Thursday, March 17, 2016

सार्क पाहुनाको आँखामा छारो हाल्न पोखरामा दिनहुँ तेल  

सन्देश श्रेष्ठ

४ चैत, पोखरा । सधैं लाइनमा बसेर तेल भर्नुपर्ने बाध्यतामा रहेका पोखरेली उपभोक्ताले अहिले लाइन नबसी नै तेल पाइरहेका छन् । तेलको आपूर्ति नियमित भएर पोखरेलीले सहजै तेल पाएका भने होइनन् । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को मन्त्रीस्तरीय बैठकका लागि भारतीय विदेशमन्त्री सुषमा स्वराज पोखरा आएपछि तेल सहज बनाइएको हो ।

सार्क मन्त्रीस्तरीय बैठकमा सहभागी हुन पोखरा आएका पाहुनाहरुलाई भारतले नेपालमा नाकाबन्दी गरेको छैन र इन्धन आपूर्तिमा पनि समस्या छैन भन्ने आभास पार्नलाई यस्तो गरिएको स्थानीय बताउँछन् ।

उपभोक्ता दंग

हप्तामा एकपटक मात्रै डिजेल र पेट्रोल वितरण हुँदै आएको पोखरामा बुधबार र बिहीबार सहज रुपमा इन्धन वितरण भइरहेको छ । तेल सहजै पाइएकोमा पोखरेली उपभोक्ता दंग छन् ।

‘सधैं लाइन बसेर पनि तेल पाउने/नपाउने चिन्ता हुन्थ्यो, तर आज त लाइन नै नबसी तेल पाइयो, मोटरसाइकलमा तेल भरेर बाइक स्टार्ट गर्दै गरेका एक उपभोक्ता भन्दै थिए, ‘तेल सहजै पाउन सार्क बैठक नै कुर्नुपर्ने रहेछ, अनि त्यसमा पनि भारतीय विदेशमन्त्री नै आउनुपर्ने रहेछ ।’ उनले थपे, ‘यस्तो बैठक त बेलाबेला बसिराखे पनि त हुन्थ्यो नि, खाल्डाखुल्डी भएर जिर्ण भएका बाटो पनि मर्मत हुने, अनि तेल पनि सहजै पाइने ।’

अन्तको कोटा कटौती गरेर तेल पोखरा लगियो

सार्क बैठक अघिसम्म पोखरामा तेलको अभाव कायमै थियो । हप्तामा एक वा दुईपटक मात्रै तेल वितरण हुन्थ्यो । सार्क सहसचिव स्तरीय बैठक शुरु हुँदासम्म पनि पोखरामा तेल सहज थिएन । कोटा दिएर तेल वितरण गरिएका पेट्रोल पम्पमा तेल भर्नेको लामो लाइन बस्थ्यो । तर भारतीय विदेशमन्त्री पोखरा आउने दिन बुधबार विहानैदेखि पोखरामा पेट्रोल एकाएक सहज भयो ।

विहानैदेखि पोखराका अधिकांश पेट्रोलपम्पबाट तेल वितरण गरिएको थियो । विहानैदेखि तेल वितरण भएपछि उपभोक्ताले लाईन नबसी नै तेल हाल्न पाए । यसरी एकाएक सहजै तेल पाउने वातावरण भारतीय विदेशमन्त्री सुस्मा स्वराजको आगमनले गराएको स्रोत बताउँछ । तेलको अभाव भएको गुनासो स्वराजसम्म नपुगोस् र तेलको लाइन बसेको स्वराजले देख्न नपरोस् भनेर एकाएक तेल वितरणलाई सहज पारिएको श्रोतको दाबी छ ।

सार्कको मन्त्रीस्तरीय बैठकका लागि भारतीय विदेशमन्त्री सुषमा स्वराज पोखरा आएपछि तेल सहज बनाइएको हो

तेल सहज बनाउन नेपालगञ्ज र काठमाडौंको कोटा कटौती गरेर पोखरा ल्याइएको छ । भैरहवा नाकाबाट अझै पनि पर्याप्त मात्रामा तेल नआएपछि नेपालगञ्ज र काठमाडौंबाट तेल ल्याइएको हो ।

अब सधैं सहज हुन्छः सिडिओ

तर, प्रशासन भने भारतीय विदेशमन्त्री स्वराजको आगमनले तेल वितरण सहज भएको कुरा अस्वीकार गर्छ । कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीका अनुसार अब तेल सहज हुनेछ ।

उनले भने, ‘तेल नियमित आउन थालेको छ त्यसैले अब पोखरामा तेल अभाव हुँदैन र लाइन पनि बस्नु पर्दैन ।’ उनले सार्क बैठक वा भारतीय विदेशमन्त्री पोखरामा भएकैले तेल सहज भएको नभइ तेल नियमित आउन थालेकाले तेल सहज भएको दाबी गरे ।

गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एशोसियसनका महासचिव राजन गोंगजु पनि तेलको आयात बढेकाले पोखरामा तेल वितरण सहज भएको दाबी गर्छन् । सार्क मन्त्रीस्तरीय बैठकका लागि पहिल्यैदेखि तेल स्टक गरेर राखिएको र केही बाहिरको कटौती गरेर पोखरा ल्याइएकाले तेल वितरण सहज भएको उनको भनाइ छ । ‘अब यो नियमित हुन्छ,’ उनले भने ।

यद्यपी उपभोक्ताले तेल स्टक राख्न भने छाड्नुपर्ने उनको तर्क छ । अहिले पनि करीब ८/१० लाख लिटर तेल पोखरेलीले घरमा स्टक राखेको अनुमान गर्दै उनले तेल वितरण सहज हुनेमा विश्वस्त भएर स्टक राख्न छाडे तेल वितरण नियमित र सहज हुने उनको जिकिर छ ।

पम्प सञ्चालक भन्छन्- कसरी आपूर्ति बढ्यो थाहा छैन

तर स्रोत भने सुस्मा स्वदेश फर्किएलगत्तै पोखरामा तेल वितरण फेरी अनियमित बन्ने दाबी गर्छ । यसलाई पुष्टी गर्दै पोखराको एक पेट्रोल पम्पका सञ्चालकले भने, ‘तेल अहिले कसरी आयो त मलाई थाहा भएन, तर मंगलबार बेलुका तेल दिएको हो, त्यो तेल आजसम्म मात्र पुग्छ, भोलिदेखि सायद पम्प बन्द गर्नुपर्छ ।’

अबदेखि सँधैभरी तेल सहज हुने दाबी गरेका गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एशोसियसनका महासचिव राजन गोंगजु पनि तेल सहज हुनेमा पूर्ण विश्वस्त भने देखिदैनन् । भैरहवा नाकाबाट तेल ल्याउने डिपोले ट्याङ्की सफा गर्नुपर्ने भन्दै तेल नभरेको खबर मैले पनि सुनेको हो भन्दै उनले शुक्रबारदेखि तेल नियमित हुँदैन कि भन्ने आशंकालाई थप बल पुर्‍याए ।

उनले भने, ‘म आफै पनि कन्फ्यूज छु, हल्ला त मैले पनि सुनेको हुँ, तर त्यस्तो नहोला भन्ने आशा छ ।’


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment