चिरञ्जीवी पौडेल (नयाँदिल्लीबाट फर्किएर)
प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो ६ दिने भारत भ्रमण सकेर स्वदेश फर्केका छन् । उनको भ्रमण राजनीतिक रुपमा कति फलदायी भयो भन्ने लेखाजोखा जारी नै छ । यहाँ भने भ्रमणका क्रममा देखिएका केही सन्दर्भ केलाउने प्रयास गरिएको छ, जुन आफैंमा बिझाउने खालका थिए ।
१) प्रधानमन्त्री केपी शर्मा ओली दिल्ली विमानस्थलमा ओर्लिनासाथ मधेसी युवाको एउटा समूहले कालोझन्डासहित प्रदर्शन गर्यो । भारतले आफ्ना विदेशमन्त्रीलाई विमानस्थलमा पठाएर न्यानो स्वागत गरिरहँदा आफ्नै देशवासीबाट प्रधानमन्त्रीलाई कालोझन्डा देखाइनु दुखद घटना हो ।
देशभित्र प्रधानमन्त्रीको विरोध गर्नु वा कालोझन्डा देखाउनु एउटा कुरा हो । तर, विदेशमा गएका प्रधानमन्त्रीलाई पछ्याउँदै कालोझन्डा देखाउने कार्य आफैंमा लज्जास्पद र निन्दनीय छ । कालोझन्डा देखाउनेलाई केही दिन जेलमा राखेर भारतले छाडिसकेको छ ।
२. भारतीय सञ्चारकर्मीलाई बोलाएर नेपाली दूतावासले पत्रकार सम्मेलन आयोजना गर्यो । यो ठीक थियो । नेपालबाट गएका प्रधानमन्त्रीलाई वास्ता नगर्ने भारतीय मिडियाबाट राम्रै संख्यामा पत्रकार उपस्थित भए ।
तर, दूतावासले बिजोक पारा देखायो । २० जना पनि नअट्ने सानो कोठामा पत्रकार सम्मेलन आयोजना गरियो, जहाँ पर्याप्त कुर्सी पनि थिएनन् । पत्रकार आफ्ना लागि आफैं कुर्सी खोज्दै हिँडेका थिए भने कुर्सी नपाउने कोही उभिएका थिए त कोही भुइँमै बसेका थिए । पत्रकार सम्मेलनमा एउटा माइकधरी थिएन ।
दुई दिनअघि मात्रै हजारौं व्यक्तिलाई बोलाएर भड्किलो भोज आयोजना गरेको दूतावासले भारतीय मिडियाका अगाडि दरिद्र पारा देखाउनु असैह्य कुरा हो । जब कि रिपोर्टिङका लागि विभिन्न स्थानमा पुगेका नेपाली पत्रकारसामु भारत सरकारले चर्को रवाफ देखाएको थियो । हरेक कार्यक्रममा पत्रकारलाई कम्तीमा दुई घन्टा कुराइन्थ्यो । खानतलासी यतिसम्म गरिन्थ्यो कि क्यामरा देखाएर पुग्दैनथ्यो, त्यसबाट फोटो खिचेर देखाउनुपर्थ्यो ।
३) प्रधानमन्त्रीको स्वागतमा भन्दै एमालेनिकट प्रवासी संगठनले दूतावास परिसरमै सांस्कृतिक कार्यक्रम आयोजना गरेको थियो ।
हजारौंको संख्यामा नेपाली सहभागी कार्यक्रम अस्तव्यस्त थियो । त्योभन्दा पनि कार्यक्रममा ओलीको स्वागत जसरी गरियो, त्यो बहुतै लाजमर्दो थियो । ओली कार्यक्रमस्थलमा आउँदा यसरी नाराबाजी गरियो, मानौं त्यो नेपालमा भइरहेको कुनै चुनावीसभाको थियो । उद्घोषकले कहिले ‘केपी ओली जिन्दावाद’ भन्दै भट्याउँथे भने कहिले ‘ओली ! ओली !’ भन्दै नारा लगाउँथे । भीडले उनलाई साथ दिन्थ्यो ।
४) अर्को अप्रिय दृश्य देखियो, नेपाली दूतावासको गेटअगाडि । भारत सरकारको आतिथ्यमा प्रधानमन्त्री ओली इन्डियन काउन्सिल फर वल्र्ड अफेयर्सको कार्यक्रममा सुष्मा स्वराजसँग एउटै मञ्चमा भाषण गर्दै थिए ।
त्यति नै बेला सडकपारि रहेको नेपाली दूतावासको गेटअगाडि भारतीय नागरिकको एउटा समूह ब्यानर बोकेर नाराबाजी गर्दै थियो । भारतीय पूर्वमन्त्री रघुवंशप्रसाद सिंहको नेतृत्वमा भइरहेको नाराबाजीको माग थियो, मधेसीको माग पूरा गर्नुपर्ने । भारतीय प्रहरी वरिपरि थिए, तर सो नाराबाजीलाई रोक्ने आदेश सायद उनीहरूलाई थिएन ।
एक इन्सपेक्टरले रघुवंश प्रसादलाई सोधे, ‘अर्को देशको विषयमा किन गर्नुपर्यो नाराबाजी ?’ रघुवंशले जवाफ दिए, ‘अर्को देश भनेर हुन्छ ? मधेसीहरू त हाम्रा दाजुभाइ हुन् । उनीहरूको त्यहाँ जनसंख्या ५१ प्रतिशत छ । तर, लोकसभामा उनीहरूलाई केवल ६५ सिट दिइएको छ । जब कि ४९ प्रतिशतमा रहेका बाँकी जनसंख्यालाई सय सिटको आरक्षण छ । अनि, हाम्रो देशबाट बहु भएर जानेलाई नागरिकता नपाउने व्यवस्था संविधानमा गरिएको छ ।’
५) प्रधानमन्त्रीसहित नेपाल सरकारका अति महत्त्वपूर्ण मन्त्रालय सम्हाल्ने तीन मन्त्री भारत भ्रमणमा थिए । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा, अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री शक्ति बस्नेत ।
पूर्वानुमान गरिएजस्तै परराष्ट्रमन्त्रीबाहेक अन्य दुई मन्त्रीको भ्रमण प्रयोजनहीन देखियो । प्रधानमन्त्रीलाई पछ्याउनेभन्दा उनीहरूको कुनै काम थिएन । दुई मन्त्रीले एकपटक द्विपक्षीय सामूहिक वार्तामा बस्नेबाहेक अरु स्वतन्त्र भूमिका पाएनन् । त्योभन्दा पनि कामविहीन बनेर भौँतारिए सांसदहरू । उनीहरू केवल रमिते बने । नेपाली टोलीको संख्या आफैंमा एउटा जन्ती भन्न लायकको थियो । बढीमा एक दर्जनको टोली भए पुग्ने अहिलेको अनुभवबाट देखियो ।
६) मोदीको गृहनगर गुजरातमा प्रधानमन्त्री ओलीको भव्य स्वागत भयो । उनलाई रातो कार्पेट बिछ्याएर स्वागत गरिरहँदा ठाउँ-ठाउँमा नेपाल र भारतका झन्डा ठड्याइएका थिए ।
तर, दुःखको कुरा नेपालको राष्ट्रिय झन्डाको मौलिकता बिगारिएको थियो । नेपालको त्रिभुजाकार झन्डाको ठाउँमा चारकुने झन्डामा चन्द्रसूर्य अंकित गरेर हास्यास्पद बनाइएको थियो । त्रिभुजाकार झन्डा बनाउन दुःख भएर वा नजानेर यसो गरिएको हो वा जानाजान गरिएको हो ? यस विषयमा नेपालीले सामाजिक सञ्जालमा प्रश्न उठाइरहेका छन् ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment