Thursday, February 18, 2016

नयाँ शक्ति चाउचाउ

विज्ञापन भन्या ‘नयाँ शक्ति चाउचाउ’को जस्तो हुनुपर्छ । वर्षको सुपर हिट विज्ञापन यही हुने भो । तपाईंले विज्ञापन हेर्नुभो ? विज्ञापनमा नेपालका चर्चित महानुभावहरू खेलेका छन् । चाउचाउको पोको देखाउँदै बाबुराम भट्टराई भन्छन्, ‘यो चाउचाउ खाएपछि मजस्तै पीएचडी बनिन्छ । दिनहुँ खाएमा एकपटक प्रधानमन्त्री बनिने सम्भावना पनि हुन्छ ।’ त्यसपछि काँटाचम्चाले चाउचाउ खाँदै करिश्मा मानन्धर भन्छिन्, ‘मेरो सुन्दरताको राज नयाँ शक्ति चाउचाउ हो । नयाँ शक्ति चाउचाउ खानूस्, सुन्दरी बनिरहनूस् !’

विज्ञापनकै कारण चाउचाउ जगत्मा नयाँ शक्ति चाउचाउले तहल्का मच्चाउन थालेको छ । वाईवाई चाउचाउको भारतमा ठूलो बजार छ भन्छन् तर वाईवाईलाई भारतबाट समेत विस्थापित गरिदिने भो नयाँ शक्तिले । विज्ञापन हेरौँ– तत्त्व बुझिन्छ । विज्ञापनमा चाउचाउको पोका खोल्दै मुमाराम खनाल भन्छन्, ‘यो चाउचाउ खाएपछि दिव्य ज्ञान प्राप्त हुन्छ र आफूले विगतमा गाली गरेका मानिसहरूको भजन गाउन मन लाग्छ ।’
त्यसपछि सरोज खनाल देखा पर्छन् र बुरुक्क बुरुक्क उफ्रिएर ढिस्यूँढिस्यूँ गर्छन्, हातमा फुत्त चाउचाउ प्रकट हुन्छ । प्याकेट खोलेर खाँदै भन्छन्, ‘अब म जवान छु । मद्वारा अभिनीत नयाँ चलचित्र अबको चुनावमा हरेक मतदान केन्द्रमा प्रदर्शन हुँदैछ । यो सबै नयाँ शक्ति चाउचाउको कमाल हो ।’

‘कमाल मात्र नभएर धमाल नै हो, चमत्कार हो’ भन्दै हिसिला यमी प्रकट हुन्छिन् र चाउचाउको प्याकेट देखाउँदै भन्छिन्, ‘यो चाउचाउ खाएपछि परिवारमा एकता र मेलमिलाप हुन्छ, जहाँ गए पनि श्रीमान्/श्रीमती एकसाथ जान मन लाग्छ । नपत्याए हामी दम्पतीलाई हेर्नूस् न !’ उनले यसो भनिनसक्दै पछाडिपट्टि फुत्त बाबुराम देखा पर्छन् र मुसुक्क हाँस्छन् ।

यस्ता दृश्य सकिएपछि रामेश्वर खनाल देखा पर्छन् र भाषण दिँदै भन्छन्, ‘देशको अर्थतन्त्र विश्व स्तरको बनाउन यो चाउचाउ ल्याएका छौँ । यो चमत्कारी चाउचाउबारे थाहा पाइहाल्नुभयो । नयाँ शक्ति चाउचाउ खानूस् र देशलाई विश्वको नम्बर एक बनाउनूस् ।’ त्यसपछि रामेश्वर पुर्लुक्क पल्टिएर निदाउँछन् ।

सुपर हनुमान !

बक्सिङ/कराते खेल्नेले मुड्की हानेरै दर्जनौँ इँटा या टायल फोर्न सक्छन् । तर, यी सबैभन्दा बलिया मानिस होइनन् । न त विश्व हेभिवेट बक्सिङ च्याम्पियन नै सबैभन्दा बलिया मानिस हुन् । हाम्रा पौराणिक हनुमानका अगाडि यिनको तागत तुलना हुनै सक्दैन । भारत्तोलनका वलिष्ठ खेलाडीहरूले पाँच सय किलोभन्दा धेरै वजन उठाएका छन् । सबैभन्दा बलिया मानिस यी पनि होइनन् । हनुमानले सिंगै पर्वत बोकेका थिए, जाबो पाँच सय किलोको के कुरा ! हनुमानभन्दा बलियो विश्वमा कोही छैन भन्थे तर कतिपय नेपाली हनुमानभन्दा बलिया रै’छन् । कति बलिया भने सिंगो एक जनाले पूरै नेपाल नाकाबन्दी गरिदिन सक्छ, यस्तो तागत भएका नेपाली छन् ।

भारतसँगको सीमा नाकामा जानू, त्यहाँ धेरै जना मानिस धर्ना बसेका हुन्छन् । धेरै नभएर सिर्फ एक जना मात्र बसेको पनि हुन सक्छ । त्यो एक जना हेर्दा बलियो नदेखिएला तर उसमा कति तागत हुन्छ भने पूरै देशलाई नाकाबन्दी गरिरहेको हुन्छ । ऊ एक जनाले हजारौँ हजार ट्रक छेक्न सक्छ । आफू बसेको ठाउँभन्दा सयौँ किलोमिटर परको नाकामा पनि उसको तागतको प्रताप पुग्छ, त्यसैले त्यता पनि नाका छेकिन्छ, ट्रक रोकिन्छ । यति तागत भएको मानिस हनुमानभन्दा बलियो भएन त ? त्यसैले उहिलेका हनुमान, अहिले एक्लै नाकाबन्दी गर्नेचाहिँ सुपर हनुमान ! कि कसो ?

ओलीको नाक

एक जनाले निद्राको सुरमा ओछ्यानबाटै प्रधानमन्त्री केपी ओलीलाई सोधेछ, ‘दुई महिनाअघि तपाईंले चाँडै नाकाबन्दी खुल्छ भनेको होइन ? खोइ खुलेको ?’

ओलीले पनि प्रधानमन्त्री निवास बालुवाटारको ओछ्यानबाट सपनामै जवाफ फर्काएछन्, ‘नाकाबन्दी भन्ने नबुझी यो के प्रश्न सोधेको ? नाक बन्द हुनुलाई नाकाबन्दी भनिन्छ भन्ने थाहा छैन ? रुघाले बन्द भएको मेरो नाक १० दिनमा खुल्छ भनेको थिएँ, खुलिसक्यो ।’

ओलीको बोली सुनिसकेपछि उसले पनि भनेछ, ‘अब तपाईंको नाक बन्द हुँदैन । किनभने, बन्द हुन नाक चाहिन्छ । अब तपाईंसँग नाक छैन ।’


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment