संसारका विभिन्न मुलुकमा श्रम गरेर देशको राष्ट्रिय ढुकुटीलाई हराभरा बनाइरहेका श्रमशील नेपालीमाझ हास्यव्यंग्य र स्वास्थ्य एवं योगसम्बन्धी सचेतना कार्यक्रम ‘दुई थोपा हाँसो’ लिएर जाने क्रममा सिस्नुपानी नेपालको टोली हालै मलेसियामा पुग्यो । त्यहाँ एउटा संस्थाले आयोजना गरेको परिचयात्मक कार्यक्रममा लामो समयदेखि मलेसियामा व्यापार गरेर बसेका एक जना नेपालीले आफ्ना विचार राख्ने क्रममा व्यक्त गरेका कुरा सुनेर हामी निकै भावुक भयौँ । उनी भन्छन्, ‘यहाँको विकास देखेर मनमा सधैँ छटपटी हुन्छ । खानेपानी, यातायात, ठूलठूला उद्योगधन्दा, पर्यटन, गगनचुम्बी भवनहरूलगायत अनेक क्षेत्रमा भएको विकासको गति देखेर साह्रै बेचैनी हुन्छ ।
धारामा निरन्तर पानी आउँदा पनि नेपालको सम्झना आउँछ, भान्सामा अटूट रूपमा ग्यास आउँदा पनि नेपालको सम्झना आउँछ । मलेसियाभरि कुनाकुनासम्म पुग्ने विशाल चौडा सडक र त्यसवरपरको पर्यावरण देखेर आँखा तिर्मिराउँछन्, मुटु हल्लिन्छ, भक्कानो फुट्छ । एक मिनेट पनि ननिभी बलिरहने झिलीमिली बिजुलीले यो छाती भतभत पोल्छ । जतिखेर पनि विदेशसँग नेपालको तुलना गरिराख्ने असन्तोषी मनका कारण मलाई कहिल्यै चैन हुँदैन ।’
हुन त मन बुझाउने कुरा पनि यहाँ धेरै छन् । सबै कुरामा हामी पछि परेका मात्रै छैनौँ, केही कुरामा हामी यहाँ पनि आनन्द लिन सक्छौँ । कतिपय यताका कुराले उताकालाई बिर्साउँछन्, बल्ल चित्त शान्त हुन्छ र राती निद्रा लाग्छ ।
ट्राफिक जाम मजाले भोग्न पाइन्छ यहाँ । उक्किएका सडक पेटीहरू देख्दा, पेटीमा दस–बीस जोर मोजा, पेटी र रुमाल आदि बेच्न बसेका पसले देख्दा, चोरी, ठगी र लुटपाटका समाचार बारम्बार सुन्न पाउँदा मनमा अलिकति भए पनि राहत मिल्छ । यहाँको प्रहरी देखेर मन शान्त हुन्छ । बिना कसूर पनि मान्छेलाई समात्छ र केरकार गर्छ । प्रतिरोध गर्यो भने हत्कडी ठोकेर मामाघर लगी पनि हाल्छ । २०–५० रुपियाँ हातमा राखिदियो भने छोडी पनि हाल्छ । हाम्रो नेपालमा यति साह्रै त छैन नि भन्ने सम्भिँmदा चित्त शान्त हुन्छ ।
यहाँ खुब भ्रष्टाचार हुन्छ भनेको सुन्दा निकै खुसी लाग्छ । तर, भ्रष्टाचार भए पनि विकासको गतिचाहिँ भयंकर छ । कुरा के रहेछ भने यहाँ २५ प्रतिशत भ्रष्टाचार, ७५ प्रतिशत काम हुन्छ, हामीकहाँ ७५ प्रतिशत भ्रष्टाचार, २५ प्रतिशत काम हुन्छ । हाम्रा नीति निर्माता, मन्त्री, प्रशासकहरूले भ्रष्टाचार गर्न पनि यहाँबाट सिके हुन्थ्यो नि भन्ने लोभले पनि मनमा छटपटी हुन्छ ।
यहाँ मन बुझाउने अर्को कुरा छ यहाँको सुरक्षा व्यवस्था । यहाँ लुटपाटका घटना खुब हुन्छन् । ट्याक्सी चालकदेखि गुन्डा र डनहरू मात्र होइनन्, स–साना सडक बच्चाहरू समेत यो कर्ममा सहभागी हुन्छन् । बाबुआमा र पुलिसले पनि तह लगाउन नसकेका सयौँ बच्चाहरूको लस्कर बजारमा देख्न पाइन्छ ।
अपहरण र लुटपाटमा नेपालीहरूको समेत संलग्नता देखेर त झन् दंगै परिन्छ । अर्काका देशमा आएर पनि उनीहरू पौरख गरेर बसेका छन् । देशको इज्जत जाला भनेर उनीहरू प्राय: नेपाली दाजुभाइलाई नै ठग्ने र लुट्ने गर्छन् । कैयौँ नेपाली छन्, कामका नाममा सिन्को नभाँची पनि महिनामा लाखौँ रकम कमाइ गर्छन् । त्यस्तो देखेपछि गर्वले छाती ढक्क हुन्छ हाम्रो । बाँकी अनुभव अरू साथीहरूले सुनाउनु हुनेछ । धन्यवाद !
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment