Wednesday, February 24, 2016

तारा एयरको विमान दुर्घटना- २३ को मृत्यु

प्रताप बानिया, म्याग्दी

खराबाट बुधबार बिहान ७ बजेर ५५ मिनेट जाँदा मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको ९ एनएएचएच विमान बुधबार दाना–१ स्थित सोले घोप्टे भीरमुनि केकरको रुखमा ठोक्किएर आगो लागेर दुर्घटना भएको छ।

उक्त विमानमा चालक दलका सदस्य ३, कुवेती नागरिक १, चिनियाँ नागरिक १, नाबालक २ जनासहित २३ जना सवार रहेका थिए। जसमा महिला ९ र १४ जना पुरुष रहेका छन्। प्रहरीले घटनास्थलमा १९ वटा शवहरू संकलन गरेको र कुनै पनि शवहरू पहिचान हुन नसक्ने अवस्थामा रहेको र अन्य बाँकी यात्रुहरूको खोजतलास जारी रहेको जनाएको छ।

भीरमा ठोक्किएर दुर्घटनाग्रस्त जहाज पूर्णरूपमा जलेको छ। अहिलेसम्म १९ जनाको शव फेला परेको घटनास्थल पुगेका म्याग्दीका प्रहरी निरीक्षक लोकेन्द्र सिगुरुले बताउनुभयो। नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीयबासीले घटनास्थल पुगेर छरिएर रहेका शवहरू संकलन गरेका थिए। भेटिएका शवमध्ये ५ जनाको मात्रै चिन्न सक्ने र अन्य चिन्न नसकिने अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

दुर्घटनामा परेको विमानको अधिकांश भाग डढेको छ भने केही भाग क्षतविक्षत अवस्थामा भीरमा अड्किएर रहेको बताइएको छ।

जहाज भीरको खाेंचमा दुर्घटनामा परेको हुँदा त्यहाँबाट तल पनि ठूलो भीर रहेकाले केही शवहरू भीरबाट खसेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।

बिहान ७ः५० बजे पोखराबाट जोमसोमका लागि उडेको ९ एनएएचएच ट्विनटर विमानमा दुई बालबालिकासहित २० जना यात्रु र चालक दलका तीन सदस्य सवार थिए। दुर्घटनास्थल निकै अग्लो स्थानमा भएको र बाक्लो हुस्सु लागेको कारणले गर्दा उद्धारको कामले सार्थकता पाउन सकिरहेको छैन।

दाना प्रहरी चौकीका प्रहरी जवान फूलकुमार थापा र स्थानीय युवा नवीन खड्काको नेतृत्वमा खोजीका लागि गएको टोलीले सम्पर्कविहीन भएको झन्डै ५ घण्टापछि दुर्घटनाग्रस्त अवस्थामा जहाजलाई फेला पारेका थिए। दुर्घटनाग्रस्त क्षेत्रमा अहिले म्याग्दीका प्रहरी नायब उपरीक्षक विश्वराज खड्का, प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकलगायतको टोली त्यसतर्फ गएको छ। दानाबाट दुर्घटनास्थलमा पुग्न पैदलबाट झन्डै ५ घण्टाको समय लाग्छ।

पोखराबाट विमान उड्दा मौसम सफा भए पनि म्याग्दी प्रवेश गर्नासाथ एक्कासि बाक्लो हुस्सु देखिएपछि विमान त्यही हुस्सुमा छिरेको थियो। बाक्लो हुस्सु र पोखरा विमानस्थलसँगको अन्तिम सम्पर्कपछि जोमसोम विमानस्थलसँग सम्पर्क हुन नपाउँदै विमानले बाटो बिराएको र बाक्लो हुस्सुका कारण अगाडिको दृश्य नदेखिएका कारण दुर्घटना भएको हुन सक्ने आशंका प्रहरीले गरेको छ।

विमानले बाटो बिराएपछि जुन उचाइमा जानुपर्ने थियो त्यो उचाइमा जान नपाउँदै अग्लो पहाडमा ठोक्किन पुगेको आँकलन घटनास्थलमा पुगेका प्रहरीले गरेका छन्। हिमपातका कारण उद्धार कार्यमा अप्ठेरो परेको र मृतकहरूको शव आज मात्रै पोखरा ल्याइने बताइएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विमान दुर्घटनाका सम्बन्धमा बुधबार मुम्बईबाटै चासो दिएर कार्यवाहक प्रधानमन्त्री विजय गच्छदार र पर्यटनमन्त्री आनन्दप्रसाद ढुंगानालाई फोन गरेर तदारुकताका साथ खोजी तथा उद्धार गर्न आग्रह गर्नुभएको थियो। यसबीच तारा एयरको विमान दुर्घटनाका सम्बन्धमा बुधबार एक वक्तव्य जारी गरी नेकपा एमालेले अमूल्य जीवन गुमाउन पुगेका स्वदेशी तथा विदेशी सबैप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकाकूल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ।

मृत्यु हुने को को ?
बाह्र वर्षपछि जन्मेकी छोरी पनि रहिनन्

बुधबार भएको तारा एयरको विमान दुर्घटनामा २३ जनाको मृत्यु भएको छ। मृतकमा यात्रुहरू रेवती बराल, मुक्तिनाथ बास्तोला, विनिता भट्टचन, कृष्णलाल भट्टचन, दिलकुमारी गौचन, देवीजंग गुरुङ, फेनजोक भट्टचन, लक्ष्मी हिराचन, मोतीबहादुर केसी, पवित्रा केसी, लेप्साङ लामा, बालकृष्ण निउरे, डोल्माछिरिङ शेर्पा, राजकुमार तामाङ, कमला थकाली, एक बालिका, एक बालक, एए अहमद (कुवेत), माकस्यु यिङ (चीन) रहेका छन्। त्यस्तै चालक दलका सदस्य क्याप्टेन रोशन मानन्धर, सहचालक डिकेश नेमकुल र परिचारिका रोमा रावत रहेका छन्। मृतकमध्ये तामाङ नेपाली सेनाका जवान हुन्। छोराको पास्नीका लागि काठमाडौं आएर उनी नेपाली सेनाको जोमसोममा रहेको उच्च शिखर शिक्षालयमा कार्यरत रहेका थिए।

सो दुर्घटनामा परी जिल्ला विकास समितिकी सामाजिक कार्यकर्ता कमला थकालीको पनि मृत्यु भएको छ। उनकी ७ महिनाकी छोरीसमेत दुर्घटनामा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख प्रहरी नायब उपरीक्षक हरिहर योगीले जानकारी दिनुभयो। विवाह गरेको १२ वर्षपछि कमलाले ७ महिनाअघि छोरीलाई जन्माएकी थिइन्।

बालकृष्ण निउरे कोष तथा लेखा नियन्त्रक कार्यालयका सहलेखापाल हुन्। रेवती बराल जिल्ला प्रशासन कार्यालय मुस्ताङका नायब सुब्बा हुन्। मुक्तिनाथ बास्तोला मुक्तिनाथ गाविसका गाविस सचिव हुन्। कृष्णबहादुर भट्टचन शाही शासनकालका जिल्ला विकास समितिका उपसभापति हुन्। मारिने दुई विदेशीबाहेक सबै मुस्ताङ जिल्लाका भएको डीएसपी योगीले जानकारी दिनुभयो। मारिएका बालक विनिता भट्टचनको छोरा भएको प्रहरीले जानकारी दिएको छ। उनी एक वर्षभन्दा कम उमेरको भएको बताइएको छ।
जागिर छोड्ने भन्थिन् संसारै छोडिन्
सुरेश तामाङ, काठमाडौं

बुधबार म्याग्दीमा दुर्घटनामा निधन भएकी तारा एयरकी परिचारिका काठमाडौं कुलेश्वरकी २५ वर्षीया रोमा राउत हुन्। करिब साढे ३ वर्षअघिदेखि रोमा तारा एयरमा कार्यरत थिइन्।

रोमाले एडमार्क कलेज कलंकीबाट एक वर्षअघि मात्रै व्यवस्थापन संकायमा स्नातक तह उत्तीर्ण गरेकी थिइन्। परिवारमा आमा गीता, दाजु पदम र भाइ प्रमोद रहेका उनको बाबुको भने निधन भइसकेको छ। दाजु पदम मेगा बैंकमा काम गर्छन् भने भाइ प्रमोद नेपाल प्रहरीमा असई छन्।

उनका भाइ प्रमोदका अनुसार एयर होस्टेज बन्नु रोमाको इच्छा थिएन। ‘दिदीले इच्छा नगरे पनि खाली बस्नुको सट्टा काम गर भनेर हामीले भन्यौं। एयर होस्टेजको रूपमा दिदीले तारा एयरमा काम थाल्नुभयो’ –रोमाका भाइ प्रमोदले भने। ‘दिदीले अब छोड्छु भन्दै हुनुहुन्थ्यो। त्यसपछि हामीले पनि कन्ट्रइक्ट नथप छोड भनेका थियौं’ –प्रमोदले नेपाल समाचारपत्रसँग भने। रोमासँग भने उनको पछिल्लो कुराकानी सोमबार दिउँसो भएको थियो। रोमा गत सोमबार नै काठमाडौंबाट पोखरा गएकी थिइन्। उनले मंगलबार साँझ आमालाई फोन गरेर ‘भोलि जोमसोम जाने’ कुरा गरेकी थिइन्।
गुड डे भने ब्याड डे भयो

विगत २२ वर्षदेखि उड्डयन क्षेत्रमा संलग्न रोशन अहिलेसम्म कुनै पनि सानातिना दुर्घटनामा परेका थिएनन्। यसले गर्दा पनि उनको विमान दुघर्टनामा परी मृत्यु होला भन्ने परिवारले कहिल्यै सोचेको थिएन।

पोखराबाट जोमसोमतर्फ उडेको तारा एयरको विमान हराएको खबर पाउनेबित्तिकै पाइलट रोशन मानन्धरको घरमा रुवाबासी चलेको थियो। तैपनि खबर सत्य नहोला कि भन्दै परिवारले तारा एयरको काठमाडौं कार्यालयमा सम्पर्क गरे। तारा एयरले पनि विमान हराएको खबरको पुष्टि गर्यो। खबर पाएपछि मानन्धरको घरमा झनै रुवाबासी चल्न थाल्यो। र, विस्तारै उनको डल्लुस्थित आवासमा आफन्तहरू आउने क्रम बढ्यो।

विगत २२ वर्षदेखि उड्डयन क्षेत्रमा संलग्न रोशन अहिलेसम्म कुनै पनि सानातिना दुर्घटनामा परेका थिएनन्। यसले गर्दा पनि उनको विमान दुघर्टनामा परी मृत्यु होला भन्ने परिवारले कहिले सोचेको थिएन। ‘जे नसोचेको आज त्यही भयो’ –छोरी रूपमाले भनिन्। यसअघि चालक मानन्धर काठमाडौं–लुक्ला विमान चलाउने गर्दथे। छोरी रूपमा फेसन डिजाइनिङ कोर्स सकेर अहिले काम गर्दै छिन्। बहिनी उपमा फिनल्यान्डमा नर्सिङ कोर्स गर्दै छिन्। मानन्धरका एक छोरा ऋषि मानन्धर अहिले कक्षा ७ मा पढ्दै छन्। मृतक मानन्धर ५२ वर्षको हुनुहुन्थ्यो।

पोखराबाट जोमसोमतर्फ उडेको नाइन एएचएच कल साइन भएको तारा एयरको विमानबाट रमेशले अन्तिमपटक सञ्चार सम्पर्कमा बोले– ‘फेरि भेटौंला, गुड डे।’ तर, उनका लागि हिजोको दिन ब्याड डे हुन पुग्यो। तर उनको यो इच्छा पूरा हुन सकेन। बुधबार दुर्घटना भएको विमान ५ महिनाअघि मानन्धरले नै क्यानडाबाट उडाएर ल्याएका थिए।

छानविन आयोग गठन

काठमाडौं, (नेस)। पोखराबाट जोमसोम जाँदै गरेको तारा एयरको विमान दुर्घटना भएपछि सरकारले छानविन आयोग गठन गरेको छ।

नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक राजेशराज दलीको संयोजकत्वमा छानविन टोली गठन गरेको हो। आयोगको सदस्यमा नेपाली सेनाका महासेनानी दीपक बास्तोला, क्याप्टेन श्रवण रिजाल, इन्जिनियर रामप्रसाद कोइराला र सदस्य सचिवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्य रहेका छन्। सो समितिलाई एक महिनाभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment