Thursday, March 3, 2016

अर्काको सम्पत्ति कब्जा गर्ने यी नेपाली नटवरलाल

– मनबहादुर बस्नेत

सेतो कुर्ता–सुरुवाल पहिरिएकी उनी उदास छिन् । अनुहारमा डर र त्रासका बांगाटिंगा धर्सा दौडिरहेझैँ लाग्छ । स्वर दबिएको छ । महानगरीय प्रहरी अपराध महाशाखामा सन्त्रस्त मनोभावमा देखिएकी यी महिला दिवंगत पूर्वसेनानी मोहनबहादुर खत्रीकी पत्नी कृष्णकमल हुन् । उनले यही मनोदशामा जीवन बिताएको एक दशक कटिसकेको छ ।

माओवादी द्वन्द्वका बेला ०५९ मा पति मारिएपछि उनको जीवनमा अकल्पनीय दु:खका दिन सुरु भएका हुन् । खत्री परिवारले चलाउँदै आएको सिन्धुपाल्चोकस्थित मुढेको हर्स सु माउन्टेन रिसोर्ट माओवादीले सेनानी मोहनको हत्या गरेपछि प्रमोदराज पन्तले कब्जा गरे । सुरुमा दोस्रो वर्षदेखिको मुनाफा पन्त र खत्री परिवारले आधाआधा बाँड्ने शर्तनामा गरिएको थियो । १३ वर्ष यसरी चलाउने सम्झौता भए पनि दोस्रो वर्ष २ लाख २० हजार रुपियाँ दिएपछि पन्तले एकलौटी रूपमा रिसोर्ट कब्जामा लिए, जो आजपर्यन्त कायम छ । ‘रिसोर्टमा पैसा लिन आउँदा तपाईंलाई खतरा हुन्छ, म नै ल्याइदिन्छु भन्दै टार्दै गयो, सुरुसुरुमा । पछि त पैसा माग्दा उल्टै डर, धम्की दिन थाल्यो,’ कृष्णाकमलले प्रहरीमा दिएको उजुरीमा भनेकी छन् ।

३० लाख रुपियाँ सेयर लगानी रहेको यो रिसोर्ट गुप्त रूपमा आफ्नो स्वामित्वबाट फुत्किएको समेत पत्तो पाएन खत्री परिवारले । महाशाखाले पन्तलाई माघको अन्तिममा पक्राउ गरेपछि मात्रै अनुसन्धानका क्रममा यो रहस्य खुलेको हो । कम्पनी नवीकरणका लागि भनेर खाली कागजातमा सही गराएर पन्तले रिसोर्ट भने आफ्ना विश्वासपात्र चाबहिलका कुसाङ शेर्पाका नाममा बनाइसकेका रहेछन् । गजब त के भने रिसोर्टमा खत्री परिवारलाई नै निषेध गरिएको थियो । १० रोपनीभन्दा बढी क्षेत्रफलमा फैलिएको रिसोर्टको आम्दानी हरिँदासमेत उनीहरूले कहीँ उजुरबाजुर गरेनन् । “बाहिर हल्लाखल्ला गरे जे पनि हुन सक्ने धम्की दिएकाले उनीहरू डराएर चुपचाप बसेछन्,” महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ( एसएसपी) सर्वेन्द्र खनाल भन्छन् ।

उनीहरू कति धेरै त्रस्त रहेछन् भन्ने महाशाखाले पन्त पक्राउ गरेको एक सातासम्म पनि सम्पर्कमा नआउनुले देखाउँछ । न्याय पाइन्छ भनेर आश्वस्त तुल्याउनै प्रहरीले एक साता खर्चनुपर्‍यो ।
आफूलाई प्रफुल्ल राणा भनेर चिनाउने पन्तले दिवंगत भइसकेका पूर्वपरराष्ट्रमन्त्री शैलेन्द्रकुमार उपाध्यायकी बुहारी सुनीता उपाध्यायको ललितपुरस्थित मानभवनमा रहेको साढे दुई तले घरसमेत एक दशकदेखि आफ्नो कब्जामा लिएको पत्ता लागेको छ । यो घर कब्जा गर्न उनले पारिवारिक बेमेललाई बाटो बनाएका थिए । सुनीता ०५८ देखि नै अमेरिकामा बस्दै आएकी छन् ।

ससुराले सुनीताका नाममा घर पास गराइदिएका थिए । पछि पति सुशीलसँग उनको ०६१ मा पारपाचुके भयो । त्यसपछि सम्पत्तिमा विवाद भएपछि सुनीतालाई तह लगाउन सुशीलले पन्तलाई अघि सारे । “सम्बन्धविच्छेद भएलगत्तै यो घरमा सुशील र पन्त बस्न थाले,” सुनीताका भदा अंगिरा थापा भन्छन्, “केही समयपछि नै पन्तले सुशीललाई घरबाट निकालिदिए र एकलौटी कब्जा गरे ।”

त्यसपछि उपाध्याय परिवार घर खाली गराउन न्यायालयको शरणमा पुग्यो । ललितपुर जिल्ला अदालतले जेठ ०६८ मा घर खाली गराउने आदेश दियो । तर, पन्तले अदालती आदेशको पालना गरेनन्, उल्टै पुनरावेदन अदालत गए । पुनरावेदनले समेत जिल्लाकै निसाफ सदर गरिदियो । यति मात्र होइन, सर्वोच्चमा जान नपाउने गरी फैसला सुनाइदियो, ०७० जेठमा । घर खाली गराइदिएर साँचोसमेत दिएको थियो, अदालतले सुरक्षाकर्मीको सहयोगमा । तर, त्यसको दुई दिनपछि नै पन्तले पुन: कब्जा गरे । “त्यसपछि हामीले जिल्ला अदालतमा चलन कटक ( अदालती फैसला उल्लंघन)को निवेदन दियौँ,” थापा भन्छन् । अदालतले एक सय रुपियाँ जरिवाना तोकेर घर खाली गराउन भन्यो । तर, पन्त जिल्ला अदालतको निर्णय मान्य नहुने जिकिर गर्दै पुन: पुनरावेदनमा गएका छन् । “जसरी पनि प्रक्रिया लम्बाएर सम्पत्ति कब्जा गर्ने उसको दाउ छ,” थापा भन्छन् ।

पोखराबाट पक्राउ परेका पन्त त्यहाँसमेत जग्गाकै ‘केस’ मिलाउन पुगेका थिए । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतका अनुसार उक्त केस मिलाएबापत पन्तले ६ करोड रुपियाँ पाउने सहमति बनेको थियो ।

खासमा उनी ग्यालेक्सी स्कुलकी संस्थापक एवं सांसद गीता राणालाई धम्क्याएको अभियोगमा पक्राउ परेका हुन् । सांसद राणासँग केही रकम मागेको र नदिए छोरी वा स्कुलका विद्यार्थी अपहरण गर्ने धम्की दिएपछि पक्राउ परेका पन्तबाट अपराधका अन्य आयाम अनौठोसँग जोडिन थालेपछि प्रहरीसमेत अचम्मित बनेको छ । “व्यक्तिको कमजोरीमा टेकेर उसले सम्पत्ति खाने दाउ गरेको देखिन्छ,” महाशाखाका प्रहरी नायव उपरीक्षक (डीएसपी) रमेश थापा भन्छन् ।

पन्तको धन्दा करिब साढे दुई दशकदेखि नै सुरु भएको प्रहरी अभिलेख छ । उनी ०५० सालमा प्रहरीको नक्कली डीएसपी बनेर ब्ल्याकमेलिङ काण्डमा समेत मुछिएका थिए । पन्तकै योजनामा सुरेन्द्रमुनि तुलाधरबाट विशेष प्रहरीको कर्मचारी भन्दै साढे आठ लाख रुपियाँ असुलिएको थियो । ‘तैँले विभिन्न केटीसँग अनुचित कार्य गरेको फोटो खिचेको छु, पैसा नदिए कारबाही हुन्छ’ भनेर धम्काएपछि तुलाधरले पैसा दिएका थिए । प्रहरी अनुसन्धानबाट पन्तले फुलीसमेत किनेर ल्याएको खुलेको थियो । प्रहरी बयानमा पन्तले ठहिँटी जाने बाटोमा रहेको पसलबाट फुली किनेको बताएका थिए ।

तर, काठमाडौँ जिल्ला अदालतले पन्तसहित सबैलाई सफाइ दिएको थियो, ०५४ फागुनमा । अदालतले पन्तले प्रहरीमा दिएको बयानमाथि प्रश्न उठाउँदै सफाइ दिएको थियो । प्रहरीले कुटपिट गरी बयान गराएकाले उक्त बयान आफ् नो राजीखुसीबाट भएको होइन भन्दै फैसलामा भनिएको छ, ‘स्वतन्त्र प्रमाणबाट पुष्टि हुन आएको नदेखिएकाले सबुद प्रमाणको अभावमा प्रमोदराज पन्तले अभियोगबाट सफाइ पाउने ठहर्छ ।’ पुनरावेदनको संयुक्त इजलासले समेत जिल्लाकै फैसला  सदर गरिदिएको थियो ।

जिल्ला र पुनरावेदन दुवै अदालतबाट सफाइ पाएको तीन वर्षपछि नै पन्तले नेपाल औद्योगिक विकास निगमलाई समेत मोटो रकम ठग्न भ्याए । दरबारमार्गस्थित कार्यालयबाट पन्तले हिमशिला कार्पेट इन्डस्ट्रिजका नाममा कीर्ते कागजात पेस गरेर ४० लाख रुपियाँ ऋण लिएका थिए । साँवा र ब्याज गरी निगमलाई १ करोड ७ लाख रुपियाँ नोक्सान पुर्‍याएको यो मुद्दामा काठमाडौँ जिल्ला अदालतले पन्तसहित अन्यलाई दुई वर्ष कैद सजाय र ९१ लाख ६३ हजार २ सय ५४ रुपियाँ जरिवाना तोकेको थियो, ०६५ मा । तर, पन्तले यो सजाय भुक्तान गरेनन् । बरू, फैसलाविरुद्ध उत्प्रेषण रिट हाले । ०६१ मा परेको मुद्दालाई पन्तले ठेल्दै करिब १३ वर्ष गुजारिसकेका छन् । “उसको पहुँच कहाँ छैन,” एसएसपी खनाल भन्छन्, “फिल्मको कथानकभन्दा रोचक छ उसका सम्बन्ध र ठगीका आयाम ।”


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment