Sunday, February 21, 2016

स्थायी समितिमा प्रचण्डको गुनासो– ‘आफ्नै मन्त्रीले टेर्न छाडे’

मन्त्रीहरु कमाउधन्दामा लागेको गुनासो

काठमाडौं, ९ फागुन । एमाओवादी अध्यक्ष प्रचण्डले आफ्नै पार्टीका मन्त्रीहरुले आफूलाई र पार्टीलाई टेर्न छाडेको गुनासो गरेका छन् । मन्त्री नरहेका स्थायी समिति सदस्यहरुसँगको अनौपचारिक छलफलमा उनले यस्तो गुनासो गरेका हुन् ।

‘गृहमन्त्री शक्तिबहादुर बस्नेत प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा भारत भ्रमण गर्ने प्रतिनिधिमण्डलमा सहभागी रहेको कुरा मैले समाचार पढेर थाहा पाएँ,’ अनौपचारिक बैठकमा सहभागी एक स्थायी समिति सदस्यले प्रचण्डको भनाई उद्धृत गर्दै भने, ‘तर कुनै निर्णय हुँदैछ भनेर सोध्दा मन्त्रीहरु अनभिज्ञता देखाउँछन् ।’

उनले कोही पनि मन्त्री मैले र पार्टीले दिएको निर्देशन टेर्न छाडेको गुनासो गरे । स्थायी समिति सदस्यहरुलाई प्रचण्डको प्रश्न थियो, ‘अनि कार्यकर्ता र जनताको पहुँच मन्त्रीसम्म कसरी पुग्नु ?’ प्रचण्डले आफ्नै मन्त्रीहरु आफूसँग भन्दा बढी प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीसँग बढी जिम्मेवार देखिएको गुनासो गरे ।

‘मन्त्रीहरु कर्मचारीसँग मिलेर कमाउ धन्दामा लागेका छन्,’ ती स्थायी समिति सदस्यले भने, ‘हामीले जतिसुकै पार्टी निर्माण गर्ने कुरा गरेपनि कसरी पार्टीको इज्जत जोगाउन सकिन्छ र ? ’ बैठकमा अब एमाओवादी र आफूहरुले मन्त्री बन्ने अवसर नपाउने र पाएको बेला अवसरको सदुपयोग गर्नुपर्ने निष्कर्षमा एमाओवादीका मन्त्रीहरु पुगेको बारे पनि छलफल भएको उनले बताए ।

बैठकमा धारणा राख्ने क्रममा एमाओवादी नेताहरुले जनअपेक्षाअनुसार सरकारको कामकारबाही अगाडि बढ्न नसकेकामा आपत्ति जनाएका थिए ।

संविधानसभाबाट संविधान घोषणा भएपछि गठन भएको वर्तमान सरकारले ऐतिहासिक र महत्वपूर्ण काम गर्नुपर्नेमा त्यसो हुन नसकेको र परम्परागत तवरले मात्रै सरकार चलेको भन्दै तत्काल कार्यशैली सुधार गर्नुपर्नेमा जोड दिइएको थियो ।

यस्तै मुलुकका विभिन्न जिल्लाका नेता तथा कार्यकर्ता नयाँ शक्तिमा जाने क्रम बढेको भन्दै त्यसलाई कसरी रोक्ने भन्नेमा समेत छलफल भएको थियो । त्यस्तै पार्टीको सङ्गठन सुदृढीकरण, जनवर्गीय सङ्गठनको परिचालन एवम् सङ्गठन सुदृढीकरणका विषयमा समेत छलफल भएको सो पार्टीले जनाएको छ ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महासचिव कृष्णबहादुर महराले आजको बैठकमा स्थायी समितिका सदस्यले आ–आफ्नो धारणा राखेको बताए।

उनले बैठकमा सरकारको कामकारबाही, मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल भए पनि आज कुनै निर्णय नभएको जानकारी दिए । बैठक सोमबार बिहान ८ बजे पुनः बस्नेछ ।

 


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment