Friday, April 1, 2016

कसैलाई झुक्याउन वा झुटो बोल्न ‘अप्रिल फस्ट’ नै आउनुपर्छ र ?

– सुव्रत आचार्य

यहाँ कसले कुर्छ र ठग्नका लागि अप्रिल फस्ट ? हाम्रो देशमा सधैं अप्रिल फस्ट त छ नि । पहिलेका मानिसहरूमा इमान्दारिता थियो । अहिलेका मानिस ठीक उल्टा छन् ।
रितु कँडेल, गायिका

अप्रिल फस्ट आउनै पर्दैन, मानिसहरू जहिले पनि झुक्याउन तयार छन् र ३ सय ६५ दिन नै झुक्किरहेकाहरू पनि छन् ।
कृति खरेल, मोडल

अहिलेको संसार हेर्दा लाग्छ कि मानिसहरू हरेक दिन अप्रिल फस्ट मनाउँदै अरूलाई झुक्याइरहेका छन् । अब अप्रिल फस्टलाई ‘फुल्स डे’ भनिए झैं अर्को एउटा दिवस चाहिएको छ–‘नो फुल्स डे’ ।
अभिनव कसजु, साइबरसंसार डटकम

वर्षभरि नै झुक्किरहने बानी परिसकेको छ, अचेल त कसैले झुक्याउला है भनेर सम्झाउनलाई मात्र अप्रिल फस्ट आउनुपर्छ ।
रवि श्रेष्ठ, सञ्चारकर्मी

राम्रो कामका लागि झुटो बोल्न अप्रिल फस्ट नै कुर्नु पर्दैन, यद्यपि अप्रिल फुल भन्दै झुटो बोलेर कसैलाई दु:ख दिनु मेरा लागि स्वीकार्य छैन ।
दीपक घिमिरे, मोडल

पर्दैन, अप्रिल फस्ट रमाइलोका लागि सामान्य ठट्टा गर्ने दिन हो । हरेक मानिसले आफ्नो दैनिक जीवनमा कहीँ न कहीँ सानो वा ठूलो झुटो बोलेकै हुन्छ । यो मानवीय गुण पनि हो ।
आस्था बी, गायिका

पर्दैन, साँचो बोले पनि हुन्छ । मानिसहरू साँचो कुरा पत्याउँदैनन् बरु झुटमा सहजै विश्वास गर्छन् । मेरो भनाइचाहिँ साँचो बोल्नुस्, अनि हरेक दिन साँचो बोलेर अप्रिल फुल मनाउनुहोस् ।
अशेष अधिकारी, सञ्चारकर्मी

मेरा लागि त हरेक महिनाको एक दिन अप्रिल फस्ट हुन्छ ।
सविन श्रेष्ठ, नायक

सानो तिनो कुरामा झुटो बोल्दा केही फरक त नपर्ला, तर झुटो बोल्दा कसैको ठूलो हानी हुन्छ भने ध्यान पुर्‍याउनुपर्छ । समाजमा यस्ता झुटको सामना हरेक दिन गर्नुपर्छ, त्यसैले त्यसका लागि ‘अप्रिल फस्ट’ नै आउनु आवश्यक छैन ।
नीता ढुंगाना, नायिका

नेताजीहरूले प्राय: सधैं जनतालाई फुल बनाइरहेकै छन् । हामी जनता सधैं झुक्किरहेकै हुन्छौं । अब किन चाहियो ‘अप्रिल फस्ट’ ।
शिशिर राणा, अभिनेता

समय तथा परिस्थिति हेरेर झुक्याउँदा केही फरक त नपर्ला ।
विपना बस्नेत, नक्कली हिसिला यमी

झुक्याउनु भनेको यदाकदा साथीहरूसँग रमाइलो गर्नु पनि हो । त्यसैले हल्का रमाइलोका लागि जुनबेला पनि झुक्याउन सकिन्छ । त्यसका लागि अप्रिल फस्ट नै कुर्नु पर्दैन ।
आगन्तुक खरेल, गायिका

अहिलेको हाम्रो समाजमा अनुशासन पालना गर्ने मानिसहरू कम हुँदैछन् । ढाँटने, छल्ने र झुक्याउने अनि आत्मरतिमा रमाउने मानिसहरूको बाहुल्यता भएका कारण मलाई त ३ सय ६५ दिन नै अप्रिल फस्ट जस्तो लाग्छ ।
सुमन दाहाल, निर्देशक

झुक्याउन माहिर त हाम्रा अनलाइन न्युज पोर्टल र ब्लग चलाउनेहरू हुनुहुन्छ । यस्ता–यस्ता नचाहिने खबर हालेर अनलाइन भिजिटर बढाउने काम गर्नुहुन्छ कि कहिलेकाहीँ ती खबर हेरेर उहाँहरूलाई ‘कुरी–कुरी’ भन्न मनलाग्छ । उहाँहरूका तर्फबाट हामीलाई जनवरीदेखि डिसेम्बरसम्म सधैं ‘अप्रिल फस्ट’ ।
राज आचार्य, कलाकार

बिहान यो प्रश्न हेर्दै बाइक स्टार्ट गर्दै थिएँ । एउटा फोन आयो –‘कहाँ पुग्नु भयो दाइ ?’ मैले भने–‘कोटेश्वर’ । मेरो कुरा सुनिरहेकी मेरी सानी छोरीले प्याच्चै सोधिन् –‘बाबा, यो त लोकन्थली हैन र ? किन ढाँट्नु भएको ?’ उता फोन राखिएको थिएन । म अलमल्लमा परेँ । कुरा बुझे भैगो ।
राजनराज शिवाकोटी, संगीतकार

झुक्याउने, ‘फुल’ बनाउने दिन त ‘अप्रिल फस्ट नै हो, तर यहाँ हरेक दिन कसै न कसैले मूर्ख बनाइरहेकै हुन्छ ।
कपिल द्वा, चलचित्र वितरक

हल्का झुट त पहिले पनि बोलिन्थ्यो, मोबाइल फोनका कारण अचेल अझ बढी झुट बोलिन थालेको छ । त्यसैले अचेल हरेक दिन ‘अप्रिल फस्ट’ ।
कृषा चौंलागाइँ, चलचित्र निर्मात्री

म कहिलेकाहीँ ढाट्ने मान्छेलाई त झुटो बोल्न अप्रिल फस्ट नै आउनुपर्छ । सधैं ढाट्ने मित्रहरूका लागि त जहिले पनि जे परे पनि अप्रिल फस्ट ?
अर्जुन पोखरेल, संगीतकार

पर्दैन । यथार्थता, परिस्थिति, अभाव एवं अनियमितताले मानिसहरूलाई दिनका दिन झुक्याइरहेकै छ ।
अमृत सुनुवार, छायांकार

कतिपय नेपालीको मौलिकता नै झुटो बोल्नु हो, अप्रिल १ तारिख त त्यस्ता नेपालीहरूलाई देखेर हाँस्छ होला ।
भुपेन्द्र खड्का, गीतकार

मलाई मानिसहरूले सधैं झुक्याइरहेको देख्दा अप्रिल फस्ट नै आउनुपर्छ जस्तो लाग्दैन ।
सम्पदा बानियाँ, मोडल

कलियुग छ, मानिसहरू हरेक क्षण झुक्याउने र झुटो बोल्ने क्षमता देखाइरहेका छन् । उनीहरू आफूमा झुक्याउने कला भएकोमा गर्व गर्छन । कसैकसैको त झुक्याएरै जीवन चलिरहेको छ । अप्रिल फस्ट त अंग्रेजी मितिमा जीवन चलाउनेहरूले रमाइलो गर्ने दिन हो ।
शारदा थापा, समाचार वाचिका

मानिसहरू कुनै पनि बेला झुटो बोलिरहेका हुन्छन् । त्यसैले यहाँ जुनसुकै बेला ‘अप्रिल फस्ट’ । वास्तविकतामा झुक्याउनुको मज्जा अप्रिल फस्टमा जस्तो अरू बेला हुँदैनन् ।
मिलन शंकर, मोडल


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment