१९ चैत, काठमाडौं । तपाईंको राष्ट्रिय प्रसारण लाइनको बिजुली आएर गाउँमा सञ्चालनमा भएको लघु जलविद्युत आयोजना बन्द छन् ? कि लघु जलविद्युत आयोजनाको बिजुली धेरै भएर खेर गइरहेको छ ? त्यसो हो भने अब चिन्ता नलिनुस्, यस्ता साना आयोजनाको बिजुली सरकारले नै किन्न थालेको छ ।
यसबाट गाउँका साना आयोजना निरन्तर सञ्चालन मात्रै हुने छैनन् गाउँमा बिजुली बेचेको पैसा पनि भित्रिने छ ।
नेपाल विद्युत प्राधिकरणले पहिलोपटक जनताको प्रयासमा गाउँघरमा सञ्चालनमा रहेका लघु जलविद्युत आयोजनासँग विद्युत खरिद सम्झौता (पीपीए) गरेको छ । प्राधिकरणले एकैपटक २ वटा लघु जलविद्युत आयोजनासँग विद्युत खरिद सम्झौता गरेर यसको सुरुवात गरेको छ ।
नुवाकोटको सिक्रे गाविसस्थित २३ किलोवाट क्षमताको स्याउरेभूमि लघु जलविद्युत आयोजना र धनकुटाको मारेक कटहरेमा रहेको ४० किलोवाट क्षमताको लेगुवा खोला लघु जलविद्युत आयोजनाले आफूलाई बढी हुने बिजुली राष्ट्रिय प्रसारण लाइनमा जडान हुने भएका हुन् ।
दुई आयोजनाको बिजुली वर्षायाममा ४ रुपैयाँ ८० पैसा र हिउँदयाममा ८ रुपैयाँ ६० पैसामा खरिद गरिनेछ । प्रत्येक बर्षको लागि ३ प्रतिशतका दरले पाँच पटकसम्म मूल्य वृद्धिसहितको विद्युत खरिद दर कायम हुने सम्झौतामा उल्लेख छ ।
यी सम्झौतासँगै देशभरका १५ सय भन्दा बढी लघु जलविद्युत आयोजनालाई राष्ट्रिय प्रसारण लाइनमा जडान हुने बाटो खुलेको छ ।
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले प्राधिकरणसँग लघु जलविद्युतको बिजुली पनि प्रसारण लाइनमा जोड्न पहल गर्दै आएको थियो । यो सम्झौतासँगै जनताको लगानीमा चलिरहेका साना आयोजनाको बिजुली प्राधिकरणले किन्ने क्रम सुरु भएको केन्द्रका सूचना अधिकृत कृष्णचन्द्र पौडेलले बताए ।
पीपीए भएका दुबै आयोजना २०७० सालमा निर्माण सम्पन्न भएका हुन् । यी दुई लघु जलविद्युत आयोजनाबाट हाल ६ सय ६६ घरधुरी लाभान्वित छन् ।
आयोजना रहेका दुबै ठाउँमा राष्ट्रिय प्रसारण लाइन विस्तार भएकाले सम्झौता सम्भव भएको हो । पीपीएपछि आयोजना चौविसै घण्टा सञ्चालनमा रहनेछ । प्राधिकरणले बिजुली किन्ने भएपछि एकमुष्ट आम्दानी प्राप्त हुने लेगुवा खोला लघु जलविद्युत सहकारीका संस्थाका अध्यक्ष यत्नबहादुर कटुवालले बताए ।
लघु जलविद्युत आयोजनालाई राष्ट्रिय प्रसारण लाइनमा जडान गर्नको लागि सन् २००७ देखि नै पहल सुरु भएको थियो । अब यस्ता सम्भाब्य आयोजनाको पहिचान र प्राविधिक सम्भाव्यता अध्ययन अघि बढाउन नेपाल विद्युत प्राधिकरणसँग समन्वय गरिने केन्द्रका सामुदायिक विद्युतीकरण सवकम्पोनेन्टका व्यवस्थापक रणबहादुर थापाले बताए । प्राधिकरणले बिजुली किन्ने भएपछि भविष्यमा निर्माण हुने लघु जलविद्युत आयोजनाको दीगोपनामा सघाउ पुर्याउने उनले बताए ।
केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालले अब निजी लगानीकर्तालाई समेत लघु जलविद्युतमा ढुक्क भएर लगानी गर्ने वातावरण बनेको बताए । उनलेे लघु जलविद्युतमा प्रयोग हुने विद्युतीय सामाग्री, आयोजना निर्माण, जडान तथा व्यवस्थापनको गुणस्तरीयतालाई जोड दिने बेला आएको बताए ।
यसअघि गत साउनमा केन्द्र र प्राधिकरणबीच लघु जलविद्युत आयोजनालाई राष्ट्रिय प्रसारण प्रणालीमा आवद्ध गर्ने विषयमा सहमति भएको थियो ।
यसअघि प्रसारण लाइन विस्तार भएपछि सञ्चालनमा रहेका आयोजना बन्द हुने गरेका थिए । प्राधिकरणले बिजुली किन्न थालेपछि साना जलविद्युत आयोजना चौबिसै घण्टा चलाउने वातावरण तयार भएको केन्द्रको भनाइ छ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment