फलेवास (पर्वत), १३ फागुन । जलविद्युत् आयोजनाको प्रभावित क्षेत्रमा समेत चर्को विद्युत्भार कटौती गरिएको जनाई पर्वतवासीले आज बिहानैदेखि पोखरा–बागलुङ राजमार्ग अवरुद्ध गरेका छन् ।
तीन जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन भएको जिल्लालाई विद्युत्भार कटौतीमुक्त गराउनुपर्ने माग राख्दै बिहानैदेखि पोखरा–बागलुङ राजमार्ग बन्द गराइएको हो । राजमार्ग बन्द हुँदा धौलागिरि अञ्चलको जनजीवन प्रभावित बनेको छ ।
सडक बन्द भएपछि पर्वतसँगै बागलुङ, म्याग्दी र मुस्ताङबाट देशका विभिन्न ठाउँका लागि चल्ने सवारीसाधन चल्न सकेका छैनन् भने अन्यत्रबाट धौलागिरि अञ्चलका विभिन्न जिल्लामा आएका सवारीसाधन कास्कीको नयाँ पुलमा अलपत्र परेका छन् । यात्रु पैदल यात्रा गरेर गन्तव्यमा पुग्न बाध्य भएका छन् । राजमार्गका विभिन्न स्थानमा बन्दकर्ता बिहानैदेखि नेपाल विद्युत् प्राधिकरण र विद्युत्भार कटौतीविरुद्ध नाराबाजी गर्दै प्रदर्शनमा उत्रिएका छन् ।
प्रभावित जिल्लामै निरन्तर १० घन्टाभन्दा बढी विद्युत्भार कटौती हुने गरेको भन्दै सङ्घर्ष समिति नै गठन गरेर आन्दोलन गरिएको हो । उपभोक्ताको आन्दोलनमा स्थानीय राजनीतिक दलले पनि समर्थन गरेका छन् ।
यसअघि प्राधिकरण र जिल्ला प्रशासन कार्यालयमा विद्युत्भार कटौती अन्त्यका लागि दबाब दिँदै आए पनि सुनुवाइ नभएपछि आज राजमार्ग नै बन्द गर्नुपरेको सङ्घर्ष समितिका सचिव अच्युत तिवारीले जानकारी दिए ।
पर्वतमा १४.८ मेगावाटको मोदीखोला जलविद्युत्, १० मेगावाटको तल्लो मोदीखोला जलविद्युत् र एक मेगावाटको पातीखोला जलविद्युत् आयोजना सञ्चालनमा छन् । रासस
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment