Sunday, February 21, 2016

नेपाली क्रिकेटमा लाजमर्दो दिन नआओस्ः पारस खड्का

सवै पक्ष आ-आफ्नै डम्फु बजाउँदै

९ फागुन, काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले आईसीसीले नेपाल क्रिकेट निलम्बन हुने चेतावनी दिइरहँदा क्यानको आधिकारिकता विवादमा आइतबार पनि सर्वोच्च अदालतमा बहस हुन सकेन ।

नेपाल क्रिकेट संघसँग सम्वद्ध पक्षहरु आरोप प्रत्यारोपमा उभिएका छन् । र, एकले अर्कालाई पछि हट्न भनिरहेका छन् ।

नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्का भने नेपाली क्रिकेट निलम्बन हुन सक्ने आईसीसीको चेतावनीलाई दुःखद खवर भन्छन् ।

आईसीसीले क्रिकेट संघको बैधानिकता विवाद रहेको र अदालतमा मुद्दा लम्बिएको भन्दै तत्काल विवाद समाधान नभए अमेरिकालाई जस्तै नेपाली क्रिकेटलाई निलम्बन गर्न सक्ने बताएको छ ।

आईसीसीका ग्लोबल डेभलोपमेन्ट प्रमुख टीम एन्डरसनले राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव केशवकुमार विष्ट, सरकारद्वारा गठित नेपाल क्रिकेट संघको तदर्थ समितिका अध्यक्ष रमेश शिलवाल र निर्वाचनबाट चुनिएको क्यानका महासचिव अशोकनाथ प्याकुरेललाई सम्बोधन गर्दै पत्र पठाएका छन् ।

Keshab,-Ramesh-and-Ashok

तर, सम्वद्ध पक्षहरु आ-आफ्नै डम्फु बजाइरहेका छन् ।

राष्ट्रिय खेलकुद परिषद राखेपले आफ्नो कदम सही भनेको छ । र, आईसीसीले चाल्न सक्ने कमदप्रति अदालत जाने असन्तुष्ट पक्षहरु नै जिम्मेवार हुने प्रतिक्रिया दिएको छ ।  राखेप सदस्य सचिव केशवकुमार विष्टले अनलाइनखबरसँग भने, अदालतमा विचाराधीन मुद्दामा हामी केही गर्न सक्दैनौं ।’

तदर्थ समिति गठन गर्ने आफ्नो कदमको बचाउ गर्दै सदस्य सचिव विष्टले असन्तुष्ट पक्षले मुद्दा फिर्ता लिए समाधान निस्कने बताए ।

राखेपले मान्यता नदिएको चतुरबहादुर चन्द नेतृत्वको क्यानका महासचिव अशोकनाथ प्याकुरेलले भने राखेपले आफूले बनाएको तदर्थ समिति विघटन गरे समाधान हुने बताए । उनले भने-निर्वाचित कमिटीले अदालतमा मुद्दा हालेकाले नेपालको क्रिकेट निलम्बन हुन लागेको भनेर आईसीसीले भनेको हो र ? राखेप सदस्य सचिवलाई मेरो प्रश्न छ ।’

तदर्थ समिति गठन गर्दै गर्दा राखेप सदस्य सचिवले आईसीसीसँग परामर्श भएको भनेको स्मरण गर्दै उनले भ्रममा राख्न मात्र त्यस्तो गरिएको रहेछ भन्ने अहिले पुष्टि भएको बताए । यद्यपि आफूहरु अहिले पनि क्रिकेटको समस्या समाधान गर्न तयार रहेको र त्यसका लागि आफूहरुको अभिभावक समेत रहेको राखेपले पहल गर्नु पर्ने उनले बताए ।

राखेपले गठन गरेको तदर्थ समितिका संयोजक रमेश सिलवालले भने सर्वोच्च अदालतले चाँडो फैसला गर्नु पर्ने बताए । ढिलो न्याय दिनु न्याय नदिनु जस्तै भएको भन्दै उनले भने, ‘यसमा हामी केही गर्न सक्दैनौं । अदालतले छिटो निर्णय देओस् ।’

त्यो लाजमर्दो दिन नआओस्ः पारस

नेपाली क्रिकेट टीमका कप्तान पारस भने जिम्मेवारीमा बसेकाहरु जिम्मेवार हुन नसकेको बताउँछन् । झण्डै दुई वर्षदेखि राष्ट्रिय प्रतियोगिता नभएको तथा सिनियर टीम समेत प्रशिक्षकविहीन रहेको भन्दै खड्काले अनलाइनखबरसँग भने-हामी खेलाडी र प्रशिक्षकले मेहनत गरिरहेका छौं । क्यान राम्रो हुनुपर्‍यो भनिरहेका छौं । तर, निकै खराब अवस्थामा पुगेको छ ।’

आईसीसीले अहिले चेतावनी मात्र दिएको भन्दै उनले सम्वद्ध पक्षहरुले तत्काल समाधान खोज्नु पर्ने बताए । नभए आईसीसीले प्रतिवन्ध लगाउने कदम चाले नेपाली क्रिकेटका लागि लाजमर्दो हुने उनले बताए । उनले भने- नेपाली क्रिकेटका लागि त्यो लाजमर्दो दिन नआओस् ।’


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment