राजु पौडेल
२१ फागुन, झापा । पूर्वी नाका काँकडभिट्टाबाट सुख्खा सुपारी तस्करी हुने कुरा नौलो होइन । साना पोके तस्करसँग प्रहरीको लुकामारीको दृश्य दिनदहाडै जो कोहीले देख्न सक्छन् तर ठुलो परिमाणमा हुने सुपारी तस्करीको तरिका प्रहरीले समेत सुइँको पाएको थिएन ।
तर, बुधबारको घटनाले मेची भन्सार कार्यालयका माथिल्लो तहका कर्मचारीको मिलेमतोमै भन्सार परिसर भित्रैबाट सुपारी तस्करी हुने गरेको तथ्य प्रहरीले सहतमा ल्याएको छ ।
प्रहरीले कुचो बोकेको ट्रकमा ठुलो परिमाणमा सुख्खा सुपारी लुकाएर भन्सार मार्फत भारत निकासी गर्न तयारी गरेको अवस्था मेची भन्सार कार्यालय परिषरबाट फेला पारेपछि भन्सार कर्मचारीकै मिलेमतोमा तस्करी हुने गरेको तथ्य बाहिर आएको हो ।
प्रहरीले भन्सार परिषरबाट पी बी ९८०९ नम्बरको ट्रकमा करिब ५५ लाख मुल्यको ६० केजी दरका २ सय ७४ बोरा सुपारी फेला पारेको छ ।
सुपारीको भारत निर्यात प्रतिबन्धित भएका बेला तस्करहरुले गाडीको माथिल्लो भाग कुचोले छोपेर त्यसभन्दा तल सबै सुपारीका बोरा राखेको अवस्थामा ट्रक फेला परेको हो । ‘भन्सार भित्रको चेकजाँच हामी गर्दैनथ्यौं’ इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक श्यामकृष्ण अधिकारीले भने, ‘आज विशेष सूचना आएपछि चेकजाँच गर्दा कुचोबोकेको ट्रकमा सुपारी भेट्यौं ।’
दशवटा मध्ये नौ वटा गाडीहरु अझैं खोलिएका छैनन् । बुधबार बिहानै भन्सार प्रवेश गरेका ती ट्रक राति मात्रै भारत निकासी हुने तयारीमा थिए । भन्सारले राति मात्रै प्रज्ञापनपत्र दिएर ती ट्रकलाई वैधानिकरुपमा भारत जाने अनुमति दिने अवस्था थियो । प्रहरीले सुराकीका आधारमा भन्सार परिसरमा प्रवेश गरेर चेकजाँच गर्न लागेपछि भन्सार अधिकृतलगायतका कर्मचारीले चेकजाँच गर्न आनाकानी गरेको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार मंगलबार राति धुलाबारीस्थित प्रदीप चौधरीका नाममा रहेको चौधरी कुचो उद्योगको गोदामबाट सो गाडीमा सुपारी लोड गरिएको हो । उक्त कुचो उद्योगले झापाका सुपारी व्यापारी श्याम पिन्टुलाई गोदाम घर भाडामा दिएर त्यहीँ मार्फत तस्करी धन्दा गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।
पूर्वी पहाडी जिल्लाहरु बिशेष गरेर इलाममा उत्पादन हुने कुचो लगायतका कृषिजन्य वस्तुलाई सरकारले विशेष प्राथमिकतामा राखेर सहज निकासी गर्ने प्रावधान छ । त्यही प्रावधानलाई टेकेर भन्सारका कर्मचारीले त्यस्ता वस्तु लोड गरिएको सवारी चेकजाँच नै नगरी तस्करलाई साथ दिने गरेको यो घटनाले पुष्टि गरेको छ ।
तर, मेची भन्सार कार्यालयका प्रमुख भीमप्रसाद अधिकारीले कुचो लगायतका कृषिजन्य उत्पादनमा चेकजाँच नगर्ने गरिएको र यस्तो धन्दा यसअघि पनि हुन्थ्यो अथवा यो पहिलो पटक हो भन्ने बारे आफुलाई थाहा नभएको बताए ।
पूर्वको झापा, मोरङ्ग र सुनसरी लगायतका जिल्लामा मात्र उत्पादन हुने सुपारीलाई बिराटनगरको रानी भन्सारबाट मात्रै निकासी गर्न पाउने सरकारी प्रावधान छ । तर, झापाका केही तस्करले भने तेस्रो मुलुकबाट सुपारी आयात गरेर पूर्वको काँकडभिट्टा नाकाबाट भारत तस्करी गर्ने गरेका छन् । सुपारी तस्करीको सञ्जाल बलियो भनिए पनि यसरी ठूलो परिमाण र तस्करीको तरिका सार्वजनिक भएपछि प्रहरीलाई केही राहत मिलेको छ ।
किन र कसरी हुन्छ सुपारी तस्करी ?
नेपालको पूर्वी नाकाहरु सुपारी तस्करीको कारण पटक-पटक विवादमा आउने गरेको छ । भारतसँग खुला सीमा जोडिएका नाकाहरुमा सुपारी तस्करीको चर्चा केही समय चल्ने र सेलाउने क्रम बर्षेनी हुन्छ । तस्करीमा ठुलै गिरोह संलग्न रहेको भनिए पनि तस्करी नियन्त्रण गर्न सरकार, प्रहरी र स्थानीय प्रशासन कहिल्यै सफल हुन सकेको छैन ।
सुपारी तस्करी हुने प्रक्रिया झट्ट हेर्दा सरल देखिन्छ । तर, यसको जालो स्थानीयदेखि केन्द्रसम्म जोडिएको छ । सुपारी तस्करी दुई तरिकाबाट हुने गरेको छ । एउटा व्यवसायी र अर्को व्यापारिक । पूर्वी नाकाहरुमा प्रहरी र प्रशासन सँग दैनिकजसो जोडिएर आउने सुपारी तस्करी व्यापारी हो । अर्कोतिर तेस्रो देशबाट सुपारी ल्याएर नेपालमा उत्पादनको प्रमाणपत्र बनाएर र लाइन मिलाएर रातारात भारत निकासी गर्ने गिरोह व्यवसायीक तस्करहरु हुन् ।
व्यापारीबाट हुने तस्करी
अवैध मानिएको सुख्खा सुपारी ठुलो परिमाणमा एकसाथ तस्करी गर्न नसकेपछि व्यापारीले स्थानीय पोकेत स्करको माध्यमबाट मौका छोपेर तस्करी गर्ने गरेका छन् । व्यापारीले जिल्लास्थित प्रशासन, प्रहरीसँग लाइन मिलाएर सुपारी नाका कटाउने गरेका छन् ।
थोरै मेहनत गर्दा मनग्य आम्दानी हुने भएपछि सीमावर्ती क्षेत्रका सर्वसाधारणको आकर्षण पनि सुपारी तस्करीमा बढी छ । तर, भारतको नाकाबन्दीपछि पोके तस्करहरु पेट्रोलियम पदार्थको ओसार-पसारमा लागेकाले पोके सुपारी तस्करहरु देखिन छाडेका थिए ।
सिजनमा प्रतिकिलो भारु ८० देखि ८५ रुपैयाँका दरले सुपारी खरिद गरी नाका कटाउँदा प्रतिकिलो २० देखि २५ रुपैयाँ भारु आम्दानी हुन्छ । प्रहरीसँगको ‘सेटिङ्ग’ का कारण प्रहरीले सार्वजनिक बिदा, मानिसको चहल-पहल कम भएका बेला या रातमा आँखा चिम्लिदिएपछि पोके तस्करहरुले सुपारी झोला, बोरा र स्कुले झोलामा बोकेर र साइकलबाट गुडाएरै मेची नदी पार गर्छन् ।
सुपारी तस्करी भइरहेको विषयमा जिल्लाका सम्बन्धित निकायहरु हत्तपत्त प्रतिक्रिया दिन चाहँदैनन् । जिल्लाका प्रमुख, प्रहरी प्रमुखहरु समेत सुपारी तस्करीको विषयमा खुलेर कुरा गर्न चाहँदैनन् । यस अघि झापाका पूर्वप्रमुख जिल्ला अधिकारी एकमणि नेपालले सुपारीका विषयमा आफु केही नबोल्ने बताएका थिए ।
काँकडभिट्टास्थित इलाका प्रहरी कार्यलयका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक श्यामकृष्ण अधिकारी थोरै जनशक्तिका भरमा काम गर्नुपरेकाले पुरै तस्कर नियन्त्रण गर्न नसकिएको दाबी गर्छन् ।
व्यावसायिक तस्करी
सुपारी गुट्खा तथा सुर्तीजन्य पदार्थ उत्पादनका लागि प्रयोग हुन्छ । पछिल्लो समय यसको माग नेपालमा भन्दा भारतमा बढी छ । नेपाली व्यवसायीले उत्पादनको ‘उत्पत्तिको प्रमाणपत्र’ बनाएर मात्र निश्चित मात्राको सुपारी विराटनगरस्थित रानी भन्सारबाट निकासी गर्न पाउँछन् ।
उत्पादन र उत्पति प्रमाणपत्रको तथ्यांक हेर्दा नै थाहा हुन्छ, सुपारी तस्करीको जालो सामान्य छैन । कृषि मन्त्रालयको सिफारिसमा झापामा गत वर्ष मात्र ९ हजार ८ सय र मोरङ्गमा २ हजार मेटि्रक टन सुपारी उत्पादन भएको भन्दै सम्बन्धित जिल्ला उद्योग वाणिज्य संघले व्यवसायीलाई भारत निकासीका लागि उत्पतिको प्रमाणपत्र दिएको थियो ।
जबकि, देशभर उत्पादित सुपारीको वास्तविक तथ्यांक पुग नपुग ५ हजार मेटि्रक टन मात्रै छ । यही उत्पतिको प्रमाणपत्र लिन विभिन्न संस्थाको यतिबेला होडबाजी चलेको छ । केही महिनाअघि मात्रै व्यवसायीको एक समूहले आफुहरुले समेत ‘उत्पतिको प्रमाणपत्र’ पाउनुपर्ने माग राखेर सर्वोच्च अदालतमा मुद्दा हालेको छ । त्यो मुद्दा हाल विचाराधीन अवस्थामा छ ।
अहिलेसम्म झापाको ‘नेपाल सुपारी खेती विकास संस्था’ ले उत्पतिको प्रमाणपत्र पाइरहेको छ ।
चालु आर्थिक वर्षमा सरकारले साबिक ३० प्रतिशत महशुल परिवर्तन गरी सोझै ४५ रुपैयाँ प्रतिकेजी कायम गरे पनि सुपारीको पैठारी भने घटेको छैन । बरु गत वर्षको तुलनामा ५० प्रतिशत बढी सुपारी आयात भएको छ ।
चालु आर्थिक वर्षको जेठ सम्ममा मेची भन्सार कार्यालयबाट २३ हजार १४ मेटि्रक टन सुपारी भारत हुँदै तेस्रो देशबाट नेपाल भित्रियो । त्यति नै परिमाणको सुपारी नेपालमा खपत हुने अवस्था छैन ।
कहाँ जान्छ यत्रो सुपारी ?
पान मसला, गुट्खा लगायत उत्पादनका लागि भारतमा सुपारीको माग उच्च छ । भारत सरकारले विदेशी सुपारीको आयातमा १ सय १३ प्रतिशत भन्सार शुल्क तोकेपछि सोझै आयात गर्दा महंगो पर्छ ।
कृषिजन्य उत्पादनको सुचीमा पर्ने नेपालमा उत्पादित सुपारी भारत निकासी गर्न भने ४० प्रतिशत शुल्क तिरे पुग्छ । यही सुविधा दुरुपयोग गर्दै नेपाल र भारतका तस्करले तेस्रो देशबाट भारत हुँदै नेपाल ल्याएको सुपारी फेरि भारतीय बजारमै पुर्याउँछन् ।
सुपारी कारोबारमा संलग्न व्यापारीका अनुसार नेपालमा उत्पादित सुपारी भारत पुर्याउँदा अधिकतम २० रुपैयाँ प्रतिकेजी मात्र पाउँछन् । त्यही बजारमा तेस्रो देशबाट ल्याइएको सुख्खा सुपारी प्रतिकिलो ४ सय रुपैयाँसम्ममा बिक्री हुन्छ ।
नेपालबाट तेस्रो देशको एक किलो सुपारी भारत पुर्याउँदा किलोमा सहजै एक सय रुपैयाँ फाइदा निस्कन्छ । यसरी एक टन सुपारी भारत पुर्याउँदा सहजै एक लाख रुपैयाँ फाइदा हुन्छ । सुपारी तस्करीको जालो फैलिनुमा मुख्य कारण यही नाफा नै हो ।
सुपारी तस्करीकाे भिडियो हेर्नुस्
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment