Wednesday, March 16, 2016

दक्ष शिक्षकको मापदण्ड तयार, सञ्चार प्रविधिको ज्ञान अनिवार्य

४ चैत, काठमाडौं । तपाईं शिक्षक हुनुहुन्छ र सञ्चार प्रविधिबारे ज्ञान छैन भने अयोग्य ठहरिन सक्नुहुन्छ । त्यसैले अब शिक्षकहरु पनि सञ्चार प्रविधिमा दक्ष हुनुपर्ने भएको छ ।

शैक्षिक जनशक्ति विकास केन्द्रले सफल शिक्षकमा हुनुपर्ने बिभिन्न ८ दक्षतासहितको प्रारुप तयार पारेको छ । त्यसलाई शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा बसेको शैक्षिक जनशक्ति विकास परिषदको बैठकले पारित गरेको छ ।

यस्ता छन् मापदण्ड

विषय बस्तुको ज्ञान, शिक्षण सिकाइका तौरतरिका सम्बन्धी ज्ञान, विद्यार्थीहरुको पृष्ठभूमि, सन्चार तथा सहकार्य, सिकाई वातावरण र कक्षा व्यवस्थापन शिक्षकका न्यूनतम मापदण्ड हुन् ।

यसैगरी निरन्तर सिकाइ र पेशागत विकास, कानुनी आधार तथा पेशागत आचार संहिता, सूचना तथा सञ्चार प्रविधिलगायतको ज्ञान पनि शिक्षकका मापदण्डको रुपमा राखिएको छ । ‘सञ्चार प्रविधिको ज्ञानलगायतका यी मापदण्ड न्यूनतम रुपमा पूरा गरेमा मात्रै एउटा शिक्षक प्रफेक्ट हुन्छ,’ शैक्षिक जनशक्ति विकास केन्द्रका कार्यकारी निर्देशक सूर्यप्रसाद गौतमले अनलाइनखबरसँग भने, ‘अन्यथा शिक्षकको वृत्ती विकासमा बाधा पुग्छ ।’

परिषद शैक्षिक जनशक्तिको मापदण्ड तथा नीति निर्धारण गर्ने उच्चस्तरीय निकाय हो । आठ न्यूनतम मापदण्डका आधारलाई केन्द्रित गरी शिक्षकहरुलाई आगामी वर्षदेखि तालिम दिइनेछ भने तालिम पछि आफू सफल भएको पुष्टि गर्न शिक्षकहरुले लिखित परीक्षा दिनुपर्नेछ ।

स्रोत केन्द्रमा तालिम नहुने

पाँच वर्षको अबधिभित्र शिक्षकहरुलाई दक्ष बनाउन ३० दिनको तालिम दिइने छ र त्यो तालिम १५-१५ दिनको हुनेछ । विगतमा ३० दिनलाई १०-१० दिनमा बिभाजन गरी तीन मोडेलमा तालिम दिने गरिएको थियो ।

अबदेखि स्रोत केन्द्रहरुमा शिक्षकको तालिम हुनेछैन । देशभर १ हजार ५३ वटा स्रोत केन्द्र छन् । ति स्रोत केन्द्रहरुमा दक्ष जनशक्ति नभएका गुनासो आउने गरेको थियो ।

अबदेखि २९ वटा शैक्षिक तालिम केन्द्रमा शिक्षकहरुलाई तालिम दिइनेछ र तालिम केन्द्र नभएका स्थानमा अगुवा स्रोतकेन्द्रमा तालिमको व्यवस्था मिलाइने छ ।

शिक्षकहरुलाई डिभिजनको प्रमाणपत्र

तालिमलाई शिक्षकहरुले आ-आफ्ना विद्यालयलाई व्यवहारमा उतार्नुपर्नेछ । त्यसबारे प्रोजेक्ट वर्क तयार पारेर केन्द्रमा पठाउनु पर्नेछ । ति सबैलाई एक सय पूर्णांक मानेर मूल्याकंन गरी शिक्षकहरुलाई पहिलो, दोस्रो र तेस्रो डिभिजनको प्रमाणपत्र दिइनेछ ।

‘प्रोजेक्ट वर्क, फेस टु फेस काउन्सीलिङलगायतका तालिमको आधारमा एक्सन प्लान बनाएर स्कूलमा न्युनतम ४५ दिन काम गर्नुपर्छ,’ केन्द्रका कार्यकारी निर्देशक गौतमले भने, ‘त्यसक्रममा आएका समस्या, सफलतालगायतका विषय समेटेर रिपोर्ट बनाइ तालिम केन्द्रमा पठाउनुपर्छ । अनि हामीले डिभिजन खुलाएर प्रमाणपत्र दिन्छौं ।’

परिषदबाट स्वीकृत मापदण्ड पूरा गरे दक्ष शिक्षक नहुँदा शैक्षिक गुणस्तर खस्किएको भन्ने गुनासो हट्ने उनले विश्वास व्यक्त गरे ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

सार्क विदेशमन्त्री बैठक आज

४ चैत, काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को ३७ औं परराष्ट्र मन्त्रीस्तरीय बैठक आज हुँदै छ ।
बैठकमा सहभागी हुन सबै सदस्य राष्ट्रका विदेशमन्त्री बुधबार नै पोखरा पुगेका छन् ।

बैठकमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा, भारतीय विदेशमन्त्री सुस्मा स्वराज, माल्दिभ्सका विदेशमन्त्री डुनया मौसुन, श्रीलंकाका विदेशमन्त्री मंगला समरावेरा, बंगलादेशका विदेशमन्त्रीअब्दुल हसन मोहमद अली, भुटानका विदेशमन्त्री डामचो दोजी, अफगानिस्तानका उपविदेशमन्त्री क्मित खालिद कार्जाई र पाकिस्तानी प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाकार सर्तराज अजिज सहभागी हुनेछन्।

भारतकी विदेशमन्त्री स्वराज बाहेक अन्यसव प्रतिनिधि काठमाडौंबाट एउटै जाहजमा पोखरा पुगेका थिए भने स्वराज गोरखपुरबाट सिधै पोखरा विमानस्थल उत्रेकी थिइन् ।

यसअघि हिजो सकिएको स्थाइ समितिको बैठकले सार्क स्थायी समितिको बैठकले अंगालेको र निर्णय गरेका गतिविधि परिणममुखी बनाउने निर्णय गरेको छ ।

सार्कका विगतमा भएका निर्णय कार्यान्वयन हुनपर्ने, सदस्य राष्ट्रले स्वीकार गरेका तर कार्यान्वयनमा नल्याएका कार्यक्रम प्रभावकारी रुपमा सम्पन्न गरिनुपर्ने, निर्धारित समयमा नै सार्कका गतिविधि सम्पन्न हुनुपर्नेलगायतका विषयमा बैठकमा छलफल भएको थियो ।
बैठकले सार्क सम्मेलन प्रत्येक दुई वर्षको नोभेम्बरमा गर्ने प्रस्ताव गरेको छ । नोभेम्बर महिनामा गर्ने तय भए पनि दिन भने सम्बन्धित राष्ट्रले अन्य राष्ट्रसँगको समन्वयमा निर्धारण गर्ने निर्णय गरिएको छ ।

बैठकमा सार्कका विद्यमान गतिविधि, जलवायु परिवर्तन, वातावरण संरक्षण, प्राकृतिक विपत्ति, स्वास्थ्य, जैविक ऊर्जा, सामाजिक विकास, सञ्चार प्रविधिलगायतका विषयमा छलफल भएको थियो ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

१५ हजारकोे ‘टुर प्याकेज’मा खप्तड घुम्न पाइने  

४ चैत, कञ्चनपुर। खप्तड घुम्न जाने सोचमा हुनुहुन्छ ? धेरै रकम खर्च होला भन्ने भ्रममा हुनुहुन्छ भने त्यसबाट मुक्त हुनुस् । खप्तडका जान १५ हजार रुपैयाँ खर्च गर्दा पर्याप्त हुने गरी टुर प्याकेज सार्वजनिक भएको छ ।

थोरै रकम खर्च गरेर कञ्चनपुरदेखि खप्तडसम्म घुम्नका लागि साप्ताहिक ‘टुर प्याकेज’ सञ्चालनमा ल्याइएको छ ।

मोहित ट्राभल्स एन्ड टुर प्राइभेट लिमिटेड, शुक्लाफाँटा जङ्गल कटेज र होटल न्यू आनन्द महेन्द्रनगरले यही वैशाख ४ गतेसम्मका लागि संयुक्तरुपमा प्याकेज सञ्चालनमा ल्याएका हुन् ।

खप्तड प्याकेजमा पहिलो दिन महेन्द्रनगरबाट दीपायल सिलगडी, दोस्रो दिन दीपायलबाट झिग्राना, तेस्रो दिन झिग्राना, विचपानी हुँदै खप्तड पुग्ने कार्यक्रम बनाइएको शुक्लाफाँटा कटेजका सञ्चालक परमानन्द भण्डारीले बताए।

khaptad (2)
खप्तड पुगेपछि दुई दिन बसेर छैटौँ दिन दीपायल, अछाम वा बझाङ हुँदै महेन्द्रनगर फर्कने कार्यक्रम राखिएको छ । “प्याकेजअन्तर्गत बीसजना पर्यटकलाई घुमाउने योजना बनाएका छौँ”, व्यवसायी भण्डारीले भने ।

आगामी दिनमा सुदूरपश्चिमका अन्य पर्यटकीय क्षेत्रका लागिसमेत प्याकेज बनाइने उनले बताए । उहाँले यसअघि शुक्लाफाँटा वन्यजन्तु आरक्ष घुम्नका लागि टुर प्याकेज सञ्चालन गर्दै अाएका छन्  ।

पर्यटक प्रर्वद्धन गर्ने उद्देश्यले प्याकेज बनाई पर्यटकलाई घुमाउने योजना बनाउँदै आएको उहाँको भनाइ छ । रासस


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

आपराधिक क्रियाकलाप नियन्त्रणका लागि नेपाल–भारतका स्थानीय प्रशासकको बैठक  

४ चैत, इटहरी । नेपाल तथा भारतको खुला सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप तथा अन्य मावनता विरोधी कार्य नियन्त्रणका लागि स्थानीय तहबाट नियन्त्रणका लागि गरिने छलफल र प्रयाससम्बन्धी नीति तयार गर्ने विषयमा भारत विहारको सुपौल जिल्लामा नेपाली र  भारतीय  स्थानीय प्रशासनको संयुक्त बैठक सम्पन्न भएकाे छ ।

बैठकले सीमा क्षेत्रमा हुने सबैखाले आपराधिक गतिविधिसँगै महिला ओसारपसार नियन्त्रण गर्न दुवै देशका स्थानीय प्रहरी तथा प्रशासनबीच निरन्तर संवाद र सञ्चारसम्पर्क स्थापित गरेर त्यस्ता आपराधिक कार्य रोक्ने सहमति भएको छ ।

बैठकमा सहभागी भएका सुनसरी जिल्लाका प्रमूख जिल्ला अधिकारी मोहन चापागार्इंका अनुसार आगामी अप्रिल २४ देखि सुरु हुने विहार ग्राम पञ्चायतको निर्वाचनमा अवाञ्छित कार्य हुन नदिनका लागि सीमा सिल गर्ने विषयमा पनि सहमति भएको छ ।

त्यसैगरी, सीमा क्षेत्रमा देखिने शङ्कास्पद अवस्थाका मानिसलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने र आपराधिक कार्यमा संलग्न भएको पुष्टि भएको अवस्थामा कार्वाही चलाउन पनि सहमति भएको प्रजिअ चापागाईंले जानकारी दिए ।

सीमा क्षेत्रमा हुने लागुऔषध ओसारपसार, भन्सार छली गर्ने गिरोह तथा कुनै पनि आपराधिक कार्य गर्ने जो कोही भए पनि त्यस्ता मानिसप्रति दुवै देशको स्थानीय प्रशासनले निरन्तर सम्पर्क स्थापित गरेर अपराधलाई रोक्ने प्रयास गर्ने पनि सहमति भएको प्रजिअ चापागाईंले जानकारी दिए ।

सप्तरी जिल्लाका प्रजिअ बलदेव गौतम तथा प्रहरी प्रमखलगायत र सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक पोषराज पोख्रेल, भूमिसुधार प्रमुख, भन्सार प्रमुख, राष्ट्रिय अनुसन्धानका प्रमुख तथा भारत विहारको सुपौल जिल्लाका डिस्ट्रिक्ट मजिस्टेट वैद्यनाथ यादवलगायत सम्बन्धित सरोकार राख्ने कार्यालयका प्रमुखको बैठकमा सहभागिता रहेको थियो ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

पूर्वी चितवनका किसानलाई चैते धान रोप्ने चटारो

राजेन्द्र आचार्य

४ चैत, चितवन । यतिबेला सुख्खा मौसम छ, पानीको अभावले अधिकांश उर्बर भूमी सुख्खा छन् । तर, यही मौसममा पूर्वी चितवनका किसानहरु भने हिलोमा हुने धान रोपाइर्ंको चटारोमा छन् ।

