४ चैत, मोरङ । सर्पदेखि नडराउने को होला ? कसैले तपाइँलाई प्रश्न गर्यो भने तपाइँ सजिलै भन्नुहुन्छ, “सर्प देख्ने बित्तिकै सबै डराउँछन् ।” तर यो प्रश्नको जवाफ गलत हुन्छ । सेक्टर वन कार्यालय उर्लावारी मङ्गलबारेको वनरक्षकमा कार्यरत प्रेम विष्ट सर्पलाई प्रेम गर्छन् ।
प्रहरी सेवामा २१ वर्ष बिताएका प्रेमले तीन हजारभन्दा बढी गोमन र करेत सर्पको उद्धार गरी सुरक्षित स्थानमा छाडिसकेको बताउछन् । उनले सर्पजस्ता सरीसृप जीवको संरक्षण क्षेत्रको विकास गरेर राखिनुपर्ने बताए । सर्प मार्न हुँदैन भन्ने प्रेमले आफूले १० वर्षको उमेरदेखि सर्प समाउन थालेको स्मरण गर्छन् ।
सर्पको डसाइबाट मर्नेको सङ्ख्या धेरै छ । सर्पदंशको औषधि ‘एन्टी–स्नेक भेनम’ विषालु सर्पको विषबाटै तयार हुने औषधि भएकाले एउटा विषालु सर्पबाट १० हजार मानिसको ज्यान बचाउन सक्ने औषधि निकाल्न सकिने उनको भनाइ छ । उनले भने, “यसकारण सर्पलाई मार्नु हुँदैन ।” मुलुकभित्रै एन्टी–स्नेक भेनम उत्पादन गर्ने कारखाना बनाइनुपर्ने विष्टको भनाइ छ ।
सर्पको महत्व देखेकैले उनी सर्प संरक्षणमा जोडतोडले लागेका हुन् । दुईपटक सर्प डसाइमा पर्दा पनि उनलाई सर्पकै माया छ । “सर्पदंशको औषधि एन्टी–स्नेक भेनम नेपालमा पाइँदैन, विदेशबाटै आयात गर्नुपर्छ”, उनले भने , “नेपालमा विषालु सर्प धेरै छन् यसको औषधि उत्पादन नेपालमै हुनुपर्ने हो, तर छैन ।”
डेढ वर्षअघि नागपञ्चमीको पूर्वसन्ध्यामा प्रेम बिष्टलाई विषालु सर्पले डस्यो । सर्पको डसाइबाट उनी आत्तिएनन् । सामान्य अवस्थामा रहेझै बोलिरहे । सर्पदंशबाट मर्छु भन्ने सोच उनमा आएन । सिन्धुली जिल्लाको दुधौली गाविसको जितपुरमा उनलाइ सर्पले डसेको थियो । एम्बुलेन्समा लामो दूरी पार गरेर बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराएका बिष्ट बाँचे । यो समेत दुईपटक सर्पको डसाइ सामना गरेका उनको साहस देखेर उपचारमा संलग्न चिकित्सकहरुसमेत अचम्भित भए ।
यसर्थ कि सर्पले टोक्दा नआत्तिनु र रक्तसञ्चार पनि सामान्यै अवस्थामा रहनु विरलै हुने घटना मध्येको एक थियो । सर्पले टोकेपछि आत्तिएरै पनि धेरै मानिस मर्ने गरेको चिकित्सकहरु बताउछन् ।
प्रहरी सेवाबाट निवृत्त भएको केही महिनासम्म उनको दैनिकी सर्प समात्ने र यसको बारेमा आम नागरिकलाई जानकारी दिनमै बित्थ्यो । हाल विराटनगर–१६ का बासिन्दा उनलाई अहिले पनि धेरैतिरबाट सर्प फेला परेको भन्दै समात्नका लागि फोन आउने गरेको छ । दुई साताअघि इटहरीबाट उहाँले नयाँ प्रजातिको सर्प सेक्टर वन कार्यालय मङ्गलबारेमा ल्याएका छन् ।
रासस
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment