काठमाडौं, १९ चैत । कल्पना गर्नुहोस्, ९३ नब्बे वर्षको उमेरमा तपाई के गर्दै हुनुहुन्छ होला ? घरमा आराम गर्दै ? भगवानको नाममा भजन किर्तन गर्दै ? निश्चय पनि ९३ वर्षको उमेरमा घरमा बसेर आराम गर्नु सबैको दिनचर्या हुनेगर्दछ । तर लमजुङ कोल्की–४ भञ्ज्याङका ९३ वर्षीय खुर्साने गुरुङ भने यतिबेला काठमाडौंमा मन्त्रीको कार्यकक्षदेखि नेताको कार्यकक्ष चहारिरहेका भेटिए ।
वयोवृद्ध उमेरमा उनको यो दौडधुप किन होला ? केही व्यक्तिगत समस्या पो छ कि ? होइन, खुर्साने गुरुङको सपना छ, मर्नु अघि आफ्नो विद्यालयमा रहेको माध्यमिक विद्यालय स्थायी होस् । स्थानीय हिमालय मावि २०१८ सालमा स्थापना भएको थियो र उनी उक्त विद्यालयका संस्थापक हुन् । २०५३ सालबाट माध्यमिक शिक्षा सुरु गरेको विद्यालयमा अहिले माध्यमिक तहमा मात्र दुई जना शिक्षक दरबन्दी छ । बाँकी ३ शिक्षकलाई स्थानीय स्रोतबाट पालिएको गुरुङले बताए ।
मंगलबार शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई भेट्न मन्त्रालय पुगेका गुरुङले एकै शब्दमा मन्त्री पोखरेललाई भने, ‘मन्त्रीज्यू मर्नुभन्दा अगाडि विद्यालय स्थायी गर्ने सपना छ । गाविसमा बिजुली र सडक पनि राम्रो हुनुपर्यो ।’
मन्त्री पोखरेलले बनिबनाउ उत्तर फर्काए, ‘देशभरीको समस्या यस्तै छ बा । छिट्टै शिक्षक आयोगबाट १४ हजार निमावि र प्राविको शिक्षक थप्दैछौं । म तपाईंको विद्यालयमा माध्यमिक दरबन्दी थप्न प्रयास गर्नेछु ।’
बिहीबार पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईलाई भेट्न पुगेका गुरुङले त्यही समस्या दोहोर्याए । नेता भट्टराईले पनि आफू प्रधानमन्त्री हुँदा गोर्खाको सिर्दिबासको एउटा विद्यालय स्थायी बनाउन नसकेको अनुभव सुनाए । उनले भने, ‘यहाँको प्रणाली नै यस्तै छ, यसलाई नै बदल्नुपर्छ, हामी त्यही नयाँ अभियानमा छौं ।’
देश विकास गर्ने नेता यिनै हुन् भन्दै भट्टराई भेट्न पुगेका गुरुङले उनलाई ०१८ सालदेखि दुःख गरेर बनाएको विद्यालय स्थायी बनाउन सहयोग गर्न अनुरोध गरे । भट्टराईले सकेजति पहल गर्ने भन्दै आफ्ना स्वकिय सचिवलाई विद्यालयको नाम टिप्न लगाए ।
भट्टराईलाई भेटेपछि नयाँ शक्तिको बबरमहलस्थित कार्यालयमा चिया पिउँदै गरेका गुरुङले सबैलाई पुनः दोहोर्याए, ‘बुढो भएँ, मर्नुभन्दा अगाडि गाउँको स्कूलमा मावि स्थायी गराउने सपना छ ।’
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment