१३ फागुन, बेनी । म्याग्दीको दाना–२ सोलीघोप्टे भीरमा हिजो भएको तारा एयरको विमान दुर्घटनामा परी ज्यान गुमाएकाहरुको शव सङ्कलन शुरु भएको छ ।
घटनास्थलमा उद्धार सामग्रीसहित पुगेको नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले मृतकको शव सङ्कलन गरी पोखरा पठाउने तयारी गरेको हो ।
घटनास्थलमा तीनवटै निकायका करिब २०० सुरक्षाकर्मी परिचालन भएका र मौसम सफा भएकाले सजिलो भएको म्याग्दीका प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले जानकारी दिए ।
उन्नाइसवटा शव घटनास्थलमा भेटिएका छन् । थप चारवटा शवको खोजी भइरहेको छ । शव सङ्कलन गरी हेलिकप्टरमार्फत पठाउने तयारी गरिएको हो ।
भौगोलिक रुपमा बिकट उक्त स्थानमा बुधबार दिनभर हुस्सु लागेको र सामान्य वर्षा भएकाले घटनास्थल पहिचान भएपनि अन्य काम हुन सकेको थिएन ।
चालक दलका तीनसहित २३ जना सवार तारा एयरको ट्विनअटर विमान बुधबार बिहान सोलीघोप्टेको पहाडमा ठोक्किएर दुर्घटना हुँदा सबै यात्रुको मृत्यु भएको थियो । रासस
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment