– लक्ष्मण गाम्नागे
सिस्नुपानी नेपालको टोली अहिले खाडी मुलुकहरूमा ‘दुुई थोपा हाँसो’ शीर्षकको कार्यक्रम लिएर छक्क पर्दै घुमिरहेको छ । छक्क किनभने सडकमा माटो, ढुुंगा, बालुवा, रोडा थुपारेको कहीँकतै देख्न पाइएन । धूलो, धूवाँ र दुर्गन्ध सेवन गर्न पनि पाइएन । हामी काठमाडौँवासीलाई दुबई, आवुधावी र शारजहाँका चिल्ला सडकमा सय–डेढ सय प्रतिघन्टाका दरले गाडीमा दौडिँदा काठमाडौँको नियास्रोले सताउनुसम्म सतायो । सडकमा कतै इँटा उक्किएका, खाल्डा परेका, पानी जमेका, फोहोर थुप्रिएका, साँढे बसेका, कुकुर लठारिएका देख्न पनि पाइएन । त्यहाँको सरसफाइ, चिल्ला भवन र सडक देखेर डाहले छटपटिएको यो मनलाई कताकति सडकका मोडमा, कुनाकानीमा हाम्रा छिमेकी दाजुुभाइले पान खाएर प्याच्च प्याच्च थुकेर बनेका राता टाटा देख्न पाउँदा अलिअलि सान्त्वना प्राप्त भयो ।
दुबईमा आन्दोलन, ढुुंगामुढा, टायर, बन्द, प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, धर्ना, नाकाबन्दी, आगजनी, अनशन केही हुँदैनन् रे ! यस्तो नीरस ठाउँमा कसरी टिकेका छन् यी हजारौँ हजार नेपाली श्रमिक र उद्यमी ! बाहिर खुलेर राजनीति गर्न नपाइने त्यहाँ धन्य के के जाति समाज र समितिहरू बनाएर, त्यहीँभित्र चुनाव–सुनाव गरेर बाँचेका रहेछन् उनीहरू । गाउँ समाज, टोल समाज, बडा समाज, जात समाज, थर समाज, पार्टी कमिटी, गुट कमिटीमा सहभागी भएर स्वदेशको न्यास्रो मेटेर बसेका रहेछन् ।
ट्राफिक प्रहरी कस्ता हुन्छन् होला भनेर हामीले चोकहरूमा खुब नियालेर हेर्यौँ । दुुई साता बसेर सयौँ किलोमिटरको यात्रा तय गर्दा पनि एक जना ट्राफिक प्रहरी कतै सडकमा देख्न पाइएन । ट्राफिक प्रहरीको जागिर एकदमै नीरस रहेछ । सबै स्वचालित । हाम्रामा जस्तो सडकमा लस्कर लागेर सवारी साधन छेकेर चेकजाँच गर्न पाउँदा रहेनछन् प्रहरीले । बाटोबाटोमा लाइसेन्स खोसेर फूर्ति देखाउन पनि पाउँदा रहेनछन् । चेकजाँचका क्रममा भाग्न खोज्ने मोटरसाइकलका पछाडि झुन्डिएर प्रहरीले तानेका दृश्य देख्न त कहाँ पाउनू !
हाम्रा लागि रमिता हेर्न लायक खासै केही देखिएन । बरू डाहा लाग्ने कुरा मात्रै धेरै देखिए । न रुख छ, न खोलो छ, न पहाड छ, न खेती छ, न फलफूल छ, न साग, न पात, न अन्न । चारैतिर बालुवा छ । तैपनि, यी बालुवावासी खाडीवालाहरूले बालुवामाथि कृत्रिम स्वर्ग उभ्याएर संसारभरिबाट पर्यटक भित्र्याएर पैसा बटुल्दा रहेछन् । त्यहाँका सडक, गगनचुम्बी टावरहरू, सरसफाइ, नियम–कानुनको पालना, पर्यटकको ओइरो हेर्दा हेर्दै हामीलाई त भाउन्न होला जस्तो भयो । छिटोछिटो यात्रा सकेर हामी कतारतिर लाग्यौँ ।
बरू, कतारमा आइपुुगेपछि मन अलिक शान्त भयो । ट्राफिक जाम, अलिक फोहोर मैला, अलिअलि भत्केका, टालेका सडकहरू देख्न पाइयो । केही साँघुरा गल्ली पनि हेर्न पाइयो । अलिक सन्चो भएको मनलाई चस्स दुखाउँदै यहाँका साथीहरू भन्दैछन्, यी गल्ली र पुराना घरहरू भत्काएर केही वर्षभित्रैमा यहाँ पनि नयाँ सहर बसाउने योजना छ । यो योजना हाम्रो मेलम्चीजस्तो, पूर्वपश्चिम रेलमार्गजस्तो, निजगढ विमास्थलजस्तो कागजमै बसेको बसै गर्ने योजना होइन, भनेकै समयमा भनेकै जसरी सम्पन्न हुन्छ । उनीहरूका कुुरा सुुनेर फेरि बेचैनी बढ्यो । बस्नै मन लागेन । हामी हतार हतार कतारका कार्यक्रम सकेर स्वदेश फर्कियौँ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment