Friday, April 1, 2016

नेपालमाथि अन्तर्राष्ट्रिय नाकाबन्दी लाग्न सक्ने महतोको चेतावनी

विराटनगर, १९ चैत । मधेसी मोर्चाको एक घटक सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सरकारी रबैया यस्तै रहे विश्वका शक्तिशाली देशले नेपालमाथि आर्थिक नाकाबन्दी लगाउन सक्ने खतरा रहेको बताएका छन् ।

विराटनगरमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै सद्भावनाका अध्यक्ष महतोले नेपालको संविधानप्रति शक्तिशाली राष्ट्रहरुको असन्तुष्टि रहेकाले आर्थिक नाकाबन्दी लाग्न सक्ने बताएका हुन् ।

उनले नयाँ संविधानमा मधेसी, आदिवासी, जनजाति, दलित, मुस्लिमलगायतका समुदायको असन्तुष्टि रहेकाले त्यसमा शक्तिशाली राष्ट्रको चासो रहेको बताए । भारत, अमेरिका, बेलायत र संयुक्त राष्ट्र संघलगायतले नेपालको संविधान अधुरो र विभेदकारी रहेको ठहर गरिसकेको र भर्खरै युरोपेली युनियनलेसमेत आन्दोलनरत पक्षसँग वार्ता र संवादबाट समाधान निकाल्न अपील गरिसकेको उनको भनाइ थियो ।

अध्यक्ष महतोले सहयोगी मुलुकले दिएको सल्लाहको विरोधमा सरकारले वक्तव्य निकालेर समस्या समाधान नहुने बताए । बरु सरकारको रबैया यस्तै रहे नेपाल विश्वमा एक्लिँदै जाने र विश्वका शक्तिशाली राष्ट्रले नेपालमाथि आर्थिक नाकाबन्दीसमेत लगाउन सक्ने खतरा बढ्दै गएको उनको भनाई थियो । उनले नेपालमाथि आर्थिक नाकाबन्दी लागे नेपाली जनताले धेरै कष्टको सामना गर्नुपर्ने र त्यसको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने बताए ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment