– लक्ष्मण गाम्नागे
खाडी भनिने बालुवाको रासमाथि खडा भएका दुबई र कतारका केही सहरको यात्रा गरियो । जति घुमे पनि जति हेरे पनि आफूलाई त आफ्नै देशको थिति धेरै राम्रो लाग्यो । नियम–कानुनहरू साह्रै कडा हुँदा रहेछन् त्यहाँका, एकदमै निरंकुश । साथीहरूले सवारी नियमहरूका विषयमा सुनाउँदा आङै सिरिङ्ग हुने ।
चोकहरूमा रातो बत्ती बलेको बेला कदाचित गाडीले अलिकति सीमा नाघ्यो भने पाँच हजार रियाल जरिवाना लाग्छ रे ! हाम्रो पैसोले यसो गुना गरी हेर्दा थाहा भयो, डेढ लाख रुपियाँ । यस्तो पो हुँदो रहेछ । कत्रो ठूलो जरिवाना ! चालकमाथि कत्रो अन्याय ? यसो छेउकुना पारेर पुलिसका खल्तीमा एक–डेढ सय हालिदिएर उम्किन पनि नपाइने, त्यसो गर्न खोज्यो भने च्याप्पै पारेर जेलमै कोचिदिने । मान्छेलाई मात्रै होइन, गाडीलाई पनि जेल हाल्ने कस्तो बेथिति ! कस्तो अप्रजातान्त्रिक देश ! झुक्किएर वा एकछिनका लागि गलत ठाउँमा पार्किङ गरियो भने पाँच सय रियाल खुरुक्क नबुझाई धरै नपाइने । माफी मागे पनि नमान्ने, मन्त्री लगाउँदा पनि नलाग्ने, नेतालाई भनाउँदा पनि नहुने । त्यो भन्दा त हाम्रो धेरै राम्रो ।
हामीलाई घुमाउने मित्रले सुनाए, ट्याक्सीमा कुनै यात्रुले कुनै सामान वा पैसा बिर्सिएर हिँड्यो भने ड्राइभरलाई ठूलै आपत् पर्छ रे ! प्रहरी कार्यालयमा लाइन लागेर भेटिएको माल दर्ता गराएर, सामान हराउने यात्रु फेला परेर, उसले सकुशल सामान पाएको भर्पाई नगरुन्जेल ड्राइभरले छुट्टी नै नपाउने । ल हेर्नोस्, कस्तो दु:ख ! भेट्टाएको माल दम्पच पार्ने त कुरै भएन, जिम्मा लाउनकै पो धौ धौ ।
उसो त गाडी चलाउने चालकहरू पनि लोसा हुँदा रहेछन्, त्यही भएर दु:ख पाएका हुन् । झ्याप्पझुप्प नियम मिचेर भाग्नै नसक्ने । उछिनपाछिन गरेर बटुवाहरूलाई लतार्दै, अघि लागेका गाडीलाई हर्न लगाएर ध्वनिआतंक मच्चाउनै नसक्ने । एक साता बस्दा हामीलाई घुमाउन हिँडेका मित्रले एकपटक बिस्तारै हर्न बजाए । अगाडिको गाडीपछि सरेर हाम्रो गाडीमा छुन खोजेकाले हर्न बजाएका थिए ।
पछि त उनी उल्टै हामीलाई ठोक्न खोज्ने चालकलाई ‘सरी’ पो भन्छन् । मैले भनेँ, ‘त्यसलाई आँखा छैनन् साले भनेर गाली गर्नुको सट्टा किन सरी भनेको ?’ उनले भने, ‘मैले हर्न बजाएँ नि त !’ लाखौँ लाख गाडी छन् सडकमा तीव्र गतिले दौडिरहेका, रातो बत्तीमा अड्किएका, जाममा परेका तर हर्न बजेको पटक्कै सुनिँदैन । हामीकहाँ हेर्नोस् कति फुर्ती छ, कति हतार छ, कति जोश र जाँगर छ । हामी त अगाडिको गाडी खाडलमा खसेर अड्किएको होस् कि टायर पड्किएको होस् अथवा ब्रेक फेल भएर रोकिएको होस्, पछाडिबाट हर्न बजाएर त्यसको सातोपुत्लो उडाइदिन्छौँ ।
सडकमा हिँड्ने पैदलेहरूका कानका जाली नफुटाई हामीलाई ड्राइभर हुनुको गौरवै प्राप्त हुँदैन । सडक पार गर्न खोज्ने बूढाबूढी हुन् कि बच्चा, आँखा नदेख्ने हुन् कि खुट्टा नटेक्ने, त्यस्तालाई समेत ‘मर्लास् है !’ भन्दै आफ्नो गाडी हुँइक्याउनुमा हाम्रो कत्रो सान हुन्छ । त्यहाँ त आफ्नै गाडी चलाउनेहरू पनि कस्ता लुरे, हुतिहारा । ‘सरी सरी’ भन्दै पो हिँड्दा रहेछन् । लोकतन्त्र भनेको लोकतन्त्रै हो । थिति त हाम्रै कता हो कता राम्रो !
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment