फाल्गुन १४, २०७२- करिब ५ महिना लामो भारतको अघोषित नाकाबन्दी अघोषित रूपमै खुलिसक्यो । नाकाबन्दी खुले पनि सर्वसाधारणले सास्ती पाउनेक्रम कम भएकै छैन । इन्धन, ग्यासलगायतका अत्यावश्यक वस्तुका लागि सर्वसाधारणले अझै सकस भोगिरहेका छन् ।
पूर्वी नाकाबाट दैनिक ठूलो परिमाणमा इन्धन भित्रिरहेकै छ । तर, पेट्रोल पम्पहरू भने तेल नभएको बहानामा सधैं बन्द हुने गरेको सर्वसाधारणको गुनासो छ । उपभोक्ता तेल हाल्न जाँदा पम्प अक्सर बन्द हुन्छन् । कहिले आउँछ तेल ? भनेर सोध्दा पम्प सञ्चालकको रूखो जवाफ आउँछ, ‘थाहा छैन ।’
केही पम्पहरूले भने आयल निगममार्फत प्राप्त तेलमध्ये आधा मात्रै वितरण गरेर मेसिन बन्द गर्ने गरेको उपभोक्ताको गुनासो छ । ‘एक घण्टा पनि नबाँडी तेल सकियो भनेको सुनिन्छ,’ झापा धुलाबारीका उपभोक्ता ज्ञानप्रसाद गौतमले भने, ‘लाइनमा बस्दाबस्दा गर्यो, तेल पाइने बेलामा सकियो भन्छ ।’
नेपाल आयल निगमका मेची डिपोका अनुसार ४ दिनभित्र डिजेल ९ लाख २० हजार लिटर, पेट्रोल ३ लाख २६ हजार लिटर र मट्टीतेल १२ हजार लिटर आयात भएको छ । जसमध्ये झापाका ३६, मोरङका २, इलामका ६, पाँचथरका ३ र ताप्लेजुङको एक पेट्रोल पम्पमा इन्धन उपलब्ध गराइएको छ ।
जय हनुमान बिर्तामोड र सगरमाथा पेट्रोल पम्प दमकले चार दिनमा ३२/३२ हजार लिटर पेट्रोल पाएका छन् । डिजेल भने सगरमाथाले मात्रै ४६ हजार लिटर पाएको छ । गणेश अटो मोबाइल्स बिर्तामोडले पेट्रोल २२ हजार र डिजेल ३० हजार लिटर पायो । गीता आयल सेन्टर लखनपुरले १६ हजार पेट्रोल र १४ हजार लिटर डिजेल पाएको छ । सन्तोष ट्रेडिङ महेशपुरले पेट्रोल १३ हजार र डिजेल १८ हजार लिटर पाएको छ ।
आर्य ट्रेड इन्टरनेसनल चन्द्रगढी, आष्मा ट्रेड चारपाने, गरमकाली ट्रेड घैलाडुब्बा, जनकल्याण शिव स्टोर बुधबारे, मातृ आयल सुरुंगा र नन्दा ट्रेडिङ धुलाबारीले १२/१२ हजार लिटर पेट्रोल पाएका छन् । अन्यले ४, ७ र ८ हजार लिटरका दरले इन्धन पाएका छन् । जिल्लामा १ सय २० किलोलिटर इन्धन खपत हुँदै आएकामा बढाएर १ सय ५० किलोलिटर बनाइएको छ । तर, उपभोक्ताले भनेका बेला तेल पाउनै मुस्किल छ ।
जिल्लाकै कतिपय पम्पहरूको तेल बेच्न नपाएको गुनासो पनि छ । झापा गौरादहको नवदुर्गा आयल स्टोरका सञ्चालक मणि नेपालले इन्धन वितरणमा पक्षपात भएको उल्लेख
गर्दै बिक्री गर्न पाउनुपर्ने बताएका छन् । तर, नेपाल आयल निगम चारआली डिपोका प्रमुख कार्कीले पम्पहरूले वर्षभरि गरेको कारोबारलाई आधार मानेर तेल वितरण गरिँदै आएको बताए ।
‘जुन पम्पले वर्षमा जति बेचेको छ, त्यहीअनुसार अहिले तेल उपलब्ध हुन्छ,’ कार्कीले भने, ‘संकटका बेला आएर मलाई बेच्न तेल चाहियो भनेर पाइँदैन ।’ निगमले पम्पहरूलाई तेल वितरणको जिम्मा पनि मेची पेट्रोलियम डिलर्स एसोसिएसनलाई नै दिएको छ । एसोसिएसनले तेल वितरणका लागि एउटा अलग्गै समिति नै बनाएको छ ।
‘आएजति इन्धन पम्पमा पठाएकै छौं,’ डिपो प्रमुख कार्कीले भने, ‘पम्पहरूले यदि भएर पनि वितरण नगरेका हुन् भने उपभोक्ता हितविपरीत हो ।’ पम्पहरूले आधा मात्रै तेल वितरण गरेर आधा कालोबजारी गर्ने गरेको उपभोक्ताको आरोप छ । मेची पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष लय भण्डारीले पम्पहरूले पाएजति सबै तेल बिक्री गरिरहेको दाबी गरेका छन् ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment