Thursday, February 18, 2016

कांग्रेस र अखिलको चुनावः आफैंभित्र धाँधली गर्नेले कसरी बचाउलान् लोकतन्त्र ?

कांग्रेसको अधिवेशनमा पैसा खाने र खुवाउनेको चर्चा

अरुण बराल/टिप्पणी

यसै साताको कुरो हो, ललितपुरको समिट होटलमा ‘नयाँ शक्ति नेपाल’का संयोजक डा. बाबुराम भट्टराईले विभिन्न मिडियाका सम्पादकलाई निम्त्याएका थिए । कार्यक्रममा डा.भट्टराईका सारथीहरु रामेश्वर खनाल, मुमाराम खनाल, खिमलाल देवकोटा र गंगा श्रेष्ठको पनि उपस्थिति थियो । त्यहाँ करिब ‘एक दर्जन’ सम्पादकहरु थिए ।

‘नयाँ शक्ति’बारे सम्पादकहरुको धारणा सुन्न र सुझावहरु लिन भन्दै आयोजना गरिएको सो जमघटमा बरिष्ठ पत्रकार एवं राजनीतिक विश्लेषक पुरुषोत्तम दाहालले नेपाली कांग्रेसको महाधिवेशनमा भइरहेको ‘आर्थिक चलखेल’को प्रशंग कोट्याए ।

दाहालको टिप्पणीको भाव यस्तो थियो- ‘बाबुरामजीले नयाँ शक्तिमा तलैबाट प्रत्यक्ष चुनेर आउने लोकतान्त्रिक व्यवस्था गर्ने बताउनुभएको छ, तर अहिले नेपाली कांग्रेसको गाउँ, क्षेत्र र जिल्ला अधिवेशनको चुनावलाई हेर्दा यो प्रणालीमा पनि विकृति देखियो ।’

कांग्रेसको अधिवेशनमा पैसा खुवाउने र खाने दुबैथरिले ‘हामीले यसो गर्‍यौं नि’ भन्दै आफूलाई सुनाएको दाहालले बताए । यसरी ‘देखी जान्ने’ प्रमाण नै पेश गरेर दाहालले बाबुराम भट्टराईको टोलीका सामु यो पुष्टि गर्ने प्रयास गरे कि नेपाली कांग्रेसको अधिवेशनमा आर्थिक चलखेल, घुसखोरी र धाँधली व्यापकरुपमा भएको छ । कांग्रेसको अधिवेशन स्वच्छ भएन ।

हुनत नेपाली कांग्रेस त्यस्तो पार्टी हो, जहाँ सभासद बनाउनका लागि आफ्नै पार्टीका कार्यकर्ताबाट घुस खाने प्रचलन छ । कांग्रेसमा त्यस्ता पनि नेताहरु पाइन्छन्, जसले मन्त्री बनेका बेला सिंहदरबारमा कर्मचारी वा सर्वसाधारणसँग खुलेखाम घुस र कमिसन माग्ने गर्छन् ।

न्यायाधीशलाई घुस अफर गर्नेदेखि लिएर तलदेखि माथिसम्म घुस संस्कृतिलाई वैधानिकता दिनमा नेपाली कांग्रेसको ठूलै ‘योगदान’ रहँदै आएको छ ।

एकजना कांग्रेस नेता एवं पूर्वमन्त्रीका पूर्वपीएले अहिले पनि काठमाडौंको सडक बत्तीमा घुस र कमिसन मागेर हैरान बनाइरहेको महानगरपालिकाका कर्मचारीको गुनासो सुन्न पाइन्छ ।

राज्य सञ्चालनमा यस्तो कुसंस्कारको जननी मानिने नेपाली कांग्रेसको पार्टी अधिवेशनमै यसरी घुसखोरी र आर्थिक चलखेल भएको विश्लेषक दाहालको मुखबाट सुन्दा डा. भट्टराई अचम्म मानिरहेका थिए । उनले यसबारे दाहाललाई खासै जवाफ पनि दिएनन् ।

अर्को प्रसंग, एमाले अखिलको

कांग्रेस महाधिवेशनको संघारमा एमाले निकट अनेरास्ववियुको २२ औं राष्ट्रिय सम्मेलनको प्रहसन राजधानीमा चलिरहेको छ । प्रतिनिधिसम्बन्धी विषयमा धाँधली भएपछि लम्बिएको सम्मेलनमा मतगणना सकिन बाँकी छ ।

UML-Akhilअखिलको महासचिव पदका दाबेदार अब्दुल हुसेन खानले बन्दसत्रका बेला प्रहरी गुहारे । उनलाई प्रहरीले अंगरक्षकलाई जस्तै गरी पहरा दियो । आखिर हुसेन कोबाट असुरक्षित भए र उनलाई पहरा दिनुपर्‍यो ? यसको रहस्य अरु नभएर आफ्नै संगठनका अर्का प्रतिद्वन्द्वी ऐन महर थिए ।

महरका समर्थकहरुले हतियार नै देखाएर धम्की दिएको खानले रिपोर्ट गरेपछि उनलाई प्रहरी सुरक्षा प्रदान गरिएको थियो ।

आखिर आफ्नै संगठनको प्रतिपर्धीलाई त यो तहसम्मको धम्की दिइन्छ भने साँच्चैको विपक्षीप्रति कस्तो व्यवहार गरिँदो होला ? यो अर्को गम्भीर प्रश्न हो ।

देशमा गणतन्त्र आएको छ । हामीले समावेशी लोकतन्त्रको कुरा गरेका छौं । अब हामीले मुलुकलाई राजनीतिक स्थायित्व र आर्थिक सम्वृद्धितर्फ अघि बढाउने बताइरहेका छौं ।

तर, आफ्नै पार्टीभित्रै हुने आन्तरिक लोकतन्त्रको अभ्यासमा यति साह्रो आर्थिक चलखेल र फौजदारी हरकतहरु हुने हो भने यस्तो फोहोरी खेल खेल्नेहरुले देशमा कस्तो लोकतन्त्रको संस्कार विकास गर्लान् ? प्रश्न सामान्य छैन ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment