सुजाता खत्री/उज्यालो ।
काठमाडौं वैशाख २६ – मुल गेटबाट भित्र छिर्दा दाहिने पट्टी तीन वटा स्टल पछाडि उहाँको पसल छ । मेला हेर्न आउनेको घुँइचोमा पनि उहाँको आवाज स्पष्ट सुनिन्छ ‘लौ आयो हजुर, स्वास्थ्यलाई फाइदा गर्ने शुद्ध भिर मौरीको मह ।’
म्याग्दी घर भइ अहिले पोखरामा बस्दै आएका आसमान गुरुङ मह किन्न आउने ग्राहकलाई भन्नुहुन्छ ‘मह लानुस्, हात चाटि चाटि खानुस् ।’ ६४ वर्षका गुरुङ पोखराबाट काठमाडौंमा भिर मौरीको मह बेच्न आउनुभएको हो । खुलामञ्चमा भएकौ औद्योगिक तथा सांस्कृतिक पर्यटन मेलामा उहाँले भिर मौरीको महको पसल राख्नु भएको छ । तर महको बारेमा ग्राहकलाई नै थाहा नभएपछि ठूलो आवाजमा चिच्याउनु परेको उहाँको भनाई छ ।
‘मान्छेलाई भिर मौरीको महको बारेमा थाहा पनि छैन, बल्ल बल्ल कोही आए भने पनि बुझाउनै समय लाग्छ ।’ उहाँ भन्नुहुन्छ ‘नेपालीलाई भन्दा त विदेशीलाई नै यसको बारेमा धेरै थाहा छ ।’
‘दम तथा मुटु रोगीका लागि काम लाग्ने महका बारेमा नेपालीलाई थाहा छैन बरु विदेशीलाई थाहा छ ।’ विभिन्न देशका भाषा समेत जानेका उहाँ भन्नुहुन्छ ‘मौका मिले जापानिज, कोरियन, जर्मनलाई पनि मह बेच्छु ।’ उहाँले एसएलसीसम्मको पढाई पूरा गर्नु भएको छ ।
शिरमा पाल्पाली ढाका टोपी ढल्काएका गुरुङ भन्नुहुन्छ ‘महको काम थाहा नभएर होला भाउ सुन्ने बित्तिकै मान्छे जिब्रो काट्दै भाग्छन्, कहिले काहिँ त दुई किलो पनि बिक्दैन ।’
बजारमा मिसावट भएको मह सस्तोमा पाइने भएकाले पनि उहाँको मह विकेको छैन । महका बट्टामा लागेको धुलो पुछ्दै गुरुङ भन्नुहुन्छ ‘गुलियोको लागि मात्र खाने भएर ग्राहकले सस्तो खोज्छन् तर यो त महंगो छ ।’ उहाँले ग्राहकलाई थाहा पाउन सजिलो होस् भनेर ठूलो तुलमानै महका फाइदालाई प्रिन्ट गराएर राख्नुभएको । ‘यो पनि जान्नेलाई श्रीखण्ड नजान्नेलाई काठ हो ।’
उहाँ भन्नुहुन्छ ‘कहिले काहिँ त भन्दा भन्दै थाक्छिु, अनि महको फाइदा यहाँ पढ्नुस भनि देखाइदिन्छु ।’ ६ वर्षदेखि भिर मौरीको मह बेचेका आसमानको पोखरामा मह र जडिबुटीको पसल छ । ‘मैले जडिबुटी बेचेको त २२ वर्ष भन्दाबढी भयो तर पैसा अझ बढी आउने भएर महतिर पल्किएँ ।’
मह झिक्न जान सार्है गाह्रो भएपनि महले दिने आम्दानीले दुःख बिर्साउने उहाँको भनाई छ । ‘हामी ४ दिनको बाटो हिँडेर, मह झिक्न जंगल जान्छौ, भिरको घारबाट मह झिक्नुको सास्ती त छँदै छ ।
झिकेको महलाई पनि खच्चरको भाडा तिरेर यहाँ ल्याउनुपर्छ । त्यसमा पनि वन समितिलाई पैसा तिर्नुपर्यो’ उहाँ भन्नुहुन्छ ‘मह लिन जादाँ त जिउको मासु पनि घट्छ तर त्यसबाट आउने कमाईले त्यसको पीडा पनि भुलाइदिन्छ ।’
एक किलो महको तीन हजार रुपैयाँ लिने उहाँ मान्छे हेरेर भाउ गर्नुहुन्छ । उहाँ भन्नुहुुन्छ ‘विदेशीलाई त अझै धेरै लिन्छु ।’ नौ जनाको परिवार भएका गुरुङलाई परिवारले पनि सघाउछन् । काठमाडौंमा उहाँसँग कान्छा छोरा आएका छन् । वृद्ध भएपनि सकुञ्जेल आफैंले कमाउनुपर्छ भन्दै उहाँ काम गर्नुहुन्छ ।
‘आफूले पालेका बच्चाले मलाई के पाल्लान जस्तो लाग्छ ।’ उहाँ भन्नुहुन्छ ‘मलाई पालुन् की आफू पालिउन् ? आफ्नो हातखुट्टा चलुन्जेल के अर्काको भरमा पर्नु भनेर नी, सकुञ्जेल गर्ने हो, मलाई अझै १५ वर्षसम्म गर्न सक्छु कि जस्तो लाग्छ ।’
from Nepal123.com - भिरमा मौरीको मह, आम्दानी साह्रै गुलियो
No comments:
Post a Comment