चितवनको सिँचाई सुविधा भएका अधिकांश क्षेत्रमा फागुनको अन्तिम सातादेखि चैते धान रोपाईं सुरु भएको हो । विशेष गरेर यस क्षेत्रमा साना सिँचाई सुविधासगै किसानहरुले आफै पनि ईनार र बोरिङ्ग राखि चैते धान रोप्न थालेका छन् ।

पूर्वी चितवनलाई धानको पकेट क्षेत्र मानिन्छ । देशमा हुने कूल धान उत्पादन मध्ये चैते धानको हिस्सा झण्डै १५ प्रतिशत छ ।

तर उत्पादकत्वको हिसाबले चैते धानको खेती महत्वपूर्ण छ । यो बेला मौसम पनि अनुकूल हुने र रोगकीरा पनि कम लाग्ने भएकाले चैते धानको उत्पादकत्व बढी रहेको जिल्ला कृषि विकास कार्यालय चितवनले जनाएको छ ।

चितवनको पूर्वी क्षेत्रको कठार, कुमरोज, भण्डारा, पिप्ले, बछौलीलगायतका ठाउँहरुमा चैते धान लगाउने गरिन्छ । मौसमी सिँचाईले मात्र चैते धानलाई नपुग्ने र जिल्लाको पश्चिम क्षेत्रमा सिँचाई समेत कम हुने कारण पूर्वी क्षेत्रमा मात्रै चैते धान लगाउने गरिएको हो ।

जिल्ला कृषि विकास कार्यालय चितवनका अनुसार यसवर्ष जिल्लामा पाँच हजार हेक्टर क्षेत्रफलमा चैते धानको रोपाईं हुँदैछ ।

जसबाट करिब २२ हजार पाँच सय मेटि्रक टन धान उत्पादन हुने अनुमान गरिएको छ । गत वर्ष जिल्लामा ४२ सय हेक्टर क्षेत्रफलमा चैते धान रोपाईं भएको थियो भने १७ हजार छ सय ४० मेटि्रक टन धान उत्पादन भएको थियो ।

अहिले नेपालमा देखा पर्दै गइरहेको खाद्य संकटलाई प्रतिस्थापन गर्न पनि चैते धानले मुख्य भूमिका खेल्छ । कार्यालयका प्राविधिक सहायक नोदनाथ लामिछानेकाअनुसार यो धान अधिकांश किसानहरुको आफूले खाना खानको लागि प्रयोग गर्ने गर्दछन् ।

किसानको चाहनाअनुसार सरकारले पनि किसानले खान मिल्ने मसिनो जातको चैते धानको बीउ प्रयोगमा ल्याउने हो मुलुकको खाद्य संकट कम गर्न सकिन्छ ।

चितवनका कतिपय किसानहरुले भने ब्याड राख्ने काम पनि जारी राखेका छन् । चैते धानको बीउ छनौट गर्दा स्रोत खुलेको ठाउँबाट बीउ ल्याउनुपर्ने विज्ञहरुको भनाइ छ ।

कार्यालयका अनुसार गुणस्तरीय र जातीय शुद्धता भएको बीउको छनौट मात्र गर्न सके पनि उत्पादनमा २० देखि २५ प्रतिशत वृद्धि गर्न सकिन्छ ।

कार्यालयका प्राविधिक सहायक मोदनाथ लामिछानेका अनुसार छिटो पाक्ने र वर्षा सुरु नहुँदै फल दिने बीउको छनौट गर्नुपर्छ ।

विषेशगरी हर्दिनाथ-१ जातको धानको बीउ चैते धान लगाउने किसानहरुको रोजाइमा पर्ने गर्दछ । ब्याड राख्दा हिलो भन्दा धुले ब्याडको प्रयोग राम्रो हुने लामिछानेले बताए ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

आफ्ना नागरिकको तत्काल रिहा गर्न उत्तर कोरियालाई अमेरिकाको चेतावनी

४ चैत, काठमाडौं । अमेरिकाले उत्तर कोरियामा जेल सजाय तोकिएका आफ्ना नागरिकको तत्काल रिहा गर्न चेतावनी दिएको छ । उत्तर कोरियाले आफ्ना देश बिरुद्ध काम गरेको आरोपमा अमेरिकाका एक छात्रलाई १५ वर्षको श्रम जेलमा राख्ने फैसला गरेको छ ।

२१ वर्षीय ओटो वाम्बियर जनवरीमा उत्तर कोरिया गएका थिए जहाँ उनले एक होटलबात एक राजनीतिक प्रचारको नारा चोर्न लागेको अवस्थामा पक्राउ गरिएको थियो ।

हृवाइट हाउले उत्तर कोरियाले आफ्नो राजनीतिक एजेन्टको लागि अमेरिकी नागरिकलाई प्रयोग गरेको आरोप लगाएको छ । हृवाइट हाउसले अमेरिकी छात्रको माफी र तुरुन्त रिहाइको माग गरेको छ ।

बीबीसीका अनुसार पहिले कहिल्यै पनि विदेशी कैदिलाई यस्तो कठोर किसिमको सजाय दिइएको थिएन । वाम्बियर युनिभर्सिटी अफ भर्जिनियाका छात्र हुन् । २ जनवरुीमा उनलाई उत्तर कोरियाको विमानस्थलबाट पक्राउ गरिएको थियो ।

उनीमाथी सत्रुतापूर्ण काम गरेको आरोप लागेको छ । उत्तर कोरियाको सरकारी टेलिभिजनमा वाम्बियरले आफूले नारा चोर्न खोजेको स्विकार गरेका छन् । आफूलाई घुमाउन ल्याउने चर्चको समूहले यादगार चिज खोज्न भनेका थिए ।

उत्तर कोरियामा अमेरिकी पर्यटन कानूनी रुपमा स्विकार्य भएपनि अमेरिकाको विदेश मन्त्रालयले उत्तर कोरियाको भ्रमण नगर्न सल्लाह दिदै आएको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

मुस्ताङमा सडकलाई पाँच करोड रुपैयाँ बजेट माग

४ चैत, मुस्ताङ। हिमाली जिल्ला मुस्ताङमा सबैभन्दा बढी सडकका योजना माग भएको छ । २४औँ जिल्ला परिषद्माफत २२ वटा सडक आयोजना निर्माणका लागि पाँच करोड ९९ हजार रुपैयाँ बजेट प्रस्ताव गरिएको छ ।

सोह्र गाविस रहेको जिल्लाका सबै गाविस कार्यालयसम्म सडक सञ्जालको पहुँ विस्तार भएपनि मर्मतसम्भार र कालोपत्रका लागि उक्त सङ्ख्यामा सडक आयोजनाको माग भएको पाइएको छ । जिल्लामा प्राप्त सडक योजनालाई विभिन्न कार्यक्रमअन्तर्गत समावेश गरेर सम्बोधन गर्ने प्रयास गरिएको स्थानीय विकास अधिकारी हरिप्रसाद बाँस्तोलाले जानकारी दिए ।

उनका  अनुसार ग्रामीण पुनर्निर्माण तथा पुनस्र्थापना कार्यक्रमअन्तर्गत पाँच, स्थानीय यातायात पूर्वाधार क्षेत्रगत कार्यक्रममा आठ र सडक बोर्डमार्फत आठवटा सडक मर्मतसम्भार र विस्तारको कार्य हुनेछ । जिल्लाको गौरवका रुपमा मनाङ जिल्ला जोड्ने सडकलाई समेत प्राथामिकता साथ बजेट विनियोजन गरिएको छ ।

उक्त सडकका लागि ८० लाख रुपैयाँ विनियोजन गरिएको जिविसले जनाएको छ । सबैभन्दा बढी ग्रामीण पुनर्निर्माण तथा पुनस्र्थापना कार्यक्रममा रु तीन करोड ४९ लाख, सडक बोर्डअन्तर्गत रु २८ लाख र स्थानीय यातायात पूर्वाधारमा रु ७५ लाख बजेट माग गरिएको छ ।

जिल्लामा पर्ने कालीगण्डकी करिडोरअन्तर्गत जोमसोम–कोरला सडकखण्डको क्षेत्रमा पनि सडक विभागले आफैँले लगानी गरेर काम गर्न अर्थ मन्त्रालयमा बजेट माग गरिसकेको छ । कोरला नाका सञ्चालनका लागि सडकको स्तरोन्नति पहिलो प्राथामिकता भएकाले सडक विभागले उक्त खण्डलाई प्राथामिकतामा राखेको स्थानीय विकास अधिकारी बाँस्तोलाले जानकारी दिए ।

रासस


यो समग्री नेपाल१२३.com मा पुरै पढौं