२५ फागुन, गोरखा । गत वैशाख १२ गते गएको विनाशकारी भूकम्पले ध्वस्त भएको गोरखाको लाप्राक गाउँ पुनःनिर्माणमा एनआरएनले सघाउने भएको छ ।
अस्ट्रेलियन सिनेटर श्याम पास्टोरी , पुनःनिर्माण प्राधिकरणका सदस्य चन्द्रबहादुर श्रेष्ठ, अस्ट्रेलियाका लागि अवैतनिक वाणिज्यदूत दीपक खड्कासहितको टोली लिएर सोमबार लाप्राक पुगेका एनआरएन अध्यक्ष शेष घलेले लाप्राक गाउँ पुनःनिर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।
श्रीएअरको दुईवटा हेलिकप्टरमा गएको उक्त टोलीले गुप्सीपाखा र पुरानो लाप्राक गाउँ पुगेर भूकम्पपीडितको अवस्था र इच्छाबारे चासो बुझेका थिए ।
“सरकारले अनुमति दिन ढिलाइ गरेपछि हामीले घर बनाउन पाएनौँ”, घलेले भने – “हामी छिट्टै व्यवस्थित लाप्राक बनाउन चाहन्छौँ ।” एनआरएनले लाप्राक गाउँमा ५०० वटा भन्दा धेरै व्यक्तिगत घर, विद्यालयलगायत सार्वजनिक महत्वका भवन निर्माण गर्ने तयारी गरे पनि सरकारले अनुमति दिएको छैन ।
पुनःनिर्माण प्राधिकरणका सदस्य चन्द्रबहादुर श्रेष्ठले प्राधिकरणले फटाफट काम सुरु गरेकाले सकेसम्म बर्खाअघि नै नयाँ घर बनाउन अनुदान दिने बताए । कस्तो जमिनमा घर बनाउने भन्नेबारे एक पटक भूगर्भविद्लाई अध्ययन गर्न पठाएर मात्रै पुनःनिर्माणको काम सुरु हुने उनको भनाइ छ ।
भूकम्पपीडितहरु राज गुरुङ, बिसबहादुर गुरुङ र शिक्षक भविराज गुरुङले बर्खाअघि नै घर निर्माण सक्नेगरी अनुदान रकम दिन आग्रह गरेका छन् । छ सय १७ घरधुरी रहेको लाप्राक गाउँ ध्वस्त भएपछि १२ वैशाखदेखि गाउँलेहरु गुप्सीमा शिविर बनाएर बस्दै आएका छन् ।
सरकारले लाप्राकीलाई गुप्सीमा घडेरी दिने निर्णय गरिसकेको छ । केही भूकम्पपीडित भने पुरानै गाउँ लाप्राक फर्किसकेका छन् ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment