हामी आफ्नो भूगोल र छिमेकी बदल्न सक्दैनौं, चीनतिर ढल्केर के गर्ने ?
चिरञ्जीवी पौडेल, नयाँ दिल्लीबाट
७ फागुन, नयाँ दिल्ली । दिल्लीको बाह्रखम्बामा अवस्थित नेपाली दुतावासमा विहीबार दिउँसाे नेपाली पत्रकारहरूकाे टाेली पुग्दा कर्मचारीहरु निकै व्यस्त देखिन्थे । प्रधानमन्त्री केपी ओलीसहित ८० भन्दा बढी पाहुनाको स्वागत गर्ने चटारो थियो उनीहरुलाई ।
दूतावास भवनको दोस्रो तल्लामा रहेको आफ्नो कार्यकक्षमा निकै थकित मुद्रामा भेटिए भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय । एकातिर उनलाई शुक्रबार साँझ दूतावासमा प्रजातन्त्र दिवसको उपलक्ष्यमा आयोजना हुने रिसेप्सनका लागि अह्रन-खटन गर्नु थियो भने अर्कोतिर प्रधानमन्त्री ओलीको भ्रमणका विषयमा भारतीय र नेपाली मिडियाको सामना पनि उत्तिकै गरिरहनु परेको थियो ।
यही व्यस्तताकै बीच राजदूत उपाध्यायले अनलाइनखबरसँग संक्षिप्त कुराकानी गरे:
प्रधानमन्त्री केपी ओलीको भ्रमणलाई भारतले उच्च महत्व दिएको मानिएको छ, यसको रणनीतिक कारण के होला ?
भारतका हरेक कुरामा हामीले सन्देह गर्नुहुँदैन । नेपालप्रति उसको अझै पनि सदिच्छा र शुभेच्छा छ । नेपालसँग सम्वन्ध सुधार्ने दबाव पनि छ । यो (सम्मान) राष्ट्रपतिको पनि चाहना हो । सम्वन्ध बिग्रेकोमा उहाँलाई चिन्ता, चासो र दुःख छ । पुराना कुरा बिर्सेर भारतले नयाँ ढंगबाट अगाडि बढ्न चाहेको हुनुपर्छ ।
नेपालमात्रै यस्तो देश थियो, जसको भारतसित कुनै किसिमका समस्या, झमेला थिएनन् । पछिल्लो घटनाक्रमले सम्पूर्ण भारतीय जनताको हृदयमा पनि चोट पुगेको छ र त्यसलाई सरकारले पनि मनन गरेको छ ।
के दुई देशबीचको सम्वन्ध अब सामान्य अवस्थामा फर्किसकेको हो त ?
सामान्य भइसकेको भन्न मिल्दैन । यसको प्रक्रियामा छौं । जबसम्म पहुँच नभएका जनताले विना कुनै झञ्झट सरल तरिकाले डिपोबाट ग्यास र पम्पबाट पेट्रोलियम पदार्थ पाउँदैनन्, तबसम्म अवस्था सामान्य भएको मान्न सकिँदैन । तेल पाउनु त उसको नैसर्गिक अधिकार हो नि । पैसा तिरेर किन्न नपाउँदाको दुःख अकल्पनीय हुन्छ । त्यसले गर्दा सम्वन्ध सुधारको सुरुवात यहीँबाट हुनुपर्छ ।
नाकाबन्दी हटेको भनिएको छ, तर काठमाडौंमा अझै पनि तेल र ग्यास सहज रुपमा पाउन सकिएको छैन । यसलाई कसरी लिनुभएको छ ?
मलाई लाग्छ, यतापटि्टबाट समस्या छैन । मैले -नेपाल आयल निगमलाई) भनिरहेको छु कि, हिजोको कोटाअनुसार होइन, आजको आवश्यकता अनुसार इन्धन ल्याउनुपर्छ । जनताले जति चाह्यो त्यति पाउने व्यवस्था तुरुन्तै गर्नुपर्छ । यसले ब्ल्याक मार्केटको पनि अन्त्य हुन्छ र समानान्तर अर्थतन्त्र समाप्त हुन्छ ।
स्थिति सहज हुन एक महिना लाग्छ किन भनिरहेका छन् भने कालोजार समाप्त हुन्छ भन्ने डरले । मैले भनिरहेको छु, किन भोलिबाटै नहुने ? भोलिबाटै बाँड्नुस् । तेल भर्न आउनेहरुलाई आफ्नो स्टकबाट फुल ट्यांकी दिनुस् । यता (भारतको) जिम्मा मेरो भो ।
तीन पांग्रेलाई चार लिटर, चार पांग्र्रेलाई दश लिटर भनेपछि त मान्छे जतिचोटि पनि लाइनमा बस्न आउने भए । आपूर्ति सहज भएको नदेखिने भयो । जब फुल ट्यांकी तेल हालिन्छ, त्यसपछि ऊ फेरि लाइन बस्न आउँदैन ।
नाकाबन्दी खुले पनि नेपालमा भारतका मुद्दा त बाँकी नै छन् नि ? सबै सम्वोधन नहुँदासम्म भोलि फेरि नाकाबन्दी बल्झिन सक्ने अवस्था कत्तिको देख्नुभएको छ ?
धेरै मुद्दा बाँकी छैनन् । संविधान संशोधन भइसकेको छ । बाँकी कुराहरु पनि सहमतिमा मिलाउने भनेर दलहरुले भनिरहेका छन् । उच्च तहमा वार्ता भएपछि थप विश्वासको वातावरण बन्छ । त्यसैले तत्कालै फेरि अर्को नाकाबन्दी होला भन्ने लाग्दैन । यद्यपि अब हामीले भविश्यमा यस्तो नहोस् भनेर सजक हुनुपर्छ । यो नाकाबन्दीबाट पाठ सिक्नुपर्छ ।
प्रधानमन्त्रीको भ्रमणमा नेपालले उठाउने एजेन्डाहरु के-के हुन् ? यसमा राजनीतिक विषयवस्तु पर्छन् कि पर्दैनन् ?
राजनीतिक विषयवस्तुमा छलफल होलाजस्तो मलाई लाग्दैन । यो भ्रमणमा खासगरी पुरानो लाइन अफ क्रेडिटको उपयोग गर्ने विषयमा छलफल केन्दि्रत हुनेछ । भूकम्पपछिको पुनस्थापन र पुनर्निर्माणमा भारतले घोषणा गरेको एक अर्ब डलर कुन-कुन क्षेत्रमा खर्च गर्ने र के-केमा प्रयोग गर्ने भन्ने निर्धारण भएको थिएन, अहिले त्यो करा हुन्छ ।
त्यसभन्दा अघि मोदीको भ्रमणमा घोषित एक अर्ब पनि नेपालले लिन बाँकी छ । त्यसभन्दा अगाडिका रकमहरु समेत गरी भारतबाट नेपाल आउने पैसा तीन अर्ब डलरभन्दा माथि छ । त्यसको विषयमा छलफल हुनेछ ।
यसअघि सहमतिमा पुगेका अन्य विभिन्न विषयको व्यवस्थापन करार हुन्छ । भारतले सहयोगको वचन दिएको तर काम सुरु नभएको रेल्वे लगायतका कुराहरु पनि आउँछन् ।
तपाईंले महसुस गर्नुभएअनुसार नेपालमा भारतको खास रुची के केमा हो ?
कुटनीतिमा यही चाहिन्छ भनिँदैन । भनिए त सजिलो हुन्थ्यो । हामीले भारतको रुची के छन् भनेर खोतल्नेभन्दा आफ्नो कुरा स्थापित गर्ने हो । व्यवस्थित गर्ने हो ।
संविधान आयो । एउटा स्टेज पार भएको छ । अब बिकास निर्माणमा एक हुनुपर्छ । परराष्ट्र नीतिमा एक मत हुनुपर्छ । कसैले आप\mनो अनुकूलताको कुरा गर्नासाथ रमाउने र प्रतिकूल हुनासाथ अप्रशन्न हुने बानी सुधार्नुपर्छ । हामी सुध्रेपछि सबै ठीक हुन्छ ।
एउटा राजदूतका रुपमा तपाईले भारतीय नाकाबन्दीबाट के कति दवाब महसुस गर्नुभएको छ ?
मेरो त तन सुखमा, मन दुखमा छ । भौतिक कुराको सबै सुविधा हुँदाहुँदै पनि नाकाबन्दीले गर्दा मन रमाउन सकेको छैन । आफू गाडी चढेर हिँडेको छु, चुलो नबल्ला कि भन्ने चिन्ता छैन । तर, नेपालको खबर मिडिया हेरेपछि चिन्ताले छोप्छ । मन दुःखी हुन्छ । एउटा राजनीतिक सामाजिक जिम्मेवारीमा रहेको व्यक्तिलाई योभन्दा ठूलो दुःख के हुन्छ ? मैले जिन्दगीमै सबैभन्दा ठूलो पीडा भोगेको क्षण हो यो ।
दबाव नि ?
दवाब पनि नआउने कुरै भएन । सुरुसुरुमा त मलाई हातै जोडेर नेपाल जानुस् र आफ्नो सरकारलाई सम्झाइदिनुस् भन्थे । हामीले भनेको मानेमा नाका तत्काल खुलाएर पारवहन सुविधा दिइहाल्छौं भन्थे । तर, मैले पचाएरै बसेँ ।
अहिले समयले अलिकति कोल्टे फेरेको छ । नेपालसँगको सम्वन्ध सुधार्न हामीलाईभन्दा उनीहरुलाई हतार भएको छ ।
नेपाल चीनतिर ढल्कने डरले भारतले सम्बन्ध सुधार्न खोजेको चर्चा छ, तपाईंलाई के लाग्छ ?
हामी आफ्नो भूगोल र छिमेकी बदल्न सक्दैनौं । चीनतिर ढल्केर के गर्ने ? त्यहाँबाट सामान ल्याउन सकिने अवस्था नै छैन । चार महिना हिँउ जमेर स्पेसल साधनबाट बल्ल ढुवानी गर्न सकिन्छ । चार महिना वर्षातमा पहिरो होइन कि पहाडै खस्ने डर हुन्छ । बुल्डोजरले पनि काम गर्दैन । त्यसमाथि भूकम्पले जर्जर बनाएको छ । त्यसले गर्दा चीनको कुरा प्राक्टिकल छैन ।
तीन लाख लिटर अनुदानको तेल पाँच पाँच हजारको दरले बोक्नुपरेको थियो । अर्को अनुदानको तेल ल्याउनै सकिएको छैन । ब्यापार भन्ने कुरा दाम र समयले निर्धारण गर्छ । ल्याउँदा ल्याउँदै डेढ सय पर्यो भने कसरी पोसाउँछ ? जबकि यताबाट सयमा आउँछ ।
हामीले चीन र भारतलाई समान दुरीमा राख्नुपर्छ, एउटासित मनमुटाव हुँदा अर्कोतिर नजिकिने प्रवृत्ति ठीक होइन
अभावका बेलामा त मान्छेले जति पनि दाम हाल्छन् । भोलि अवस्था सामान्य भएपछि महंगो तेल कसले किन्छ ? आज बिराटलाई एक सय ९० मा तेल बेच्न स्वीकृति दिइएको छ । अभावमा त मान्छेले १९० पनि हाल्छन् । तर, अवस्था सामान्य भएपछि कसले किन्छ ?
हामीले चीन र भारतलाई समान दुरीमा राख्नुपर्छ । एउटासित मनमुटाव हुँदा अर्कोतिर नजिकिने प्रवृत्ति ठीक होइन । स्थिर र शान्त एवं आर्थिकरुपमा सम्पन्न नेपाल नै चीन तथा भारतको हितमा छ । हाम्रो सौभाग्य हो कि चीन र भारत दुबैले अहिले नेपालमा स्थिरता चाहेका छन् ।
भारतीयहरुले पनि यस्तो सोच्छन् कि नेपाल चीनतिर फर्कियो…
भारतमा कुरा नबुझ्नेहरुले चीनतिर नेपाल फर्कियो भन्छन् । म भनिदिन्छु भारतले दुःख दिएर न फर्केको हो । तर, फर्केर पनि गर्नु केही छैन । उपाय नै छैन । यस्तो असम्भव कुरा कल्पना गरेर बस्नु नै व्यर्थ छ । भूगोलले नदिने भएपछि कसको के लाग्यो ? १० वर्ष, २० वर्षपछि चीनले धेरै सकारात्मक भएर पाइपलाइन र सुरुङमार्ग बनाइदियो भने बेग्लै कुरा हो । त्यतिबेला नेपाल दुई देशबीचको वास्तविक ट्रान्जिट प्वाइन्ट बन्न सक्छ र चीन र भारतको व्यापारलाई नयाँ दिशा दिन सकिन्छ ।
तर, भारत नेपालप्रति यति सकारात्मक बन्ला र ?
भारत नेपालप्रति नकारात्मक भएको भन्दा पनि हामीले आफ्नो कमजोरीले गर्दा दुःख पाएका हौं । दुई देशका तेल निगमले सम्झौता गर्दा नेपालको पारवहन एकतर्फी अवरोध गरियो भने कहाँ क्लेम गर्ने भन्ने नै छैन । प्राइभेट कम्पनी भएको भए यस्तो हुन्नथ्यो । अरु विकल्प भएको भए यस्तो अवस्था आउन्नथ्यो । यसैले अब यस्तो नहुने सुनिश्चितता गर्नुपर्छ ।
अहिले पनि नेपालमा आधा जति बिजुली यतैबाट गएको छ । उसले चाहेको भए बिजुली रोक्न सक्थ्यो । प्राविधिक कारण देखाएर सजिलै रोक्न सक्थ्यो ।
हालै अर्थमन्त्री विष्णु पौडेलले भारतीय समकक्षीसँगको भेटमा दुई सय ५० मेघावाटको जलविद्युत अनुदानमा र पाँच सय मेघावाट लोनमा बनाइदिन आग्रह गर्नुभएको कुरा आयो । के यो भ्रमणमा प्रधानमन्त्रीको तहबाट पनि यस्तो प्रस्ताव अगाडि बढ्छ ?
हो, त्यो भेटमा म पनि थिएँ । उहाँले कुराको सिलसिलामा भन्दिनुभो । तर, त्यसको कुनै तयारी छैन । गृहकार्य छैन । जलविद्युत आयोजनाका लागि पहिले डीपीआर चाहिन्छ । केही भएको छैन । प्रधानमन्त्रीको भ्रमणमा त्यस्तो कुरा उठ्दैन । खाली नेपालमा लगानी गर्ने वातावरण सुनिश्चित गर्न यो भ्रमणले अलिकति माहोल बनाउँछ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment