Friday, May 6, 2016

९ बुँदे सहमति भएको २४ घण्टा नपुग्दै एमाले र माओवादीबीच खटपट

काठमाडौ,२४ बैशाख । विहीबार राति ११ बज्न लाग्दा सत्तारुढ दुई मुख्य दल नेकपा एमाले र एनेकपा माओवादीबीच बालुवाटारमा सम्पन्न ९ बुँदे लिखित सहमतिबाहेक नेताहरुबीच सत्ता हस्तान्तरणबारे भद्र सहमति भएको भनेर बाहिर चर्चा चलेको छ । नीति–कार्यक्रम र बजेटपछि केपी ओलीले एमाओवादी अध्यक्ष प्रचण्डलाई सरकारको नेतृत्व हस्तान्तरण गर्ने भनी चलेको चर्चालाई एमालेका नेताहरुले अस्वीकार गरेका छन् ।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार तथा एमाले नेता विष्णु रिमालले नौ बुँदे सहमति बाहेक सत्ता हस्तान्तरणका अरु कुनैखाले सहमति नभएको दावी गरेका छन् । लिखित समझदारीपत्रको पहिलो बुँदामा राष्ट्रिय सहमतिबारे उल्लेख भए पनि अमूर्त कुरा गरिएको छ । एमाओवादीका लागि यही बुँदा आशाको त्यान्द्रो हुनसक्छ ।

एमाओवादीका नेता तथा कृषि मन्त्री हरिवोल गजुरेलले सत्ता हस्तान्तरणबारे ठोस खालको सहमति नभए पनि राष्ट्रिय सहमतिको सरकार निर्माणमा एमाले सकारात्मक रहेको बताएका छन् ।

मौखिक कुराकानीलाई आधार मान्दा एमालेले राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि सकारात्मक भूमिका खेल्ने आफ्नो पार्टीको विश्वास रहेको गजुरेलको भनाई छ ।  गजुरेलले राष्ट्रिय सहमतिको सरकारका विषयमा एमाले र एमाओवादी मात्रैले सहमति गरेर नहुने बताए । दुई दलबीच ९ बुँदे सहमतिपछि वर्तमान सरकारप्रति एमाओवादीको असझदारी र संशयहरु हटेको व्याख्या एमाले नेताहरुले गरेका छन् ।



from Nepal123.com - ९ बुँदे सहमति भएको २४ घण्टा नपुग्दै एमाले र माओवादीबीच खटपट

देश ठग्ने एनसेलबारे संसदमा छलफल गर्नुपर्ने गगन थापाको माग

काठमाण्डु, २४ वैशाख– करि छली प्रकरणमा मुछिएको एनसेल खरिदबिक्रीमा पूजिगत लाभकर असुल गर्नुपर्ने सम्बन्धमा संसदमा छलफल गर्नुपर्ने माग राख्दै कांग्रेसका सांसद गगन थापाले प्रस्ताव दर्ता गराएका छन् ।
एनसेलले दिनुपर्ने रकम वार्षीक आयको महत्वपूर्ण हिस्सा हुने बताउँदै थापाले संसदमा छलफल गरी सरकारलाई निर्देशन दिन सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका हुन् ।

एनसेल र बिक्रेता कम्पनी टेलियासोनेले सरकारलार्य कर नतिर्ने बताएएपछि चौतर्फी बिरोध भइरहेका बेला थापाले यस्तो प्रस्ताव दर्ता गराएका हुन् ।

एनसेलले एक खर्ब ४० अर्ब रुपैयाँको खरिदबिक्रीको ८० प्रतिशत सेयरतर्फको लाभकर नतिर्ने बताउदै आएको छ ।



from Nepal123.com - देश ठग्ने एनसेलबारे संसदमा छलफल गर्नुपर्ने गगन थापाको माग

राजा मानदेवको पालादेखि निरन्तर कान्तिभैरव जात्रा

काठमाडौँ :  राजा मानदेवको पालादेखि हालसम्म निरन्तर चली आएको ऐतिहासिक, सांस्कृतिक र धार्मिक कान्तिभैरव जात्रा शुक्रबार मध्यरातदेखि गोकर्णेश्वरमा सुरु भएको छ ।

वैशाख कृष्ण चतुर्दशीका दिन स्थानीयवासीले आ–आफ्ना घर आँगनमा सरसफाइ गरेपछि मध्यरातमा कान्तिभैरवको जात्रा सुरु हुने परम्परा छ । चतुर्दशीका दिन स्थानीयवासीले आफ्नो टोल र छरछिमेक सफाइ गरेपछि मध्यरातबाट वैशाख शुक्ल तृतीयाका दिनसम्म कान्तिभैरवको मुख्य जात्रा लाग्छ ।

वैशाखकृष्ण आमावास्याका दिन स्थानीय डबलीमा आमाछोरी र सासूबुहारीले संयुुक्त रुपमा सहभागी भएर सिन्दूर जात्रा हेर्नुपर्दछ भन्ने जनविश्वास छ । यसलाई कान्तिभैरवको सिन्दूर जात्रा पनि भन्ने गरिएको स्थानीयवासी एवम् पूर्व गाविस उपाध्यक्ष राधाकृष्ण श्रेष्ठ बताउँछन् । “यो दिन प्रत्येक व्यक्तिका लागि आमाप्रति श्रद्धा भक्तिसाथ सम्मान प्रकट गरी मीठो मसिनो खुवाउने दिन भएकाले कान्तिभैरव जात्रालाई पनि आमाप्रतिको सम्मानकै रुपमा लिन्छौँ” – कान्तिभैरवको गुठियारसमेत रहेका उनले भने ।

जात्राका अवसरमा श्रीभैरव, श्रीकुमारी र श्रीगणेशको मूर्तिलाई आकर्षक रुपमा सिँगारिएको तीनतले खटमा विराजमान गराइन्छ । तीनवटा रथलाई धार्मिक विधिपूर्वक बाजा, गीत र नाचका साथ टोल परिक्रमा गराइन्छ । परिक्रमा गराउने क्रममा प्रत्येक चोक, दोबाटो र घर आँगनमा स्थानीयवासीले उत्साहसाथ श्रद्धाभाव अर्पण गर्दछन् ।

चतुर्दशीका दिन बिहान गुठियार थकालीले तामाको सानो गणेश मूर्तिलाई ढक्कीमा राखी गुप्तीगणेशमा लगी राख्छन् । गुप्तीगणेशलाई दिनभर स्थानीयवासीले पूजा गर्दछन् । साँझमा गणेशको मूर्तिलाई परम्परागत बाजागाजासहित रथारोहण गरी गोकर्णेश्वरको ऐतिहासिक प्रमुख पुरानो बस्ती गोकर्ण देशेको बीचमा लगी बिसाइन्छ ।

यसपछि ऐतिहासिक गोकर्णश्वरको भैरव मन्दिरबाट भैरवको मूर्ति निकालिन्छ । निकालिएको मूर्तिलाई गुठियारका थकालीबाट बलि चढाई पूजा गरिन्छ । स्वर्णमय झन्डा र गजुरसहितको सिंहासनलाई तीनपटक मन्दिरको परिक्रमा गराइन्छ । सिँगारिएको तीनतले रथमा भैरवको मूर्तिलाई आरोहण गराइन्छ । यस अवसरमा बाजा बजाई हर्ष बढाइँ गरिन्छ र रथलाई गोकर्णेश्वर क्षेत्रका टोल टोलमा घुमाउने काम सुरु हुन्छ ।

भातको देवता अर्थात् भाते द्यौलाई कान्ति भैरवको सौगात मानिन्छ । तीन स्थानमा व्रत बसेका तीनजना गुठियारले एक एक पाथीे भातको देवता बनाउँछन् । पाक्दा पाक्दैको भातलाई झिकेर गुठियार थकालीले भातको मूर्ति बनाउनुपर्ने धार्मिक विधि छ । भातको अग्लो मूर्तिलाई दुईजनाले बोकेर तुलजा भवानीको मन्दिरमा लैजाने परम्परा रहेको स्थानीय रामदास श्रेष्ठ बताउँछन् ।

मन्दिरमा भातको देवता लिन जात्रालु रथसहित जाने गर्दछन् । रथलाई तुलजा भवानीको परिक्रमा गराएपछि भातको देवता बोकी जात्रालुको जमात उत्तरवाहिनीस्थित भैरवी मन्दिरतिर लाग्दछन् । जात्रामा बाजा बजाउने, रथ बोक्ने, चिराग बोक्ने, सुकुन्दा बोक्ने र भातको देवता बोक्नेलगायतका काममा जात्रालुको भीड लाग्ने गरेको ११ वर्षदेखि जात्रा हेर्दै आएकी पूर्णिमा श्रेष्ठ बताउँ  ।

उत्तरवाहिनी कान्तिभैरव मन्दिर प्राङ्गणमा भाते देवतासहित भैरवको रथ पु¥याएपछि तीनपटक मन्दिर परिक्रमा गराइन्छ । रथलाई भने मन्दिरको ३२ पटक परिक्रमा गराएर मात्र बिसाउनुपर्ने धार्मिक विश्वास छ । रथ बिसाएपछि भैरवको प्रसाद लिन सहभागी बीचमा  तँछाड मछाड हुने गर्दछ । पहिलोपटक प्रसाद पाउने मानिस निकै भाग्यमानी हुने धार्मिक विश्वास छ ।

आमाको मुख हेर्ने दिन कान्तिभैरवको रथ भैरवीको मन्दिरमा पु¥याइनुलाई भैरव आमाको मुख हेर्न आएको भन्ने धार्मिक जनविश्वास यस क्षेत्रका मानिसमा लिच्छविकालदेखि रहेको कान्तिभैरव जात्राका विषयमा त्रिभुवन विश्वविद्यालयबाट संस्कृति विषयअन्तर्गत स्नातकोत्तर तहको शोध गरेका वटुराम भण्डारी बताउँछन् । रथ बिसाएपछि कर्माचार्य थरका पुजारीले बलिसहित पूजा गरेरमात्र सिन्दूर जात्रा गर्ने र रथ उठाउने परम्परा रहेको पनि उहाँले जानकारी दिए ।

रथ उठाएर महतटोल, किसिगाल, भैरवचौर, तालिञ्चोक, चौतारा र नयाँपाटीलगायतका स्थानमा पनि बलिसहित पूजा गरिन्छ । सिन्दूरजात्रा गर्दै रथलाई राजा मानदेवले बसाएको ऐतिहासिक गोकर्णदेशे अर्थात् लाछीमा लगी राखिन्छ । श्रीगणेश र श्रीकुमारीको रथ पनि त्यहाँ सिँगारेर राखिएको हुन्छ । यहाँ श्रीभैरव, श्रीगणेश र श्रीकुमारीको तान्त्रिक विधिअनुसार पूजा गरिन्छ । तीनै देवी देवताका रथलाई पुनः सिन्दूरजात्रा गरी गोकर्णेश्वरका विभिन्न क्षेत्रमा घुमाइन्छ ।

औँसीका दिन साँझ डबलीको दायाँबायाँ श्रीगणेश र श्रीकुमारी एवम् बीचमा श्रीभैरवको रथ बिसाएपछि आमाको मुख हेर्ने दिनको जात्रा समाप्त हुन्छ । वैशाख शुक्ल प्रतिपदाका दिन केपूजा गरेपछिमात्रै रथ उठाइन्छ । गोकर्णेश्वर नगरपालिका वडा नं ५ बाट प्रतिपदाका दिन मध्याह्न सिङ्गो बाँसको पाँचवटा आँख्लामा पाँचथरी कपडाका ध्वजा बाँधी बाजागाजासहित श्रीभैरवको तान्त्रिक पूजा गरी बलि चढाइन्छ । यसपछि ध्वजा भएको बाँसको टुप्पाले रथको गजुरमा जुधाएर रथ उठाई डठुलाछीमा लगिन्छ । यस दिन गोकर्णेश्वर नगरपालिकाका ऐतिहासिक १० गाउँका मानिस पूजा सामग्रीसहित आएर पूजा गर्दछन् । यसरी पूजा गरेपछि स्थानीयवासीले आफ्ना आफन्त र नाता कुटुम्बलाई घरमा बोलाई भोज खुवाउने प्रचलन छ ।

वैशाख शुक्ल द्वितीया र तृतीयाका दिन पनि रथलाई गोकर्णेश्वरका विभिन्न क्षेत्रमा घुमाइन्छ । वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीयाका दिन साँझ भैरवलाई मन्दिरभित्र प्रवेश गराएपछि ऐतिहासिक पाँचदिने जात्रा सम्पन्न हुन्छ ।

जात्रा सञ्चालनका लागि राजा मानदेवको पालादेखि नै प्रशस्त गुठीको व्यवस्था गरिएकामा हाल गुठी मासिएपछि पशुपतिनाथ अमालकोट र गोकर्णेश्वर नगरपालिकाले जात्राको खर्च व्यहोर्ने गरेका छन् । यस वर्षको जात्राका लागि नगरपालिकाले रु एक लाख छुट्याएको छ । जात्राका लागि छुट्याएको रकम कम हुँदा ऐतिहासिक महत्वको परम्परा धान्न मुस्किल परेको गुठियारहरुको गुनासो छ ।

यही जात्राको नामबाट कान्तिपुर नगरको नामाकरण गरिएको विषय त्रिभुवन विश्वविद्यालय संस्कृति विषयका प्राध्यापक मिलनरत्न शाक्यले आफ्नो पुस्तकमा उल्लेख गरेको जात्राको विषयमा स्नातकोत्तर शोध गरेका भण्डारीले जानकारी दिए ।

मध्यरातिको जात्रा भए पनि स्थानीयवासीको सहभागिता भव्य हुन्छ । मध्यरातमा हुने जात्रा भएकाले चिरागको विशेष किसिमको बत्ती बाल्नु यो जात्राको सबैभन्दा आकर्षक पक्ष भएको श्यामकृष्ण श्रेष्ठ बताउँछन्  ।

रासस



from Nepal123.com - राजा मानदेवको पालादेखि निरन्तर कान्तिभैरव जात्रा

ट्याक्टरको ठक्करले आमाछोरीको मृत्यु

२४ वैशाख, भीमदत्तनगर। गएराति कञ्चनपुरको बेलौरी नगरपालिका–७ रामनगरमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ३० वर्षीया अम्बिकादेवी साउद पाल र उनकी दुई वर्षीया छोरी एलिसा पाल रहेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक भरत चौधरीले बताए ।

से १ प २९७६ नम्बरको मोटरसाइकलमा पति कल्याण सिंह पालसहित घर गइरहेका पाल दम्पतीलाई से १ त ७८६४ नम्बरको ट्याक्टरले ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक कल्याण भने सकुशल रहेको प्रहरीले बताएको छ ।

ट्याक्टर चालक सुखराम राना र ट्याक्टर प्रहरी नियन्त्रणमा छन् भने मतृक आमाछोरीको शव परीक्षणका लागि भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पताल पुर्याइएको छ । रासस



from Nepal123.com - ट्याक्टरको ठक्करले आमाछोरीको मृत्यु

प्रधानमन्त्री ओलीको भाषणमा राजेन्द्र महतोको कडा प्रतिक्रिया

काठमाडौं, २४ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीवार संसदमा गर्नुभएको सम्बोधनबारे मधेशी मोर्चाका नेता तथा सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले कडा प्रतिक्रिया दिनु भएको छ ।

महतोले संसदमा कमेडी गर्दै भाषण ठोकेर देश र मधेशको समस्या समाधान नहुने बताएका हुन् । प्रधानमन्त्रीले हिजो संसदमा गरेको सम्बोधनलाई लक्षित गर्दै सदभावना पार्टीका अध्यक्ष महतोले भने प्रधानमन्त्री कुरा भाषण र बोलीमा मात्रै सीमित रहँदा देश र मधेश दुबै समस्यामा झन् अल्झिँदै गएको छ ।

वार्ता र संवादको माध्यमले मधेशको माँग पूरा गर्ने प्रधानमन्त्री ओलीको भनाईबारे महतोले भने “संसदमा र अरू ठाउँमा वार्ता र संवादको चर्को कुरा गर्ने तर त्यसलाई व्यवहारमा नल्याए समस्या कहिले समाधान हुँदैन ।’ महतोले प्रधानमन्त्री ओलीमाथि मधेशको समस्याबारे थोरैपनि गम्भीरता नरहेको र समस्या समाधान गर्न पट्टकै पनि नचाहेको आरोप लगाए । उनले भने- ‘ओली सरकार बनेपछि दर्जनौं पटक वार्ता भयो तर सरकारी पक्ष कहिले गम्भीर भएर प्रस्तुत भएन ।’

प्रधानमन्त्री ओलीको संसदमा सम्बोधनबारे प्रतिक्रिया लिन पुगेका संचारकर्मीहरूलाई महतोले ओलीलाई गणतन्त्र नेपालकै सबैभन्दा कमजोर र असफल प्रधानमन्त्री भएको दाबी गरे । उनले ओलीको बोलीमाथि कटाक्ष गर्दै भने कमेडी र उखान टुक्काले देश चल्दैन । महतोले मधेशको राजनीतिक समस्या समाधान नगरि नयाँ संविधान कार्यान्वयन नहुने ठोकुवा समेत गरे ।

प्रधानमन्त्रीद्वारा संविधानको पुनर्लेखनबारे संसदमा गरेको टिप्पणीमाथि सदभावना अध्यक्ष महतोले आपत्ति जनाएका छन् । उनले संविधानको पुनर्लेखनको माग मधेशी मोर्चाको नरहेको स्पष्ट पार्दै संविधान संशोधननै रहेको बताए । ‘ओलीजीले मधेशको मुद्दा डाईभर्ट गर्न खोजे । मधेशी मोर्चाले कहिले पनि र कुनै पनि वार्तामा संविधान पुनर्लेखनको कुरा गरेको छैन । हामी संविधान संशोधनबाटै मधेशी थारू लगायत यस देशका सम्पूर्ण आदिवासी, जनजाति, दलित, महिला, मुस्लिम, पिछडिएका, सीमान्तकृत समुदायको खोसिएको अधिकार सुनिश्चित गर्न आन्दोलनमा छौं ।’

सीमांकनबारे प्रधानमन्त्री ओलीले दिएको मंतब्यमा आफूहरूको घोर आपत्ति रहेको बताउँदै महतोले एक वर्षमा सीमांकनको मुद्दा टुंग्याउने प्रमको अभिव्यक्तिले मधेशी जनता झन् आक्रोशित बनेको बताए । महतोले भने– एक वर्षमा सीमांकनको विवाद सुल्झाउने भनेको मधेशमा एक वर्षसम्म द्वन्दलाई अझ निम्ताउने हो । सीमांकन लगायत ११ बूँदे मोर्चाको माँग हाम्रो बटमलाईन हो ।’ सीमांकन विवाद समाधान नभएसम्म मधेश समस्या समाधान नहुने र देशमा पनि स्थायित्व र स्थिरता नआउने महतोले दाबी गरे ।

राजेन्द्र महतोले ओली सरकार मधेशको राजनीतिक समाधानबारे मात्रै असफल नभएको भन्दै देशमा फैलिएको कालोबजारी र माफियातन्त्रलाई पनि निस्तेज गर्न पूर्ण रूपमा असफल भएको बताए । उनले भने- ‘नाकामा अवरोध हटेको महिनौं बितिसक्दा पनि देशको जनताले सहज रूपमा तेल, ग्यास र औषधि समेत नपाउनु सरकारको निकम्मापन हो ।’ महतोले

