कहिले होला १४ सय किमी टाढाको बन्दरगाहको उपयोग
९ फागुन, काठमाडौं । हैदरावाद हाउसमा शनिबार भएको सहमतिअनुसार भारतले नेपाललाई तेस्रो मुलुकसँग व्यापार गर्नका लागि विशाखापटनम बन्दरगाह प्रयोग दिने भएको छ । तर, निकै टाढाको दुरीमा रहेको विशाखापटनम नेपालका लागि ‘आकाशको फल आँखा तरी मर’ भनेजस्तै हुने सम्भावना छ ।
बिशाखापटनम बन्दरगाह नेपालबाट करिब १४०० किलोमिटर टाढा पर्छ । जबकि कोलकाता बन्दरगाह ८०० मिलोमिटर टाढा मात्रै पर्छ । यसअघि सन् १९६० देखि भारतले तेस्रो मुलुकसँग व्यापारका लागि कोलकाता बन्दरगाहमात्रै प्रयोग गर्न दिँदै आएको थियो ।
टाढाको बन्दरगाह प्रयोग गर्न पाउँदा नेपाललाई के फाइदा पुग्ला ? यसबारे नेपालका आर्थिक मामिलाका जानकारहरुले प्रश्न उठाएका छन् ।
के हो विशाखापटनम ?
विशाखापटनम बन्दरगाह भारतको आन्ध्र प्रदेशमा पर्छ । यो बन्दरगाह भारतमा अंग्रेजको शासन रहेका बेला सन् १८३३ डिसेम्बरबाट सञ्चालनमा आएको हो । बंगाल-नागपुर रेल्वे सेवा सञ्चालनपछि अंग्रेजहरुले यो बन्दरगाहलाई सञ्चालनमा ल्याएका हुन् ।
पहिलो विश्वयुद्धपछि खुलेको यो बन्दरगाहमार्फत मलेसियासम्म भारतको सामुदि्रक मार्ग जोडिएको छ, जसलाई अंग्रेजहरुले व्यापारिक एवं सामरिक हिसाबले समेत प्रयोग गरेका थिए ।
दोस्रो विश्वयुद्धका बेलामा बेलायतीहरुले कोलकाताबाट यही सामुदि्रक मार्ग हुँदै मलेसिया र सिंगापुरसम्म भाडाका सिपाहीहरु ओसार्ने गरेका थिए ।
डेढ दर्जन बन्दरगाह मध्येको एक मानिने विशाखापटनम बन्दरगाह भारतको दोस्रो ठूलो बन्दरगाह हो ।
माधव नेपालकै पालाको प्रयास
नेपालले अहिले कोलकाताबाहेक हल्दिया बन्दरगाह हुँदै सुनौली नाका भएर ग्यास ल्याउने गरेको छ । दुरीको हिसाबले नेपालका लागि पारादीप बन्दरगाह र हल्दिया बन्दरगाह भन्दा विशाखापटनम धेरै टाढा पर्छ ।
दूरीको हिसाबले नेपालबाट टाढा पर्ने भए पनि क्षमताको हिसाबले विशोखापटनम निकै ठूलो बन्दरगाह हो ।
नेपाल र भारतवीच विशाखापटनम बन्दरगाहको प्रयोगबारे अहिले नयाँ बहस भएको चाँहि होइन । भारतले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालकै पालामै विशाखापटम बन्दरगाह नेपाललाई प्रयोग गर्न दिने भनेको थियो ।
तर, नेपाल सरकारले पर्याप्त तयारी नगरेका कारण ७ वर्षपछिमात्रै यो बन्दरगाह प्रयोग गर्ने सम्झौता भएको हो ।
अहिले सहमति त भएको छ, तर नेपालले सडक वा रेलमध्ये कुन बाटो प्रयोग गर्छ भन्ने अन्यौल एकातर्फ छ भने अर्कोतिर भारतमा एउटा राज्यबाट अर्को राज्यमा क्रस हुँदा नेपाली मालसामान माथि अनेकन झण्झट व्यहोर्नुपर्ने समस्या समाधानप्रति भारतले चासो दिने गरेको छैन । यो बन्दरगाहको प्रयोग नेपालले कहिलेबाट गर्ने हो, त्यसको कुनै टुंगो छैन ।
थोरै समान ल्याउँदा फाइदा हुँदैनः शर्मा
विशाखापटनम बन्दरगाह प्रयोग गर्न दिने सम्झौता भए पनि यो बन्दरगाह प्रयोगमा आउन समय लाग्ने नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष हरिभक्त शर्माले अनलाइनखबरलाई बताए ।
बन्दरगाहबाट सडक मार्ग हुँदै सामान ढुवानी गर्दा महंगो पर्ने भएकाले रेलमार्गको प्रयोग गर्नुपर्ने उनले बताए । ‘उद्योगीहरुले ठूल्ठूला वस्तुहरुको ढुवानी गर्न यो बन्दरगाहको प्रयोग गर्न सक्छन्’ शर्माले भने- ‘थोरै समान ल्याउँदा फाइदा हुँदैन ।’
पूर्वसचिव ओझा भन्छन्- पारवहन प्रक्रिया पुनरावलोकन जरुरी
विशाखापटनम बन्दरगाह प्रयोग गर्न दिने सहमतिबारे पूर्ववाणिज्यसचिव पुरुषोत्तम ओझा अनलाइनखबरसँग भन्छन्-‘कोलकाता तुलनात्मकरुपमा सानो बन्दरगाह हो भने बिशाखापटनम ठूलो सामुदि्रक बन्दरगाह हो । त्यसैले विशाखापटनमबाट एकैचोटि ठूलो परिणाममा सामानहरु आयात-निर्यात गर्न सकिन्छ र सस्तो पनि पर्छ ।’
तर, विशाखापनमबाट नेपालसम्म आवत-जावतका लागि सडक मार्ग प्रयोग गर्दा महंगो पर्ने ओझा बताउँछन् । रेलमार्ग प्रयोग गर्दा सस्तो पर्ने उनको तर्क छ । यो बन्दरगाहबाट भारतको पटना हुँदै बीरगञ्जमा सामान ढुवानी गर्न सकिने ओझाले जानकारी दिए ।
विशाखापनमसँगै पूर्वी नेपालको जोगवनीमा सिंहावाद हुँदै बंगलादेशको रोहनपुरनाकाबाट पनि व्यापार गर्न पाइने सम्झौता भएको छ । जसले नेपालबाट सीधै बंगलादेशको ढाकासम्म रेल सेवा सञ्चालन गर्न सकिने ओझाले बताए ।
‘भारतले नयाँ बन्दरगाह प्रयोग गर्न दिएसँगै बन्दरगाहहरुबीच प्रतिस्पर्धा हुने भएकाले सामानको ढुवानी गर्दा सस्तो हुन जान्छ,’ उनले भने ।
तर, लागत घटाउनका लागि अहिले भइरहेको पारवहन प्रक्रियालाई सरल बनाउनुपर्ने ओझाको भनाइ छ । प्रक्रियागत सरलीकरणका लागि पारवहन सम्झौतामा पुनरावलोकन गर्नुपर्ने उनले अनलाइनखबरलाई बताए ।
‘कोलकातामा एउटा कन्टेनर छुटाउन १९ वटा हस्ताक्षर चाहिने रहेछ, प्रक्रिया एकदमै जटिल छ, यसलाई सरलीकरण नगरेसम्म ढुवानीको लागत घट्न सक्दैन,’ उनले भने ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment