीका रूपमा स्थापित गर्न यस्तो कार्यक्रम अगाडि सारिएको हो ।
दश युवा एक युवा उद्यम कार्यक्रम स् युवा स्वरोजगार कार्यक्रम, कृषिको पकेट क्षेत्र विकास कार्यक्रम र लघु तथा घरेलु उद्योग कार्यक्रमबीच समन्वय गर्न सरकारले यस्तो कार्यक्रम अगाडि बढाउने भएको छ ।

जनताको लगानीमा जलविद्युत्

वैदेशिक रोजगारीमा रहेका श्रमिकको विप्रेषणको समेत प्रयोग हुनेगरी तोकिएका आयोजनालाई कार्यान्वयनमा लैजान सरकारले यस्तो योजना ल्याएको हो ।
राष्ट्रपति महिला उत्थान कार्यक्रम

लैंगिक हिंसा, चेलीबेटी बेचबिखन र सामाजिक प्रताडनाको अन्त्य गर्दै महिलाहरूको आत्मसम्मान र आर्थिक–सामाजिक रूपान्तरणमा योगदान बढाउन सरकारले राष्ट्रपति महिला उत्थान कार्यक्रम ल्याएको छ ।

मै बनाउँछु मेरो धरहरा

सरकार र जनताको सहभागितामा तीन वर्षभित्र धरहरा बनाइसक्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

२०१८ नेपाल भ्रमण वर्ष :

सरकारले सन् २०१८ लाई नेपाल भ्रमण वर्ष मनाउने भएको छ । भ्रमण वर्षमा १० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य छ । ०७३ लाई भने आन्तरिक भ्रमण वर्षका रूपमा मनाइने भएको छ ।

शैक्षिक प्रमणपत्रका आधारमा निब्र्याजी ऋण
सरकारले शैक्षिक प्रमाणपत्रका आधारमा निब्र्याजी शैक्षिक ऋण उपलब्ध गराउने भएको छ । वैज्ञानिक, प्राविधिक तथा रोजगारीउन्मुख व्यावसायिक क्षेत्रमा उच्च शिक्षा आर्जन गर्न त्यस्तो ऋण दिने सरकारी कार्यक्रममा छ ।  त्यस्तै, शिक्षण सिकाइ प्रक्रियालाई सूचना तथा सञ्चार प्रविधिको उपयोगमा लैजान नेपाल टेलिभिजनसँगको समन्वयमा छुट्टै शैक्षिक च्यानल सञ्चालन गर्ने योजना पनि सरकारले अगाडि सारेको छ ।

नयाँ पत्रिका दैनिकबाट ।



from Nepal123.com - आशा, उत्साह र महत्वकांक्षा जगाउने सरकारका रोचक नीति कार्यक्रम यस्ता छन्

No comments:

Post a Comment