प्रधानमन्त्री ओली भूकम्प पीडित जनतालाई राहत दिनुको सट्टा पूरै सरकार र सरकारीतन्त्र कालोबाजारी र माफियातन्त्रलाई संस्थागत गर्नमा व्यस्त रहेको आरोप समेत लगाए ।



from Nepal123.com - प्रधानमन्त्री ओलीको भाषणमा राजेन्द्र महतोको कडा प्रतिक्रिया

नेपालको सरकार परिवर्तनका विषयमा भारतको हात छ कि छैन ?, बोल्यो भारत

काठमाण्डु, २४ वैशाख– भारतले नेपाल राजनीतिक घटनाक्रमलाई आफूले नजिकबाट नियालीरहेको बताएको छ ।

विदेश मन्त्रालयमा आयोजित नियमित पत्रकार भेटघाटका क्रममा भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकाश स्वरुपले सरकार परिवर्तन गर्ने विषय नेपालको आन्तरिक मामिला भएको बताउँदै भने, ‘सरकार परिवर्तन गर्ने, नगर्ने विषय नेपालको आन्तरिक विषय तर नेपालको छिमेकी मित्र भएकाले हामीले त्यहाँको राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालेका छौँ ।’

नेपालको सरकार परिवर्तनका लागि भारतले खेल खेलेको आरोप लागिरहेका बेला स्वरुपले ले नेपालको विषयमा मिश्रीत प्रतिक्रिया दिएका हुन् ।

मन्त्रालयको नियमित भेटघाटका क्रममा भारतीय पत्रकारले प्रायजसो नेपालको विषय उठाउने गछौँ ।



from Nepal123.com - नेपालको सरकार परिवर्तनका विषयमा भारतको हात छ कि छैन ?, बोल्यो भारत

Thursday, May 5, 2016

भूकम्प प्रभावित क्षेत्रहरुमा पुनर्निर्माण प्राधिकरणको सक्रियता बढ्दै

सिन्धुलीमा आवास निर्माणका लागि अनुदान वितरण प्रक्रिया आजदेखि सुरु हुने ।

सिन्धुलीमा भूकम्पपछिको आवास निर्माणका लागि अनुदान वितरण प्रक्रिया आजदेखि पुनः सुरु हुने भएको छ । अहिले प्राविधिकको टोली पुगेकाले आवास निर्माणका लागि अनुदान वितरण प्रक्रिया सुरु हुने भएको हो ।

बुधबार बेलुकासम्ममा हाजिर हुन गएका ४९ जना इन्जिनियरलाई गाविसको जिम्मेवारी तोकिएको र आज सम्बन्धित गाविसमा गई आवास निर्माणका लागि अनुदान वितरण प्रक्रिया थालिने बताइएको छ । इन्जिनियरहरु गाविसमा पुगिसकेपछि घर निर्माणका लागि आवश्यक सामग्रीको निरीक्षण गर्ने, रकम सम्झौताका लागि काम थालनी गर्नेलगायतका काम गर्ने सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय सिन्धुलीले जनाएको छ ।

यस्तै, इन्जिनियरहरुले गाविसमा आवास निर्माणका लागि पीडितलाई १७ वटा भूकम्प प्रतिरोधी घरको नक्सा देखाउने र पीडितको रोजाइका आधारमा घर बनाउनु सघाउने छन् । पीडितले १७ वटा नक्सामा पर्नेबाहेकको घर पनि बनाउन पाउने खतिवडाको भनाइ छ । वर्षा लागिसक्दा समेत आवास निर्माणको सम्झौता र रकम निकासा नहुँदा काम छाडेर घर बनाउनुपरेको पीडितको गुनासो छ । स्थानीय राजनीतिक दलहरुले समन्वय गरेर निर्माणकार्यमा सहयोग गर्नुपर्नेमा अवरोध गरिँदा कतिपय स्थानमा भने पीडितले कहिले घर बनाउन पाउने हुन् भन्ने अन्योल कायम छ ।



from Nepal123.com - भूकम्प प्रभावित क्षेत्रहरुमा पुनर्निर्माण प्राधिकरणको सक्रियता बढ्दै