Sunday, May 8, 2016

भारतका कूटनीतिज्ञ र लेखक भन्छन नेपालसँगको सम्बन्ध बिग्रियो

काठमाडौँ २७ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण स्थगित तथा भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायको फिर्ता प्रकरणबारे भारतका कूटनीतिज्ञहरूले फरक–फरक प्रतिक्रिया दिएका छन्।

कतिपयले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल नीतिको आलोचना गरेका छन् भने कतिपयले नेपालका प्रधानमन्त्री केपी ओलीको भारत नीतिप्रति टिप्पणी गरेका छन्। भारतले औपचारिक रूपमा भने पछिल्ला घटनाक्रमबारे नजिकबाट नियालिरहेकोबाहेक अन्य टिप्पणी गरेको छैन।

पूर्वराजदूत एमके भद्रकुमारले भने नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण रद्द, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बुद्धजयन्तीका अवसरमा २१ मेमा जाने भनिएको कार्यक्रम रद्द र नयाँदिल्लीबाट राजदूत फर्काउने काठमाडौंको निर्णयजस्ता नाटकीय विकासक्रमले नेपाल–भारत सम्बन्धको पछिल्लो घाउ थप गहिरिएको बताएका छन्।

भारतको संस्थापनको केही पक्षले हिसाब–किताब गरिरहेका हुनसक्छन् कि नेपाललाई कमजोर गराउँदै अस्थिर बनाउँदै जानु भारतका लागि किफायती बाटो भएको उनले बताए। ‘उनीहरूले सम्भवत: यो पनि सोच्छन् कि भारतीय एजेन्सीहरू काठमाडौंको राजनीतिक घोडचढीलाई सजिलै लगानी गरिदिन सक्छन् किनभने उनीहरूसँग निर्वाचित सरकार ढाल्ने र अपमान गर्ने अभ्यासको अनुभवमा पनि कमी छैन,’उनले भनेका छन्।

यस्तै लेखक रुद्रोणील घोषले गत २५ वैशाखमा टाइम्स अफ इन्डियामा लेखेका छन्-घटनाक्रमहरूको नाटकीय फेरबदलका क्रममा माओवादीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै थिए। तर, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र माओवादीहरूको बैठक परिणाम दिन असफल भयो। यही क्रममा माओवादीहरूले पूर्णतया युटर्न गरे र केही समय सरकारलाई नै निरन्तरता दिने बताए।

सरकार ढाल्न भारतले कोसिस गरेको प्रधानमन्त्री ओलीको बुझाइका कारण नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको पूर्वनिर्धारित भारत भ्रमण रद्द भयो। यसमा राजदूत दीपकुमार उपाध्याय सहमत थिएनन् र उनले ओलीलाई टेलिफोनमा यो कुरा भने। त्यसपछि नेपालको क्याबिनेटले उपाध्यायलाई फिर्ता बोलाउने निर्णय गर्‍यो। यो पूरै इपिसोडले नेपाल–भारत सम्बन्धमा ठूलो अविश्वास रहेको स्पष्ट हुन्छ, जुन भारतले नेपालको संविधानप्रति असन्तुष्टि जनाएर सुरु भएको थियो।

यस्तै प्रोफेसर एसडी मुनीले २५ वैशाखमा भनेको कुरा द क्याच न्युजमा उल्लेख गरिएको छ-पछिल्ला घटनामा नयाँदिल्ली धेरै नै दु:खी छ। नेपाल सरकारले भारतसँग सम्बन्धको विषयमा सावधानी नअपनाइरहेको देख्दा म धेरै नै आश्चर्यचकित छु। अर्कातिर भारत नेपालमा के चाहन्छ भन्ने पनि निश्चित छैन। नेपालको संविधानमा भारतको धारणा, विदेश सचिव एस जयशंकरले संविधान निर्माणको उत्तराद्र्धमा गरेको नेपाल भ्रमण, मधेसीहरूले गरेको नाकाबन्दीलाई सहयोग गरेकोलगायतका घटनाहरूले सम्बन्धको उतारचढाब देखाइरहेको छ। अहिले मधेसीहरू पनि भारतसँग खुसी छैनन् किनभने अहिले मधेसीहरूलाई भारतले छाडेको छ।
भारतका पूर्वविदेशसचिव कनवाल सिवलले भनेको कुरा द क्याच न्युज यसरी उल्लेख गरिएको छ- केही नहुँदा पनि नेपालले भारतीय हात देख्छ । राष्ट्रपतिलाई भारत भ्रमण नगर्न दबाब दिएर र राजदूतलाई बर्खास्त गरेर छिमेकी मुलुक (नेपाल)ले तनावको परिस्थिति सिर्जना गरिरहेको छ। नेपाल सरकार समस्यामा रहेको भए पनि राष्ट्रपतिजस्तो उच्च व्यक्तिको भ्रमण रोकिनु हुँदैनथ्यो। आजको नयाँ पत्रिका दैनिकमा खबर छ।



from Nepal123.com - भारतका कूटनीतिज्ञ र लेखक भन्छन नेपालसँगको सम्बन्ध बिग्रियो

No comments:

Post a Comment