‘छलफल हुँदै जाँदा केमा सहमति हुन्छ, उतै टुंगो लाग्छ’
भारत भ्रमणमा जाने तयारी गरिरहेका गृहमन्त्री शक्ति बस्नेतलाई भेट्न बिहीबार दिउँसो हाम्रो टोली गृहमन्त्रालयमा पुग्दा उनी गृह सचिवसँग आन्तरिक बैठक गरिरहेका थिए । सचिवको टोली निस्किएपछि हामी मन्त्रीको कार्यकक्षमा पस्यौं ।
हाम्रो चासो थियो भारत भ्रमभणका क्रममा गृहमन्त्रालयले केकस्तो योजना बनाइरहेको भन्ने भन्नेबारे जान्नु र पाठकलाई सुसुचित गर्नु । तर, गृहमन्त्रीले यो प्रधानमन्त्रीजीको भिजिट भएकाले के विषयमा सहमति गर्ने र केमा नगर्ने भन्ने प्रधानमन्त्रीको लेभलबाटै टुंगो लाग्ने जवाफ दिए ।
कार्यकक्षमा व्यस्त रहेका गृहमन्त्री बस्नेतसँग गरिएको छोटो कुराकानीः
भारत भ्रमणमा गृहमन्त्रालयले के-के तयारी गरेको छ ?
यो प्रधानमन्त्रीजीको भिजिट हो । त्यसकारण प्रधानमन्त्रीजीको सहयोगी टिमका रुपमा अरु टोली रहन्छ । मुलुककै प्राथमिकताका एजेण्डाहरु नै यो भ्रमणका मूलभूत एजेण्डा हुन् । त्योभित्र सबै मन्त्रालयहरु स्वाभाविकले नै आउँछन् नै ।
आर्थिक विषयमा धेरै छलफल हुने भन्दै भारत भ्रमणको तयारीका लागि अर्थमन्त्री भारत जानुभएको थियो । अहिले उप्रप्रधान तथा ऊर्जामन्त्री नगएर गृहमन्त्री प्रधानमन्त्रीको साथमा जानुका पछाडि अरु केही कारण छन् कि ?
मैले अघि भनें नि । यो प्रधानमन्त्रीजीको भिजिट हो । उहाँले नै टिमको फर्मेसन गर्नुभएको हो । दोस्रो कुरा, मन्त्रीहरु नगएका मन्त्रालयका कतिपय सचिवजीहरु पनि भ्रमणमा सहभागी हुनुहुन्छ । त्यसकारण मन्त्री को जाने, सचिव को जाने भनेर त्यतिधेरै अर्थ राख्ने कुरा भएन ।
उसोभए गृहका केही एजेण्डा नै छैनन् त ?
यस हिसाबले हेर्दाखेरि स्वतः शान्ति सुरक्षासँग सम्बन्धित कुराहरु छन्, रहँदै आएका छन् । दुई देशबीचको खुला सीमानाका कारण शान्ति सुरक्षाका क्षेत्रमा परेका प्रभावका विषयहरु छन् । त्यसको निवारणका लागि अपनाउनुपर्ने सावधानी, अपनाउनुपर्ने उपायका विषयहरुमा दुई देशबीचमा छलफलहरु चल्दै आएका छन् । ती विषयहरुमा त स्वतः छलफल हुने भैहाल्छ ।
भारतबाट नेपालमाथि फेरि नाकाबन्दी हुँदैन भन्ने ग्यारेन्टी माग्नुहुन्छ ? नाकाबन्दीबारे भारतसँग कुरा उठाउनुहुन्छ हुन्न ?
दुई देशबीचको सम्बन्ध राम्रो बनाउने भनेकै यस्ता नाकाबन्दी फेरि नहोस्, नगर्ने भन्ने ग्यारेन्टी गर्ने नै हो । सरकारले नेपालको राष्ट्रिय हितका एजेण्डालाई खुला र स्पष्टसँग राख्छ ।
तर, कतिपय मानिसहरु त नाकाबन्दीलाई, विगतलाई बिर्सिऔं भन्दैछन् नि ?
सम्झिराखेर पनि त के साध्य हुन्छ र ? सम्झी राखेर त नयाँ आधारमा नयाँ सम्बन्ध बन्नै सक्दैन नि । फेरि बिर्सिँदै जानुको अर्थ त्यसलाई समाधान गर्दै जाने प्रतिवद्धता पनि हो ।
हामीले संविधान बनाउँदा तिमीहरुले किन नाकाबन्दी गरेको भनेर भारतलाई सोध्नुहुन्न ?
यी सबै छलफलका विषय बन्छन् । हामी अब के गर्छौं भन्ने कुरा अलि महत्वको कुरा हो । अब हामी कसरी अगाडि बढ्छौं भन्ने कुराको मार्गचित्र हामीले कसरी तयार गर्छौं, यसले धेरै अर्थ राख्छ ।
भारतीय कम्पनीले नेपालमा सञ्चालन गर्दै आएका विकास आयोजनाका कामहरुमा भारतीयहरुले सुरक्षा भएन भन्ने गरेका छन् हाम्रो तर्फबाट हेर्दा सीमानामा एसएसबीले दुःख दिने गरेको छ । यी कुराहरु पनि उठ्छन् कि भ्रमणमा ?
ती त छलफलका क्रममा हुँदै जाने कुराहरु हुन् । मैले अघि नै भनिसकें मूलतः यो प्रधानमन्त्रीको भिजिट भएको कारणले राष्ट्रिय प्राथमिकताको मुख्य एजेण्डाहरुमा छलफल केन्दि्रत हुने कुरा हो । दुई देशबीचको सम्बन्धलाई अझै सहज र सुदृढ बनाउँदै जाने विषयहरु रहेका छन् ।
त्यस अतिरिक्त आर्थिक विकासको क्षेत्रमा साझेदारीको कुराहरु, शान्ति सुरक्षासँग सम्बन्धित विषयहरुमा छलफल त हुन्छन् नै । तर, छलफल हुँदै जाँदा केमा सहमति हुन्छ ? के हुँदैन भन्ने कुरा त अहिले नै भन्न सकिँदैन । के हुन्छ के हुँदैन भन्ने कुराहरु घोषणा गरेर जाने कुरा भएन । शान्ति सुरक्षा लगायतका समग्र विषयमा हामी आफ्नो तयारी गरेर जान्छौं ।
सीमा विवादसम्बन्धी कुराहरुमा छलफल हुन्छ कि हुँदैन ?
कुनै रेडिमेड मानसिकता बनाएका छैनौं । के गर्ने के नगर्ने भन्ने कुरा त छलफलबाट टुंगो लगाउने कुरा हो । सहमति सम्झौता भन्ने कुरा एक पक्षले चाहेर/भनेर हुने कुरा पनि होइन । छलफलका क्रममा मुलुकको हित हुने, राम्रो हुने, सजिलो हुने कुराहरुमा साझा निष्कर्षमा पुर्याउने कुराहरुमा साझा निष्कर्षमा पुर्याउँछौं ।
दोस्रो कुरा, यो कुरामा हामी प्रवेश नै गर्दैनौं भन्ने पनि छैन । जुन कुनै विषयमा पनि छलफल हुन सक्छ । दुईपक्षबीच सबै विषयहरुमा खुल्ला छलफल हुन्छ ।
दुबै पक्षले आ-आफ्नो मुलुकको हितलाई ध्यानमा राखेर साझा निष्कर्षमा पुग्छौं । तर, के विषयमा पुग्ने केमा नपुग्ने भनेर त अहिले कसरीभन्न सकिन्छ ?
तपाईहरु पर्याप्त तयारी नै नगरी भारत भ्रमणमा जान लाग्नुभएको हो कि ?
तयारी नै नगरी जान लागेको भन्ने कुरा गलत हो । के गर्ने र सबै विषयमा के गर्नुपर्छ भन्ने कुरामा सरकार स्पष्ट छ । कुन-कुन विषयमा के कुरामा नेपालको हित हुन्छ, के गर्दा नेपालको हित हुँदैन भन्ने कुरामा सरकार अस्पष्ट छैन ।
भारत भ्रमणको टोली सर्वदलीय-सर्वपक्षीय देखिन्छ, केही विषय निर्णय गर्नुपर्यो भने उतै दिल्लीमै छलफल गर्ने सोचाइ हो ?
यो त स्वतः कुरा हो । आजको जमानामा संसारको जुनसुकै देशमा गए पनि सञ्चार प्रविधिमार्फत् कम्युनिकेसन त भैहाल्छ । त्यसैले छलफल गरेर निष्कर्षमा पुग्नुपर्यो भने त्यहीँ सहभागी भएकाहरु बीचमा छलफल गरेर निष्कर्षमा पुग्न सकियो । त्यहाँबाट यता -नेपालमा) पनि छलफल गर्न सकिन्छ ।
गृहमन्त्रीका साथै तपाई एमाओवादी नेता पनि हुनुहुन्छ, भारत भ्रमणबारे आफ्नो पार्टीमा केही छलफल भयो त ?
पार्टीभित्र छलफल हुने त स्वाभाविक भैहाल्यो । राष्ट्रहित विपरीत कुनै सन्धि सम्झौता गर्नुहुँदैन भन्ने कुराहरुमा सरकार र पार्टीबीचको बुझाइमा एकरुपता नै छ ।
सरकार प्रमुख पनि सजग र सचेत नै हुनुहुन्छ । भ्रमण राष्ट्रिय हितलाई प्रवर्द्धन गर्नका लागि फलदायी हुनुपर्छ, सहयोगी बन्नुपर्छ भन्ने नै छ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment