Thursday, February 18, 2016

यी हुन्, प्रधानमन्त्रीसँगै भारत जाने नेपाली व्यवसायी

भारतमा के गर्छन्, व्यवसायीहरुले ?

७ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँगै दुई दर्जन उद्योगी/व्यवसायी पनि भारत भ्रमणमा जाँदैछन् । भारतीय लगानीकर्ताहरुलाई ओलीले सम्बोधन गर्ने कार्यक्रममा सहभागि हुन नेपाली व्यवसायीहरु पनि आफ्नै खर्चमा भ्रमणमा जाने भएका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारका, महासंघकै बरिष्ठ उपाध्यक्ष भवानी राणा, महासंघका सदस्यद्धय शाहिल अग्रवाल र चन्द्र ढकाल शुक्रबार नै भारत जाँदैछन् भने अरु व्यवसायीहरु आइतबारमात्रै जाने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्रीको भ्रमण टोलीमा उर्जामन्त्री, वाणिज्य मन्त्री, उद्योगमन्त्री भने परेका छैनन् । उर्जा, वाणिज्य र उद्योगमन्त्री भ्रमण टोलीमा नरहेकाले ओलीको यो भ्रमण आर्थिक विषयको चुरोसम्म पुग्न नसक्ने व्यवसायीहरु बताउँछन् ।

सोमबार प्रधानमन्त्री ओलीले मंगलबार भारतीय लगानीकर्ताहरुलाई सम्बोधन गर्ने कार्यक्रम छ । भारतीय लगानीकर्ताहरुमाझ लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेस पन्तले नेपालमा लगानी गर्न आहृवान गर्दै प्रस्तुतिसमेत दिनेछन् ।

जलविद्युत, पूर्वाधार, यातायात, कृषि, पर्यटन, शिक्षा-स्वास्थ्य र सूचना प्रविधिका क्षेत्रमा लगानी गर्न आहृवान गर्ने, नेपालमा राजनीतिक स्थिरता आउँछ र राम्रो नाफा कमाउन सकिन्छ भन्नेमा प्रस्तुति केन्दि्रत रहेको लगानी बोर्डका सीइओ पन्तले अनलाइन खबरलाई बताए ।

‘प्रस्तुति लगानीकर्ताहरुलाई आकषिर्त गर्नमै केन्द्रित हुनेछ, त्यसका लागि उनीहरुलाई दिने सुविधा र लगानीको सुरक्षाको प्रत्याभूति गराउने विषयहरु समावेस गरिएका छन्,’ उनले भने ।

सरकार प्रमुखको विदेश भ्रमण्मा उद्योगी/व्यवसायीलाई समेत सहभागि गराउने अन्तराष्ट्रिय प्रचलन छ । व्यवसायीहरुको सहभागिताले दुई देशबीचको आर्थिक सम्बन्ध विस्तार तथा लगानी विस्तार गर्न महत्वपूर्ण योगदान पुग्ने बताइन्छ ।

तर, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ०७१ साउमा नेपाल भ्रमण्मा आउँदा भने व्यवसायीहरु ल्याएका थिएनन् ।

आइतबार उद्योग वाणिज्य महासंघका तर्फबाट पूर्वअध्यक्षहरु सुरज बैद्य, चण्डीराज ढकाल, प्रदिपकुमार श्रेष्ठ, नेपाल उद्योग परिसंघका अध्यक्ष नरेन्द्र बस्न्यात, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ, व्यवसायी रविभक्त श्रेष्ठ, जलविद्युत व्यवसायी ज्ञानेन्द्रलाल प्रधान, सौदर्य व्यवसायी ज्योत्सना श्रेष्ठ जाँदैछन् ।

त्यसैगरी, व्यवसायी उमेशलाल श्रेष्ठ, त्रिभुवनधर तुलाधर, हरिभक्त शर्मा, अनुज अग्रवाल, निर्माण चौधरी, लोकमान्य गोल्छा, निर्वाण चौधरी, सुरेशकुमार प्रधान, शोभा गुरुङ, श्यामप्रसाद गिरी र रुवी रौनियार भारत जाँदैछन् ।

भारतीय अर्थ, वाणिज्य उर्जा र पर्यटनमन्त्री भेट्ने योजना

उद्योग वाणिज्य महासंघका अध्यक्ष मुरारकाले भ्रमणका क्रममा भारतीय अर्थमन्त्री, वाणिज्य मन्त्री, उर्जामन्त्री र पर्यटनमन्त्री भेट्ने योजना रहेको सुनाए । ‘उहाँहरुलाई भेटेर द्धिपक्षीय लगानी तथा व्यावार विस्तारका विषयमा कुरा गर्छौ’ मुरारकाले भने- खासगरी हामीलाई लगानी चाहिएको छ, भारतीय लगानीकर्तालाई कसरी नेपालमा लगानी गर्न आकषिर्त गर्ने भन्नेमै हामी केन्दि्रत रहनेछौं ।’

भारतीय लगानीकर्ताहरुले असुरक्षा र राजनीतिक अस्थिरतालगायतका कारण देखाउँदै नेपालमा लगानी गर्न हिच्कीचाएको उनले बताए । यद्यपि नेपालमा सबैभन्दा बढी विदेशी लगानी भारतकै छ । ‘नेपालमा भएका नियमकानून लागू गर्न कन्जुस्याँइ गरिन्छ, यहाँ कानूनमै उल्लेख गरिएका सुविधाहरु पनि दिइँदैन,’ मुरारकाले भने- ‘नेपालले बैदेशिक लगानीलाई कहिल्यै पनि राम्रो दृष्टिकोणले हेरेनौं ।’

ठूलो लागानी ल्याउन सरकारको हात भएकाले सरकारले विदेशी लगानीकर्ताको लगानीको सुरक्षाको ग्यारेन्टी गराउनुपर्ने चम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले बताए ।

‘ठूला परियोजनाहरुमा विदेशी लगानी ल्याउनुपर्छ, त्यसबाहेक व्यापार सन्तुलन मिलाउन भारतको कूल जनसंख्याको ०.१ प्रतिशत पर्यटक नेपाल भित्र्याए पुग्छ,’ उनले भने ।

सोमबार साँझ भारतीय उद्योगी व्यवसायीसँग नेपाली उद्योगी व्यवसायीहरुको डिनर मिटिङ भएको श्रेष्ठले बताए । ‘अरु कार्यक्रमहरु त्य गर्न पहल भइरहेको छ,’ उनले भने ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment