काठमाडौँ, १९ चैत । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र नेपाल विद्युत् प्राधिकरणबीच लघु जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्ने उद्देश्यका साथ विद्युत् खरिद सम्झौता भएको छ ।
केन्द्रका अनुसार सरकारको अनुदान सहयोगमा केन्द्रअन्तर्गत निर्माण भएका नुवाकोटको सिक्रे गाविसमा आयोजनास्थल रहेको २३ किलोवाट क्षमताको स्याउरे भूमि लघुजलविद्युत आयोजना र धनकुटाको मारेक कटहरेमा आयोजनास्थल रहेको ४० किलोवाट क्षमताको लेगुवा खोला लघुजलविद्युत आयोजनाको सम्झौता भएको हो ।
सम्झौताअनुसार यी दुई आयोजनाबाट उत्पादित विद्युत् प्रति युनिट वर्षा कालमा चार रुपैयाँ ८० पैसा र हिउँदमा ८ रुपैयाँ ६० पैसा रहेको छ । बर्सेनि तीन प्रतिशतका दरले पाँच पटकसम्म मूल्यवृद्धिसहितको विद्युत् खरिद दर कायम हुने केन्द्रका सूचना अधिकृत कृष्णचन्द्र पौडेलले जानकारी दिनुभयो ।
पिपिए भएका दुबै आयोजना २०७० सालमा निर्माण सम्पन्न भएका हुन् । यी दुई लघु जलविद्युत् आयोजनाबाट हाल ६६६ घरधुरी लाभान्वित छन् । निर्माण सम्पन्न भएपछि दुबै आयोजनास्थलमा राष्ट्रिय प्रशारण लाइन विस्तार भएपछि यस्तो सम्झौता भएको हो ।
पिपिएपछि आयोजना चौविसै घण्टा सञ्चालन हुने र प्राधिकरणबाट एकमुष्ट आम्दानी प्राप्त हुने हुँदा आयोजना आर्थिक रुपमा सवल भई दिगो रुपमा सञ्चालन हुने लेगुवा खोला लघुजलविद्युत् सहकारी संस्थाका अध्यक्ष यत्नबहादुर कटुवाल बताउनुहुन्छ ।
केन्द्रका सामुदायिक विद्युतीकरण विभागका व्यवस्थापक रणबहादुर थापाले लघु जलविद्युत् आयोजनालाई राष्ट्रिय प्रशारण लाइनमा जडान गर्न सन् २००७ देखि नै पहल भएको बताउँदै सुरुका दिनदेखि नै राष्ट्रिय प्रसारणमा जोडिने आयोजनाको पहिचान, आयोजनाको प्राविधिक सम्भाव्यता अध्ययन, प्राधिकरणसँग समन्वय तथा आवश्यक नीति निर्माण तहमा केन्द्रले निरन्तर गरिरहेकोे बताउनुभयो ।
केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालले खरिद सम्झौताले लघु जलविद्युत्को विकासमा यसले महत्वपूर्ण भूमिका खेल्नुको साथै भविष्यमा निजी लगानीकर्तालाई समेत लघुजलविद्युत्मा ढुक्क भएर लगानी गर्ने वातावरण बनेको बताउनुभयो ।
लघुजलविद्युत्मा प्रयोग हुने विद्युतीय सामाग्री, आयोजना निर्माण, जडान तथा व्यवस्थापनको गुणस्तरीयतालाई अभिवृद्धि गर्दै ग्रिड जडानयोग्य लघुजलविद्युत् आयोजना निर्माणको लागि सम्बन्धित सरोकारवालाको क्षमता अभिवृद्धि गरिनुपर्ने तथा हाल निर्माण सम्पन्न भएर सञ्चालनमा रहेका आयोजनालाई आवश्यक अध्ययन गरी सम्भव भएसम्मका आयोजनालाई राष्ट्रिय प्रसारणमा जोड्नुपर्ने उहाँले बताउनुभयो ।
गत साउनमा केन्द्र र प्राधिकरणबीच लघुजलविद्युत् आयोजनालाई राष्ट्रिय प्रसारण प्रणालीमा आवद्ध गर्ने विषयमा सैद्धान्तिक सहमति भएको थियो । सो सम्झौतासँगै देशभरका एकहजार ५०० भन्दा बढी लघुजलविद्युत् आयोजनालाई राष्ट्रिय प्रसारण लाइनमा जडान गर्ने बाटो खुलेको छ । रासस
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment